Edukhabar
आइतबार, १३ असोज २०८१
खबर/फिचर

शिक्षकलाई पनि 'गोठालो' लगाउनु पर्ने हो ?

शुक्रबार, १४ साउन २०७३

भक्तपुर– आफूहरुलाई दिइँदै आएको तालिम प्रति स्वयं शिक्षकहरुनै असन्तुष्ट भेटिएका छन् । विद्यार्थीलाई प्रभावकारी सिकाइ गर्दै शैक्षिक उपलब्धि विस्तार गर्ने शिक्षक नै तालिम प्रति किन खुसी छैनन् त ? अधिकाँश शिक्षक उक्त तालिमलाई नाम मात्रको तालिमको संज्ञा दिन्छन् ।

प्रभावकारी शिक्षण गर्न, शिक्षण विधिको प्रयोग गर्न, शैक्षिक योजना निर्माण गर्न, मूल्यांकन सीपको विकास गर्न, विद्यालय र समुदायबीच सुमधुर सम्बन्ध कायम गर्न, परम्परागत प्रविधि हटाइ आधुनिक प्रविधिबाट शिक्षण गर्न, विद्यालयको वातावरण र आफ्नो पेशाप्रति सकारात्मक धारणाको विकास गर्नका लागि तालिम दिईन्छ ।

तर, आफूभन्दा माथिल्लो निकायका कारण तालिम कक्षा कोठमा प्रयोग हुन नसकेको उनीहरुको तर्क छ । ‘हामीलाई वर्षमा धेरै प्रकारका तालिमहरुमा सहभागी गराइन्छ, तर त्यसको प्रयोग भएको छ÷छैन भन्ने विषयमा कुनै पनि निकायले अनुगमन गर्दैन ।’ बासु उच्च माविका प्राचार्य अम्बिका न्याइच्याइ भन्छिन्, ‘सोही कारण शिक्षकले पाएको तालिम कक्षाकोठामा नपुगेको हो । ’

उनीमात्र नभएर धेरै शिक्षकहरु पनि तालिम कक्षा कोठामा नपुग्नुको कारण शिक्षकहरु नभएर विद्यालयका प्रधानाध्यापक, स्रोत केन्द्रका स्रोत व्यक्ति, विद्यालय निरीक्षक, जिल्ला शिक्षा कार्यालयका अधिकारीहरु दोषी रहेको बताउँछन् ।

तालिममा सिकेका सीप कक्षाकोठामा नपुग्नुमा प्रधानाध्यापकहरुले आफूभन्दा माथिल्लो निकाय प्रति, शिक्षकहरुले प्रधानाध्यापक तथा स्रोत व्यक्तिहरु प्रति गुनासो र दोष दिन्छन् । गुनासोको लर्को लामै छ । मानौं तालिममा सिकेका कुरा ब्यवहारामा उतार्न शिक्षकलाई पनि गोठालो लगाउनु पर्ने हो !

‘हामी तालिममा सहभागी हुन्छौं, तालिममा सहभागी भएपछि त्यसमा के के सिक्यौ ? भन्ने विषयमा न त विद्यालयका प्रधानाध्यापकले सोध्छन् न त अन्य व्यक्तिहरुले नै ।’ शिक्षक सुरेश बखुञ्छेंले भने, ‘यही भएर धेरै शिक्षकहरु भत्ताका लागि तालिमहरुमा जाने गरेका छन् ।’

शिक्षकहरुका अनुसार आफूले पाएको तालिम कक्षाकोठामा पु¥याउनका लागि विद्यालयहरुमा कुनै वातावरण नै छैन । वातावरण बनाउन खोजे पनि विभिन्न समस्याहरु आइपर्ने उनीहरुको भनाई छ । ‘तालिममा सिकेका कुराहरुलाई लागू गराउन प्रिन्सिपलहरुले घचघच्याउने गरेका छैनन् ।’ शिक्षक  सुजना कार्कीले भनिन् ।

शिक्षक बखुञ्छें र कार्कीले यस्तो गुनासो गरिरहँदा प्रधानाध्यापक महेन्द्रगोपाल कर्माचार्य भने फरक धारणा राख्छन्, ‘तालिम भनेको आफैलाई जगाउनका लागि दिइने हो, तालिम लिएर आइसके पछि अनुगमन गरेन भन्नु पराजित मानसिकता हो । शिक्षक आफै जागरुक नभइकन कक्षाकोठामा तालिमका सीप नपुग्ने उनको भनाइ छ ।

शिक्षकहरुलाई सेवाकालीन तालिम, पुनर्ताजगी तालिम, उत्तरपुस्तिका परीक्षण तालिम, शैक्षिक सामग्री निर्माण तालिम, प्रअ तालिम, कम्प्युटर तालिम, बहुकक्षा शिक्षण तालिम, ग्रेड शिक्षक तालिम, कार्यमूलक अनुसन्धान सीप विकास तालिम निरन्तर चलिरहेका छन् । यति मात्र नभएर सामुदायिक विद्यालयका हरेक शिक्षकलाई पेशागत दक्षता विकास तालिम पनि उपलब्ध गराउने क्रम जारी छ ।

‘शिक्षकको दक्षता विकास' गर्न दिइने तालिमका लागि राज्यले ठूलो धनराशी, साधन र स्रोत खर्च गर्दै आइरहेको छ । तर लगानी अनुसारको प्रतिफल नहुनुमा सबै पक्षको कमजोरी रहेको शिक्षा विभागले जनाएको छ । विभागका महानिर्देशक खगराज बरालले पनि तालिम शिक्षकसम्म पुगेको तर तालिममा गरेको लगानी अनुसार कक्षा कोठासम्म पुग्न नसकेको स्वीकारे । 'तालिम त हामीले प्रशस्त दियौं, तालिमको प्रयोग भने कक्षा कोठामा भएन, मैले यसरी भन्दा डिजीले आरोप लगाए भन्नुहोला, तर यो शिक्षकहरुले नै स्वीकार्नुहुन्छ' बराल भन्छन्, 'नसिकाएको होइन । उहाँहरुले जान्नुहुन्छ । तर गर्नु हुन्न ।'

विधि, पद्धती प्रयोग गर्ने शिक्षक र नगर्ने शिक्षक बीच विभेद नहुँदा तालिम कक्षा कोठामा नपुगेको बरालको तर्क छ । मिहिनेती शिक्षक र इमान्दार शिक्षकको खोजी गरेर त्यो मान्छेलाई पुरस्कृत गर्न सकेको खण्डमा तालिम कक्षा कोठामा पुग्ने उनको अड्कल छ । 'गर्नेले मरिमरि गरिहेको छ, नगर्नेले त्यसलाई त्यस बापत कुनै उत्तरदायित्व बहन नगरे बापत कुनै सजाँय नभए पछि सराबरी भयो'। उनी भन्छन्, 'यसले गर्दा शिक्षकहरुमा फ्रस्टेशन आउँछ ।'

कक्षाकोठा, विद्यार्थी र शिक्षण पेशालाई सुन्दर, उपलब्धि मूलक र आर्कषक बनाउन शिक्षक बाहेक अरुबाट सम्भवै छैन । त्यसैले आफूले पाएको तालिमलाई व्यवहारमै उतार्नुमा मुख्य भूमिका शिक्षकको मात्रै हो ।

प्रकाशित मिति २०७३ साउन १४ गते

प्रतिक्रिया