Edukhabar
आइतबार, १३ असोज २०८१
अन्तैवाट

एउटाको भर अर्कालाई

शनिबार, १५ साउन २०७३

काठमाडौं १५ साउन / दृष्टिविहीन एकराज चापागाईं आईएड सकेर २०६९ सालमा डिप्लोमा अध्ययन गर्न झापाबाट काठमाडौं आए। ललितपुरको धोबीघाट भाडामा बस्दै उनी थप अध्ययन गर्ने अवसरहरू खोज्ने गर्थे। तर, छात्रवृत्तिमा पढ्ने उनको इच्छा पूरा हुन सकेन। आर्थिक अवस्थाले उनले पढाइलाई निरन्तरता दिन सकेनन्।

आर्थिक अभाव भइरहेका बेलामा एकराजले काठमाडौंमा आफूजस्ता अपांगहरूले गर्ने काम रोज्न पुगे। काठमाडौंको विभिन्न स्थानमा उनी अगरबत्ती बेच्न थाले। सडकमा घुमेर अगरबत्ती बेच्नु गाह्रो काम भए पनि उनले केही पैसा भने कमाउँथे।

यसैबीच उनको भेट महोत्तरीका राजदेव यादवसँग भयो। राजदेव पनि अपांग थिए तर फरक किसिमका। किशोरावस्थामा रूखबाट लडेपछि राजदेवले राम्रो उपचार पाउन सकेनन्। फलस्वरूप उनको देब्रे खुट्टा काट्नुपर्ने भयो।
उनी पनि राजधानीमा रोजगार पाउन सकिने सीप सिक्ने र पैसा कमाउने उद्देश्यले आएका थिए। सुरुवाती दिनमा उनले बाँसको काम सिके र केही काम पनि गरे। तर, झन्डै ६ महिनापछि फेरि उनी बेरोजगार भए। सिकेको काम आफैंले गर्न लगानी चाहिन्थ्यो जुन जुटाउन पाउनु राजदेवका लागि असम्भव थियो।

त्यही समयमा एकराजसँग भेट भएपछि उनीहरू दुवै मिलेर अगरबत्ती बेच्ने काम सुरु गरे। दुवैजना सँगै काठमाडौं हलनिर बसेर अगरबत्ती बेच्ने गर्थे। राजदेव दुवै हातले वैशाखी समाउँथे भने एकराज अगरबत्ती बेच्थे। आँखा नदेख्ने एकराज राजदेवको कुममा हात राखेर हिँड्ने गर्छन्।

‘दैनिक ३ सयदेखि ७ सयसम्म कमाइन्थ्यो,’ एकराज भन्छन्, ‘होलसेलरले बिक्रीको ३० प्रतिशतसम्म हामीलाई दिन्थ्यो र हामी त्यसमा दुई भाग लाउँथ्यौं।’

४१ वर्षीय एकराज आँखा देख्न सक्दैनन् भने ३९ वर्षीय राजदेवको एउटा खुट्टा छैन। दृष्टिविहीन एकराज र शारीरिक अपांग भएका राजदेव अहिले सँगै बस्छन्। एक–अर्काका साहारा यो जोडी मधेसी–पहाडीको मित्रताको पनि अनुपम उदाहरण हो। अहिले उनीहरू एक एनजीओमा तिब्बतीयन धूप बनाउने काम गर्छन्। १ वर्ष भयो उनीहरूले यो काम गर्न थालेको। मासिक ६ हजारजति कमाउँछन्। ३ वर्ष भयो उनीहरू जोरपाटी नारायणटारमा एउटै कोठामा बस्नथालेको।

‘अहिले पनि हामीलाई बजारमा सँगै देखे भने हाम्रा सामान किन्ने पुराना ग्राहकहरू अगरबत्ती ल्याएनौ? भनेर सोध्छन्,’ एकराजले भने, ‘तिमीहरूको मित्रता दोस्ती फिल्मजस्तो छ भन्ने गर्छन्।’ एकराजलाई सहयोगसँगै आफूलाई साथी होस् भनेर सँगै बस्न थालेको राजदेव बताउँछन्। ‘उसलाई एक्लै हिँड्न गाह्रो हुन्थ्यो त्यसैले सँगै बस्न थाल्यौं। सँगै बसेपछि मलाई पनि सुखदु:खको साथी भेटियो,’ राजदेवले भने।

घरायसी काम पनि दुवै मिलेर गर्छन्। चामल केलाउने, तरकारी काट्नेजस्ता काम राजदेव गर्छन् भने लुगा धुने र अन्य सक्ने काम एकराज गर्छन्। ‘आँखाको काम राजदेवले गर्ने हो, खुट्टाको काम म गर्छु,’ एकराजले भने।
काठमाडौंमा उनीहरूलाई मासिक ६ हजारले व्यक्तिगत खर्च पनि धान्दैन। तर, पनि खर्च जुटाउँदै आएको उनीहरू बताउँछन्।

राजदेवका आमाबाबु अर्काको खेतमा काम गर्छन्। घरको एक्लो छोरो आमाबाबुलाई केही आर्थिक सहयोग गरुँ भन्ने राजदेवको इच्छा छ। पहिले त उनले थोरै भए पनि घर पठाउँथे तर अहिले थोरै पनि बचत हुँदैन। अविवाहित भएकाले परिवारको खर्चको जिम्मेवारी नभए पनि अपांगहरूले पनि मौका पाए राम्रो आय गर्न सक्छन् भन्ने उदाहरण उनीहरू बन्न चाहन्छन्।

शिल्पा कर्णले कान्तिपुर दैनिकमा लखेको खबर ।

प्रतिक्रिया