Edukhabar
आइतबार, १३ असोज २०८१
खबर/फिचर

भ्रष्टाचारबाट सफाई पाएपछि शिक्षकमै पुर्नवहाली

मंगलबार, १८ साउन २०७३

भक्तपुर - भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्धाबाट सफाई पाएका श्रोत ब्यक्तिलाई शिक्षककै पदमा पुर्नवहाली गराउन शिक्षा विभागले निर्देशन दिएको छ । श्रोत ब्यक्तिको नियुक्ति करारमा हुने भएकाले उक्त करारले निरन्तरता पाउन नसक्ने जनाउँदै विभागले यस्ता ब्यक्तिलाई हाल पदाधिकार रहेको शिक्षकको पदमानै पुर्नवहाली गर्न निर्देशन दिएको हो ।

सर्लाहीको सुकेपोखरी श्रोतकेन्द्रका श्रोत ब्यक्ति नारायणनाथ उप्रेतीले सरकारी अनुदान हिनामिना गरेको भन्दै अख्तियारले हालेको मुद्धामा विशेष अदालतबाट सफाई पाएका थिए । उनले सफाई पाए संगै उनलाई कहाँ हाजिर गराउने भन्ने बारेमा अन्यौल भएपछि क्षेत्रीय शिक्षा निर्देशनालय मध्यमाञ्चल हेटौंडाले मुद्धा जितेर आएका श्रोत ब्यक्तिलाई कहाँ हाजिर गराउने ? भन्दै विभागलाई पत्राचार गरेको थियो ।

'श्रोत ब्यक्तिको पदमा चालु आवको लागि मात्र करार गर्न सकिने र करारको अवधि समाप्त भए पश्चात आरोपित कसुरबाट सफाई पाएता पनि पुन करार गर्न श्रोत ब्यक्ति ब्यवस्थापन निर्देशिका २०७१ बमोजिमको प्रकृया पुरा गर्नु पर्ने भएकोले निजको करारले निरन्तरता पाउन नसक्ने हुँदा निजलाई हाल पदाधिकार रहेको शिक्षकको पदमानै पुर्नवहाली गर्नु' विभागको निर्देशनमा उल्लेख छ ।

यसरी पुर्नवहाली गर्दा अदालतको फैसलालाई आधार मान्न पनि उक्त निर्देशनमा भनिएको छ ।

'निजको पदाधिकार शिक्षक पदमा रहेको र करारमा श्रोत ब्यक्तिको रुपमा कार्यरत रहेकोमा निजलाई श्रोत ब्यक्तिको पदमा पुर्नवहाली गर्नलाई अदालतको फैसलामा नै श्रोत व्यक्तिको पदमा पुर्नवहाली गर्नु भन्ने उल्लेख भएको हुनुपर्ने' विभागको निर्देशनमा उल्लेख छ ।

सरकारी अनुदान हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा निलम्बन गरिएका श्रोत ब्यक्तिले अदालतबाट सफाई पाए पश्चात निलम्बन फुकुवा गर्दा श्रोत ब्यक्तिकै रुपमा कामकाज गर्न वा पदाधिकार रहेको विद्यालयमा हाजिर हुन पठाउने सम्बन्धमा द्धिविधा भएको हुँदा आवश्यक निर्देशन माग गर्दै निर्देशनालयले पत्रचार गरेको थियो ।

प्रकाशित मिति २०७३ साउन १८ गते

प्रतिक्रिया