Edukhabar
आइतबार, १३ असोज २०८१
खबर/फिचर

आईसक्यो बाढी पहिरो, भईसक्यो डुवान, शिक्षा विभाग भन्छ लेखि पठाउनु !

आइतबार, १६ साउन २०७३

भक्तपुर - बाढी पहिरो र डुवानबाट दर्जनौं ब्यक्तिको ज्यान गयो, देश भरको जनजीवन अस्तव्यस्त भयो । पहाडमा झरेको पहिरो र तराईमा भएको डुवानबाट विद्यालय अछुतो छैनन् । झरी पर्ने क्रम जारी छ तर, विद्यालयहरुमा यसको असर के परेको छ ? कहाँ कहाँ के कस्तो अवस्था छ ? शिक्षा विभागमा अहिले सम्म एकिकृत तथ्याङ्क समेत संकलन भएको छैन ।

विभागका सूचना अधिकारी प्रमोद शर्मा सबै जिल्लामा निर्देशन पठाई सकिएको बताउँदै चाँडैनै पूर्ण तथ्याङ्क संकलन हुने दावी गर्छन् । 'हामीले निर्देशन पठाईसकेका छौं, आजको गोरखापत्रमा पनि सूचना आएको छ, २–४ दिनमा सम्पर्क गर्नु भयो भने हामी यकिन तथ्याङ्क उपलब्ध गराउन सक्छौं' उनले भने ।

हो ! शिक्षा विभाग औपचारिकतामा रुमल्लिईरहेको छ ।

बाढी पहिरो र डुवानबाट पर्न गएको असर बारेमा जानकारी गराउन भन्दै विभागले आईतबार सार्वजनिक गरेको सूचना एउटा यस्तै औपचारिकताको नमूना हो । विभाग अन्र्तगत विपद् ब्यवस्थापन शाखाले गत विहीबारको मितिमा क्षेत्रीय तथा जिल्ला शिक्षा कार्यालयलाई काटेको निर्देशन पत्र आफैंमा ढिलोको चरम नमूना थियो । सोही सूचना विभागले आईतबारको गोरखापत्रमा छापेर बाढी पहिरो र डुवानबाट पर्न गएको असरको बारेको जानकारी दिन निर्देशन दिएको छ ।

सूचना प्रविधिले यो विघ्न फड्को मारेको छ, शिक्षा मन्त्रालय र विभागका कर्मचारी प्रविधि मैत्री सिकाइको रटान लगाउन छाड्दैनन् । तर काम उही औपचारिकतामा सिमित छ ।

बाढी पहिरो र डुवानले विद्यालयमा पारेको असरका बारेमा तथ्याङ्क संकलन गर्न र सुरक्षाका उपाय अपनाउन जिल्ला कार्यालयले केन्द्रकै निर्देशन कुर्नु पर्छ र ? विपद् र यसका असरबारे आफ्नो क्षेत्रको अवस्थाका बारेमा अहिले सम्म किन केन्द्रमा जानकारी नपठाएको ?

बाढी पहिरोबाट सुरक्षाका लागि के गर्ने ? भन्ने कुरा त परको विषय भयो । केन्द्रमा विभाग जसरी औपचारिकतामा रुमल्लिईरहेको छ, लाग्छ, ऊ मातहतका निकाय पनि त्यस्तै औपचारिकता निभाउन ब्यग्रताका साथ कुरेर बसिरहेका छन् । शिक्षा मन्त्रालय यस्तो निकाय हो जसका प्रतिनिधि केन्द्र देखि तल्लो तह सम्म कृयाशिल छन् । केन्द्रमा मन्त्रालय, विभाग, ५ क्षेत्रमा क्षेत्रीय कार्यालय, ७५ जिल्लामा जिल्ला शिक्षा कार्यालय, श्रोत केन्द्र, विद्यालय गरी समाजको तल्लो तह सम्म आफ्ना प्रतिनिधि भएको विभाग बाढी पहिरो र डुवानबाट पर्न गएको असर थाह नपाएर बल्ल आफू मातहतका निकायलाई जानकारी देउ भन्दै छ !

शाखा प्रमुख शिवप्रसाद उप्रतीले हस्ताक्षर गरेर जारी गरेको उक्त निर्देशनमा  विद्यालय क्षेत्रमा बाढी पहिरो र डुवानबाट पर्न गएको असरलाई ब्यवस्थापन गर्न र सम्भावित जलउत्पन्न प्रकोपलाई प्रतिकार्य गर्न ब्यवस्था मिलाउन भनिएको छ ।

'बाढी पहिरो र डुवानबाट पर्न गएको असरलाई लेखा जोखा गरी असरको अवस्था एकिन गरी सोको जानकारी शिक्षा विभागलाई पठाउने' उक्त निर्देशनमा भनिएको छ, 'प्रकोपलाई स्थानीय क्षमताले प्रतिकार्य गर्न नसक्ने अवस्था देखिन आएमा तुरुन्त शिक्षा विभागमा लेखि पठाउने, विद्यालय क्षेत्रमा बाढी पहिरो र डुवान लगायतका घटनाको सूचना नियमित रुपमा शिक्षा विभागमा पठाउने ब्यवस्था मिलाउने ।'

जवकी यस्ता प्रकोपलाई ब्यवस्थापन गर्न जिल्ला शिक्षा अधिकारीको संयोजकत्वमा जिल्ला शिक्षा समूह गठन गरिएको छ । उक्त समूहले योजना बनाई पूर्व तयारी र सुरक्षित हुने उपायका बारेमा काम गर्न सक्छ । तर, सोही काम गर्न पनि विभागले परिपत्र गर्ने र उनीहरु कुरेर बस्ने औपचारिकताले नै समय खेर गईरहेको छ । र हाम्रा विद्यालय र विद्यार्थीको भुक्तमान जारी छ ।

यस अघि नै भएका ब्यवस्थालाई कार्यन्वयन गर्न निर्देशन गरिएको शैक्षिक परामर्श तथा विपद् ब्यवस्थापन शाखाका उपनिर्देशक उप्रेती बताउँछन् । 'जिल्लामा कामै नभएको भन्ने त हैन तर काम के कस्तो रुपमा भईरहेको छ सो को जानकारी गराउन निर्देशन दिईएको हो' उनले भने ।

प्रकाशित मिति २०७३ साउन १६ गते

प्रतिक्रिया