Edukhabar
आइतबार, १३ असोज २०८१
अन्तैवाट

शिक्षक व्यवस्थापन समस्या सल्टियो

सोमबार, १७ साउन २०७३

काठमाडौं १७ साउन / ०५७ सालदेखि चुनौतीको रूपमा रहेको रौतहटको सामुदायिक विद्यालयको शिक्षक व्यवस्थापन समस्या सल्टिएको छ । जिल्ला शिक्षा कार्यालय रौतहटको अथक प्रयासपछि जिल्लाका करिब ३ सयभन्दा बढी शिक्षकको व्यवस्थापन गर्न सफल भएको हो ।

शिक्षक दरबन्दी तथा शिक्षक व्यस्थापनको चुनौतीकै कारण जिल्ला शिक्षा कार्यालय रौतहटमा एक वर्षमा पाँचजना शिक्षा अधिकारी आइसकेका छन् ।पछिल्लो पटक सरुवा भइआएका जिशिअ हरि वस्तीको अगुवाइमा जिल्लामा रहेको शिक्षक व्यवस्थापन समस्या समाधान भएको शिक्षकहरू नै बताउने गरेका छन् ।

जिल्ला शिक्षा अधिकारी वस्तीका अनुुसार माध्यमिक तहमा २७ जना, निम्नमाध्यमिक तहमा २९ जना र प्राथमिक तहमा २ सय ६७ जना शिक्षकको दरबन्दीसहित शिक्षक व्यवस्थापन भएको छ । जिशिकाले गरेको शिक्षक व्यवस्थापन निर्णय कार्यान्वयन हुनेमा आफू ढुक्करहेको उनले बताए ।

शिक्षक व्यवस्थापन निर्णयले हाजिर नै नभई काज सरुवा गरी घरपायक बसेर तलब खाने गलत परिपाटीको अन्त्य भएको बताउँदैजिशिअ वस्तीले भने, ‘यस्ता कार्य गर्दै आएकाहरू यस निर्णयविरुद्ध लागेका छन् ।’ अहिले केही गैरशिक्षक जिल्लाको शैक्षिक अवस्थालाई पुनः तहसनहस पार्न लागिपरेको र निर्णयको विरोध गरेकोउनले बताए ।

तत्कालीन जिल्ला शिक्षा अधिकारी भरतबाबु सुवेदीको कार्यकालमा ०७२ साउन २५ मा भएको शिक्षक दरबन्दी तथा व्यवस्थापन गर्ने निर्णयअनुसार जिल्लाका सबै सांसदहरू, राजनीतिक दलका सभापतिहरू, सबै शिक्षक संघ÷संगठनहरूको सल्लाहबाटै शिक्षक व्यवस्थापनको काम सुरु भएको जिशिअ वस्तीले बताए । उनले भने, ‘शिक्षा ऐनमा नै काज सरुवा भन्ने व्यवस्था नभएकाले सोही आधारमा शिक्षक व्यवस्थापन गरिएको हो ।’

विद्यालयमा पढाउनुभन्दा दलीय राजनीतिक क्रियाकलापमा सक्रिय शिक्षकहरू यतिबेला जिल्ला शिक्षा अधिकारी वस्तीको विरोधमा रहेको शिक्षक गोपाल दाहालले बताए ।

शिक्षा अधिकारीले राम्रो काम गरेको भन्दै नेपाल शिक्षक संगठनका सचिव उपेन्द्र महतो, नेपाल शिक्षक संघका अध्यक्ष राममंगल यादव र नेपाल क्रान्तिकारी शिक्षक संगठनका छोटेलाल चौधरीले सन्तुष्टिजनाएका छन् ।

राजधानिमा रमेश तिमल्सिनाले लेखेका छन् ।

प्रतिक्रिया