Edukhabar
आइतबार, १३ असोज २०८१
अन्तैवाट

रूपन्देहीमा गौतमबुद्ध मेडिकल कलेज खोल्न प्रक्रिया सुरु

मंगलबार, १८ साउन २०७३

काठमाडौं १८ साउन / रूपन्देहीको तिलोत्तमामा सरकारी स्तरको मेडिकल कलेज स्थापना हुने भएको छ। सरकारको एक प्रदेश, एक सरकारी मेडिकल कलेज नीतिअनुसार प्रदेश ५ को मेडिकल कलेज बनाउन प्रक्रिया सुरु गरिएको हो।

गौतमबुद्ध मेडिकल कलेज नामकरण गरी सरकारले तिलोत्तमा २ मा एक सय बिघा जमिन दिने निर्णय गरेको छ। तिलोत्तमा १ र ११ स्थित शंकरनगर र करहिया सामुदायिक वनको जग्गा कलेजलाई दिने निर्णय भएको हो। यस्तो प्रक्रियाले स्थानीय बासिन्दा खुसी छन्। धेरै अस्पताल भए पनि विशेषज्ञयुक्त अस्पताल र सेवा कम हुँदा उपचारका लागि सर्वसाधारण जिल्लाबाहिर जानुपर्ने बाध्यता थियो।

यसले रकम र समय दुवै बढी लाग्ने गरेको थियो। ‘हामी निकै खुसी छौं,’ तिलोत्तमाका बाबुराम अर्यालले भने, ‘अब सुदूपश्चिमसम्मका बासिन्दा उपचारका लागि यहाँ आउन सक्छन्।’ उपभोक्ता हित संरक्षण मञ्च जिल्ला अध्यक्ष नर्बु लामाले काम चलाउ र कमाउ अस्पतालको साटो सरकारी मेडिकल कलेज सञ्चालनले आशा जगाएको बताए।

सरकारी अस्पताल स्रोत र सेवा प्रवाहमा बलिया भएमात्रै सर्वसाधारण उपभोक्ताले उपचार पाउने उनको भनाइ छ। त्रिभुवन विश्वविद्यालयको आंगिक कलेजको रूपमा स्थापना हुने छ। निर्माणका लागि शिक्षा मन्त्रालयले वरिष्ठ चिकित्सक प्राध्यापक डा. रोज प्रसाद ओझा संयोजक रहेको प्रारम्भिक कार्यसमिति गठन गरेको छ।

समिति सदस्यमा प्रमुख जिल्ला अधिकारी, जिल्ला शिक्षा अधिकारी, बुटवल उपमहानगरपालिका कार्यालय, लुम्बिनी अञ्चल अस्पताल अध्यक्ष प्रायश्चित श्रेष्ठ, प्राविधिक विज्ञमा इन्जिनियर दुजेन्द्र बस्नेत, व्यवस्थापन विज्ञमा लुम्बिनी वाणिज्य क्याम्पस प्रमुख डा. ईश्वर गौतम र कानुनी विज्ञमा अधिवक्ता विनोद गौतम छन्।

असार २७ को मन्त्री स्तरको निर्णय बमोजिम २ महिनाको कार्यावधि तोकेर उक्त समिति गठन गरिएको थियो। समितिले कलेज स्थापना गर्न जग्गा तथा अन्य भौतिक पूर्वाधार पहिचान गर्ने छ। यसपछि भोगाधिकार प्राप्तिका लागि सरकारसमक्ष सिफारिस गर्ने छ।

पूर्वाधार पहिचान तथा सम्भाव्यताको अध्ययन गरी शिक्षा मन्त्रालयमा विस्तृत अध्ययन प्रतिवेदन पेस गर्ने र स्थानीय स्तरमा समन्वय गरी पूर्वाधार विकासका लागि तयारी गर्ने समितिलाई जिम्मेवारी तोकिएको छ। अर्थमन्त्री विष्णु पौडेलले कार्यसमितिले प्रतिवेदन मन्त्रालयमा बुझाएपछि मेडिकल कलेज स्थापनाको थप प्रक्रिया अगाडि बढ्ने बताए। चालू आर्थिक वर्षको बजेटमा प्राथमिकतामा राखिएकाले बजेटसमेत अभाव नहुने उनले दाबी गरे।

कलेज बनाउन माग
बुटवलका केही युवाले यहाँ रहेको लुम्बिनी अञ्चल अस्पताललाई नै मेडिकल कलेज बनाउन दबाब अभियान चलाएका छन्।

सेवाग्राहीलाई छिटोछरितो सेवा र अध्ययनरत विद्यार्थीको सजिलोका लागि अञ्चल अस्पताललाई नै मेडिकल कलेज बनाउनुपर्ने उनीहरूको तर्क छ। जनमत जुटाउन हस्ताक्षर, छलफल, गोष्ठी, अन्तक्र्रिया चलाइएको अभियानका अगुवा मुक्ति पौडेलले बताए। यसमा बुटवलसहित रूपन्देही र आसपासका जिल्लामा गरी अहिलेसम्म डेढ लाख नागरिकले हस्ताक्षर गरिसकेका छन्।

यो ठाउँमा मेडिकल कलेज बनाउँदा भौतिक पूर्वाधार र जग्गाका लागि खर्च गर्नुपर्ने रकमसमेत जोगिने उनीहरूको भनाइ छ।

अमृता अनमोलले कान्तिपुरमा लेखेको खबर ।

प्रतिक्रिया