Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

भागबन्डा नमिल्‍दा त्रिवि उपकुलपतिको नियुक्ति विवादमै

शुक्रबार, १८ भदौ २०७२

काठमाडौं १८ भदौ / सत्तारूढ दल कांग्रेस र एमालेबीचको विवादका कारण दुई विश्वविद्यालयमा अझै उपकुलपति नियुक्त हुन सकेको छैन। साउन २३ देखि मुलुकका सातवटा विश्वविद्यालय एकैपटक उपकुलपतिविहीन भएका थिए। तर पाँचवटामा भदौ सात गते उपकुलपति नियुक्त गरिएको थियो।
 
कांग्रेस र एमालेबीचको विवादका कारण उपकुलपति नियुक्त भएका विश्‍वविद्यालयमा पनि नवनियुक्त उपकुलपति कार्यालय प्रवेश गर्न पाएका छैनन।आफूहरूसँग परामर्श नगरी कांग्रेसले एकलौटी ढंगबाट उपकुलपति नियुक्त गरेको भन्दै पाँचवटै विश्विद्यालयमा एमालेसहितका वाम दल निकट प्राध्यापकले तालाबन्दी गरेका छन्।
यसअघि विश्वविद्यालयको केन्द्रीय कार्यालयमा मात्र ताला लगाएका उनीहरूले आफ्नो माग पूरा गराउन दबाब दिने उद्देश्यले बिहीबारदेखि सबै संकायका डिन कार्यालयमा पनि ताला लगाएका छन्।
उपकुलपति नियुक्त हुन बाँकी रहेका दुई विश्वविद्यालयमा एमाले निकटका प्राध्यापकलाई नियुक्त गर्न शिक्षामन्त्री चित्रलेखा यादवले प्रस्ताव गरेकी छन् । तर आफूहरूलाई यादवको प्रस्तावप्रति विश्वास नलागेको एमाले निकटका प्राध्यापकको भनाइ छ।
 
एमालेका पदाधिकारी प्राध्यापकसँगको भेटमा यादवले सदस्यसचिव रिक्त रहेको विश्वविद्यालय अनुदान आयोगसहित दुई विश्वविद्यालयमा उपकुलपति नियुक्ति गरिने आश्वासन दिएको एमाले निकट प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष यादव लामिछानेले बताए।
‘शिक्षामन्त्रीले तीनवटा निकायमा नियुक्ति गरिदिने आश्वासन एमालेलाई दिनुभएको जानकारी आएको छ। तर विगतमा एकलौटी तरिकाबाट उपकुलपति नियुक्त गरिएको हुनाले उहाँको आश्वासनमा पूर्ण विश्वास छैन', लामिछानेले भने।
 
सहमतिका आधारमा उपकुलपति नियुक्त गरिने बताइए पनि यादवको सिफारिसमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति सुशील कोइरालाले सातमध्ये चारवटा विश्वविद्यालयमा कांग्रेस निकटका र एउटामा एमाओवादी निकटका प्राध्यापकलाई उपकुलपतिमा नियुक्त गरेका थिए।
 
कांग्रेसले एकलौटी ढंगबाट नियुक्तिप्रक्रिया अघि बढाएपछि एमालेले वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा वार्ताटोली नै गठन गरेको छ। तर उक्त समितिले अहिलेसम्म नियुक्तिप्रक्रियाका विषयमा औपचारिक रूपमा वार्ता नगरेको टोलीका सदस्य विष्णु पौडेलले बताए।
 
‘व्यक्तिगत रूपमा कांग्रेसका केही नेतासँग कुराकानी भएको छ। तर वार्ता गर्ने भनरे दुई पक्षबीच कुराकानी भएको छैन’, पौडेलले भने । शिक्षामन्त्री चित्रलेखा यादवले आफूले उपकुलपति नियुक्तिका विषयमा केही जानकारी दिन नसक्ने बताइन्।
 
तीन पदमा एमालेबाट चारजना सिफारिस उपकुलपति रिक्त रहेका दुईवटा विश्वविद्यालय र विश्वविद्यालय अनुदान आयोगका सदस्यसचिव पदमा नियुक्तिका लागि एमालेबाट चारजना प्राध्यापक सिफारिस भएका छन्।
 
एमाले निकटका प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष यादव लामिछानेका अनुसार सिफारिस भएकामा उपेन्द्र कोइराला, भरत पहारी, चिरञ्जीवी शर्मा र महेशराज दाहाल छन्।
 
उनका अनुसार उनीहरूको नाम पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बुझाइएको हो। सिफारिस भएकामध्ये कोइराला उच्चमाध्यमिक शिक्षापरिषद्का पूर्वउपाध्यक्ष हुन्।
 
पहारी इन्जिनियरिङ अध्ययन संस्थानका पूर्वडिन, दाहाल विश्वविद्यालय क्याम्पस कीर्तिपुरका पूर्वक्याम्पस प्रमुख तथा शर्मा परीक्षा नियन्त्रण कार्यालयमा तीन महिना निमित्त नियन्त्रक भएर काम गरेका व्यक्ति हुन्।

अन्नपूर्ण पोष्टमा सूर्यप्रसाद पाण्डेले लेखेका छन् ।

प्रतिक्रिया