Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

स्कुल खुल्दा मनै रमाइलो

शुक्रबार, १८ भदौ २०७२

दाङ, घोराहीस्थित एक बोर्डिङमा अध्ययनरत कृतज्ञा केसी र प्रतीक्षा घिमिरे। तस्बिर : देवेन्द्रकाठमाडौं १८ भदौ / उनीहरु तीन सातासम्म घरमै खुम्चिएर बसे। न साथीहरुसँग खेल्न पाए न पढ्न–लेख्न। सर–मिससँग झुम्मिँदै रमाउने दैनिकी पनि ठप्प भयो।

थरुहट आन्दोलन चर्किएपछि साउन २७ बाट विद्यालय बन्द भए। सँगै बन्द भयो, दाङ, घोराही क्षेत्रका बालबालिकाका साथीहरुसँग मिलेर पढ्ने, लेख्ने, खेल्ने सबै गतिविधि।
तीन सातापछि उनीहरुको खुसी फर्किएको छ।

'बन्दले साथीसित भेट पनि हुन पाएको थिएन, कुराकानी पनि भएको थिएन,' घोराहीस्थित अल्फा बोर्डिङ स्कुल कक्षा ५ मा अध्ययनरत प्रतीक्षा घिमिरेले बिहीबार नागरिकसँग भनिन्, 'आज बल्ल भेट हुन पाइयो, पढ्न पाइयो, धेरै खुसी लागेको छ ।'

प्रतीक्षाकी मिल्ने साथी हुन् कृतज्ञा केसी। शिक्षकका अनुसार दुई अति मिलनसार छन्, कक्षाकोठामा सँगै बस्छन्। तीन सातादेखि एकअर्काबाट टाढिएका यिनीहरु विद्यालय आउन पाएकोमा रमाइरहेका देखिन्थे।

'अब यस्तो कहिल्यै नहोस्, सधैं स्कुल आउन पाइयोस्,' कृतज्ञाले भनिन्।

तीन सातासम्म ठप्प विद्यालय खुलेपछि दाङ क्षेत्रमा पठनपाठन सहज भएको छ। बालबालिका उत्साहित देखिन्छन्। थरुहट बन्दले साउन २७ बाट बन्द दाङ उपत्यकाका विद्यालय मंगलबारबाट सञ्चालनमा आएका हुन्। देउखुरी उपत्यका क्षेत्रका विद्यालय भने अझै खुलेका छैनन्।

आन्दोलनकारीले दाङ क्षेत्रमा बन्द केही खुकुलो बनाएपछि पठनपाठन सुरु भएको हो। विद्यालय खुलेपछि बालबालिकालाई पढाइसँगै साथीसंगातीसँगको भेटले समेत खुसी तुल्याएको छ।

उनीहरुले बुझिसकेका छन्– विद्यालय बन्द आफूहरुको भविष्यकै बाधक हो। बन्द अवधिमा खेलेरै समय खेर फालेको उनीहरु सुनाउँछन्। 'घरमा बस्दा–बस्दा बोर हुन्थ्यो, अनि खेलेरै समय जान्थ्यो,' कृतज्ञाले भनिन्, 'पढ्न पाउँदा रमाइलो लागिरा'छ।'

पटकपटकका बन्दले दिक्क अर्की विद्यार्थी स्नेहा गुप्ता यसले आफ्नो लक्ष्यमा अंकुश लगाउने सुनाउँछिन्। 'भर्खर राम्रोसँग पढाइ हुन लागेको हुन्छ, बन्द भइहाल्छ।'

घोराहीस्थित हिन्दु विद्यापीठ नेपालकी कक्षा ६ की छात्रा संगीता विकले पनि पठनपाठन सुरु भएकामा खुसी व्यक्त गरिन्। उनले भनिन्, 'मन लगाएर पढ्नै पाइन्न, जहिले बन्द मात्र गरिरहन्छन्, सधैँभरि स्कुल खुलिरहे कति राम्रो हुँदो हो।'

बन्दमा लामो समय घरमै सीमित बन्नुपर्दा विद्यार्थीमा निराशा छाएको अल्फा स्कुलका शिक्षक आदिम केसीले बताए। 'बच्चाबच्चीहरु तीन साता लामो बन्दका कारण खेलमा मात्रै सीमित बने,' उनले भने, 'तीन सातापछि विद्यालय छिर्न पाएका उनीहरु अहिले पढाइप्रति निकै उत्साही देखिएका छन्।'

उनका अनुसार मंगलबार (विद्यालय खुलेकै दिन¬) देखि विद्यार्थीको चाप अधिक छ।

'दिनहुँ आत्तिएको स्वरमा फोन गरेर स्कुल कहिले खुल्छ भन्थे,' केसी भन्छन्, 'भविष्य निर्माणकर्ता साना बालबालिकालाई पढ्ने अधिकारबाट वञ्चित गरिनु राम्रो होइन।'

लगातार बन्दले खेलमै सीमित केही बालबालिकामा भने पठनपाठनभन्दा खेलतिरै रुचि देखाउने समस्यासमेत देखिएको छ। हिन्दु विद्यापीठका प्रिन्सिपल भोलानाथ योगीले भने, 'पढाइप्रति केही विद्यार्थीले मतलब नगरेको जस्तो पनि देखियो, उनीहरु पनि बिस्तारै ट्र्याकमा आउँदैछन्।'

नयाँ शैक्षिक सत्रमा दाङका विद्यालय एक महिनाभन्दा बढी बन्द भइसकेका छन्। पठनपाठन सुरुमै वैशाख १२ मा गएको भूकम्पले झन्डै दुई साता यहाँको पठनपाठन प्रभावित बनेको थियो। त्यसपछि पनि विद्यार्थी संगठनको तीन दिन, जनजाति संघसंगठनको दुई दिन बन्द पठनपाठन साउन २७ देखि थरुहट बन्दले प्रभावित थियो।

'१ सय ९० दिन पढाइ हुने हो,' प्याब्सन जिल्ला अध्यक्ष यादव गिरीले भने, 'एक महिना लामो बन्द भइसक्यो, यसले त पाठ्यक्रम पूरा गर्नै असजिलो हुने भो।'

निजी विद्यालयले भने शुक्रबार पूरै समय चलाएर कोर्स पूरा गराउने भएका छन्। त्यसका लागि पत्राचार गरिसकेको प्याब्सनले जनाएको छ।

तीन सातापछि दाङ क्षेत्रमा पठनपाठन सुरु भए पनि देउखुरी क्षेत्रमा भने अझै कहालीलाग्दो अवस्था छ। बन्दकर्ताको एकतर्फी अडानले त्यहाँका विद्यालय साउन २७ यता एकदिन पनि खुल्न सकेका छैनन्।

लगातार बन्दले विद्यार्थीमा पढ्ने अरुचि बढाएको मनोसामाजिक विषयका जानकार बताउँछन्।

'उनीहरुले आन्दोलनको उद्देश्य बुझेका हुँदैनन्, तसर्थ यसले विद्यार्थीमा विकृत मानसिकता विकास गराउँछ,' दाङस्थित महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख तथा मनोविज्ञान विषयका प्राध्यापक लक्ष्मणकुमार बिसीले भने।

नागरिकमा देवेन्द्र बस्नेतले लेखेका छन् ।

प्रतिक्रिया