Edukhabar
आइतबार, १३ असोज २०८१
खबर/फिचर

१३ सय विद्यालय भए मर्ज, तिनका सम्पत्ति अलपत्र

सोमबार, १७ साउन २०७३

- हरिसुन्दर छुकां / काठमाडौं - विद्यार्थी नभएको भन्दै नजिकका विद्यालयसँग मर्ज समायोजन गरिएका विद्यालयका भौतिक संरचना वेवारिसे बन्दै गइरहेका छन् । आवश्यक मात्रामा विद्यार्थी नभएको भन्दै शिक्षा मन्त्रालयले जिल्ला शिक्षा कार्यालय मार्फत नजिकका विद्यालयसँग गाभिएका विद्यालयका भौतिक संरचना अहिले वेवारिसे अवस्थामा पुगेका हुन् ।

समायोजन गरिएका देशभरका विद्यालयहरुको अवस्था समान रहेको  जिल्ला शिक्षा अधिकारीहरुको भनाइ छ । ‘विभिन्न कारणले मर्ज भएका सामुदायिक विद्यालयहरुका भौतिक सम्पत्ति के गर्ने कसो गर्ने भन्ने विषय टाउको दुखाइको विषय भएको छ, काठमाडौंका जिल्ला शिक्षा अधिकारी शंकर बहादुर गौतमले भने, अन्य विद्यालयले भौतिक संरचना पनि हेर्नुपर्ने प्रावधान भए पनि स्थानीयहरु त्यसमा सहमत भएका छैनन् ।’

२०७० असोज २३ गते मन्त्रीस्तरीय निर्णयले विद्यालय समायोजन कार्यान्वयन निर्देशिका जारी गरेको थियो । सोही निर्देशिकाको परिच्छेद २ नियम ४ को खण्ड (ज)  बमोजिम गाभिने (बन्द) विद्यालयको सबै चल अचल सम्पत्ति दाखिला खारेज गरी नयाँ कायम हुने विद्यालयको नाममा कायम गर्नका लागि जिल्ला शिक्षा समितिको सिफारिशमा मालपोत पठाउनुपर्ने उल्लेख गरिएको छ ।

सोही निर्देशिकाकै परिच्छेद अन्तर्गत खण्ड (झ) मा सम्पत्ति दाखिला खारेज भएको व्यहोरा जिल्ला शिक्षा कार्यालयले विभाग र विभागले मन्त्रालयलाई दिनुपर्ने भए पनि शिक्षा कार्यालयहरुले भने सम्पत्ति दाखिला खारेज भएको तथ्यांक नपठाएको शिक्षा विभागले जनाएको छ ।

शिक्षा विभागका अनुसार हाल सम्म १ हजार ३ सय ३२ वटा विद्यालय बन्द तथा खारेज भइसकेका छन् । १ सय ७१ वटा विद्यालय मर्जिङको क्रममा रहेको विभागले जनाएको छ ।

‘अहिलेसम्म ७ सय ११ विद्यालय बन्द र ६ सय २१  विद्यालयहरु मर्ज गरिएका छन् भने ६२ वटा विद्यालयहरुको घटुवा गरिएको छ’ विभागका विद्यालय व्यवस्थापन शाखाका उपनिर्देशक योगेन्द्र बरालले भने । अलपत्र अवस्थामा परेका भौतिक संरचनालाई कसरी प्रयोग गर्ने भन्ने बारेमा सम्बन्धित जिल्ला शिक्षा कार्यालयलाई नै जिम्मा दिइएको बताए ।

उनका अनुसार सबैभन्दा बढी विद्यालय मर्ज भएको जिल्लामा सर्लाही परेको छ जहाँका २ सय १६ विद्यालयहरु छन् । त्यस पछि रौतहटका १ सय ४९, सिन्धुलीका १ सय २४, महोत्तरीका ८१, सिराहाका ६३, बाराका ५९, सप्तरीका ५२, पर्साका ३६ विद्यालयहरु छन् ।

त्यस्तै काठमाडौंका २३, ललितपुरका ६ र भक्तपुरका ७ वटा विद्यालय मर्ज भएका छन् ।

‘दुई वर्ष अघि विद्यालयलाई नजिकको विद्यालयमा गाभियो भनेर चिठ्ठी थमाए देखि त्यहाँको भौतिक अवस्था अलपत्र परेको छ ।’ भक्तपुरको नगरकोट नगरपालिका वडा नं. ३ ताथलीमा रहेको दक्षिणकाली प्राथमिक विद्यालयका पूर्व प्रअ रामकृष्ण छुकांले भने । उनले विद्यालय समायोजन सँगै उक्त विद्यालयको भौतिक संरचना पनि गाभिएको विद्यालयले जिम्मा लिनुपर्ने भए पनि विद्यालयले भने शिक्षक मात्र लिएको बताए ।

जिल्ला शिक्षा कार्यालयले उक्त विद्यालयलाई देवी उच्च माविसँग गाभेको थियो । ‘विद्यालयले यहाँका शिक्षक र प्रअ मात्र लियो, त्यहाँको शैक्षिक सामग्री र भौतिक संरचना केही पनि लिएन ’ उनले भने । उनले विद्यालयले भौतिक संरचनाको जिम्मा नलिँदा आफू गएको ठाउँमा कोठा अभाव भएको तर उता कक्षा कोठा खाली राख्नुपरेको जानकारी दिँदै अहिले पहिलेको विद्यालयलाई स्थानीयले आफू अनुकूल प्रयोग गरिरहेको पनि बताए ।

नगरकोटको उक्त विद्यालय मात्र नभएर चाँगुनारायणको नाट्यश्वरी, अनन्तलिंगेश्वरको विष्णु निमावि, भक्तपुर नगर पालिकाको बालबोध शान्ति लगायतका भौतिक संरचनाको अवस्था पनि उस्तै छ ।

‘समायोजनमा परेका विद्यालयहरुमा ताला लगाएर शिक्षकलाई यताउति सार्ने मात्र काम गरेको छ, सम्पत्ति सदुपयोग गर्ने विषयमा खासै कुने निर्देशन आएको छैन ।’ जिल्ला शिक्षा कार्यालय भक्तपुरका प्रशासन प्रमुख कुमार बस्नेतले भने ।

विद्यार्थी अभावको नाममा सामुदायिक विद्यालय मर्ज गर्ने तर त्यहीं नजिकैको निजी विद्यालयमा खचाखच विद्यार्थी हुने अवस्था आउनु विडम्बना भएको भन्दै मर्जको विरोध समेत हुँदै आएको छ । सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्ने हो भने विद्यालयहरु मर्ज नै गर्न नपर्ने, विरोध गर्नेहरुको तर्क छ ।

प्रकाशित मिति २०७३ साउन १७ गते

प्रतिक्रिया