काठमाडौं १४ साउन / काठमाडौं उपत्यकाभित्र त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमै सेमेस्टर प्रणालीमा कक्षा सञ्चालन गर्न आवश्यक पूर्वाधार नरहेको पाइएको छ । त्रिविले गठन गरेको अध्ययन समितिको अध्ययनका क्रममा यस्तो पाइएको हो । त्रिवि मानविकी तथा सामाजिक संकायको डिन कार्यालयले उपत्यकाका क्याम्पसमा आगामी शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा सेमेस्टर कार्यक्रम लागू गर्न आवश्यक पूर्वाधार अध्ययनका लागि अध्ययन समिति गठन गरेको थियो । त्रिवि भाषाविज्ञान केन्द्रीय विभाग प्रमुख प्रा.डा. दानराज रेग्मीको संयोजकत्वमा गठित अध्ययन समितिले स्थलगत अध्ययन गर्दा आवश्यक पूर्वाधार नरहेको पाएपछि भौतिक र जनशक्ति विकास गर्न सुझाब दिएको छ । समितिमा त्रिविका सहप्राध्यापक ताराप्रसाद भुसाल र उपप्राध्यापक विष्णु केसी सदस्य छन् ।
जनशक्ति र भौतिक पूर्वाधार अभाव
उपत्यकाका अधिकांश क्याम्पसमा भौतिक र शैक्षिक पूर्वाधार नरहेको अध्ययनमा पाइएको हो । कतिपय क्याम्पसले करार र आंशिक शिक्षकको भरमा कक्षा सञ्चालन गरेकाले सेमेस्टरमा जान नहुने कमिटीको सुझाब छ । वार्षिक प्रणालीमै एकदमै न्यून विद्यार्थी रहेका विषयमा पनि सेमेस्टरमा जान नहुने सुझाब समितिले दिएको छ ।
कमिटीले सबै क्याम्पसमा सेमेस्टर प्रणाली लागू गर्न जनशक्ति तथा भौतिक पूर्वाधारको उचित व्यवस्थापन गर्नुपर्ने सुझाब दिएको छ । उपत्यकाका क्याम्पसमा समस्या रहेको भन्दै समितिले सबै क्याम्पसमा सबै कार्यक्रम सञ्चालनको अनुमति दिन नहुने पनि सुझाब दिएको छ । समिति संयोजक रेग्मीले भने, ‘सेमेस्टरमा ४० प्रतिशत आन्तरिक मूल्यांकन हुन्छ, त्यसमा शिक्षकको हात हुन्छ, जिम्मा लिन र कन्ट्रोल गर्न करार र आंशिक शिक्षकले मात्र सम्भव हुँदैन ।’
समितिले बुझायो प्रतिवेदन
समितिले स्थलगत अध्ययनपछि त्रिवि मानविकी तथा सामाजिक संकायका डिनलाई प्रतिवेदन बुझाइसकेको छ । एक महिना लगाएर तयार पारिएको प्रतिवेदनमा समस्या समाधान गरेर उपत्यकामा तत्काल सेमेस्टर प्रणाली लागू गर्न भने सुझाब दिइएको छ । समिति संयोजक रेग्मीले भने, ‘परिस्थिति हेरेर सेमेस्टरमा नगई सुख छैन, क्याम्पसअनुसार समस्या फरक छन्, तर समाधान गर्नुपर्छ ।’
त्रिवि मानविकी संकायका डिन प्रा.डा. चिन्तामणि पोखरेलले अहिलेकै अवस्थामा उपत्यकाका आंगिक क्याम्पसमा सेमेस्टर सञ्चालन गर्न गाह्रो हुने बताए । ‘अहिलेकै अवस्थामा चल्न गाह्रो छ, पूर्वाधार भएमा चलाउन सकिन्छ,’ डिन पोखरेलले भने, ‘आगामी मंसिर–पुसमा नयाँ भर्ना सुरु हुन्छ, त्यतिवेलासम्म पूर्वाधार तयार पार्नुपर्छ ।’
विद्यार्थी संगठनको विरोध पनि बाधक
अहिले त्रिविका केन्द्रीय विभागमा सेमेस्टर प्रणालीमा कक्षा सञ्चालन भइरहेको छ । तर, त्रिविका उपत्यकाका अन्य क्याम्पसमा पनि लागू गर्न खोज्दा विद्यार्थी संगठनले विरोध जनाएपछि सेमेस्टर प्रणाली रोकिएको छ । सेमेस्टर प्रणाली कसरी कार्यान्वयन गर्ने भन्ने अध्ययन गर्न गठन गरेको कमिटीले आंगिक क्याम्पसमा मात्र नभई सम्बन्धनमा पनि एउटै प्रणालीको शिक्षा हुनुपर्ने सुझाब दिएको छ ।
नयाँ पत्रिकामा भवानीश्वर गौतमले लेखेका छन् ।
प्रतिक्रिया