Edukhabar
आइतबार, १३ असोज २०८१
खबर/फिचर

सर ! भोलि स्कुल आउने कि नआउने ?

विहीबार, १३ साउन २०७३

- हरिसुन्दर छुकां / भक्तपुर– विद्यालय नजिकैको हनुमन्ते खोलामा आएको बाढी कक्षाकोठामा पस्दा फर्निचर तथा शैक्षिक सामग्रीहरु पानीमा डुब्यो । तैपनि सँधै झैं विद्यार्थी समयमै विद्यालय आए ।

विद्यालय आएपछि उफ्रिने, खेल्ने, दौडने र साथी, सहपाठीहरुसँग लस्करै बिहानी प्रार्थना गर्ने चौर पूरै पानीले भरिएको पाउँदा कक्षाकोठामा जान नपाएका विद्यार्थी  अलमलिए । के गर्ने कसो गर्ने भयो उनीहरुलाई । त्यही भएर उनीहरुले टाढैबाट स्कुल डुबेको दृष्य टुलुटुलु हरिरहे ।

त्यतिमात्र होइन आफू पढिरहेको विद्यालयको कक्षाकोठाहरुमा धमिलो पानी छिर्दा, डेस्क बेञ्चहरु डुबिररहेको देख्दा घरबाट पढ्ने उत्साह र उमंग बोकेर आए विद्यार्थीको मुख अँध्यारो भयो । उनीहरुको अनुहारले कक्षाकोठाको अवस्थाबाट चिन्तित बनेको प्रष्ट देखिन्थ्यो ।

‘स्कुल डुबेको देखेपछि अब के हुन्छ होला ? पढ्न पाइएला कि नपाइएला भन्ने चिन्ता लाग्यो, मलाई रुन मन लाग्यो ।’ कक्षा ८ कि विद्यार्थी सुनिता तामाङले भनिन् ।

विद्यालयको त्यो नरमाइलो दृष्य देखेर चिन्तामा रहेकी विद्यार्थी सुनिता जस्तै साढे ६ सय विद्यार्थीको चिन्तालाई मध्यनजर गरी विद्यालयले विद्यार्थीलाई घर फर्काएन । विद्यालयको मुख्य भवनको तल्ला कक्षामा रहेका कक्षाहरु डुबे पनि पहिलो तल्लामा राखेर विद्यालयले नियमित कक्षा सञ्चालन गरे ।

‘विद्यार्थीले एउटै कक्षामा बसेर भए पनि पढौं भने ।’ प्रधानाध्यापक महेन्द्रगोपाल कर्माचार्यले भने, ‘त्यही भएर हामीले अफिस, पुस्तकालय, विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याबमा राखेर भए पनि विद्यार्थीलाई पढाइरहेका छौं ।’

विद्यालयको भुइँतल्लामा रहेको ८ वटा कक्षाकोठा, भूकम्पपछि बनाइएको अर्धस्थायी कक्षाकोठा र इसिडी सेन्टरका कक्षाहरु कक्षा सञ्चालन नै गर्न नमिल्ने गरी डुबेको छ ।

‘अहिले जसोतसो भए पनि कक्षा चलाइरहेका छौं तर जब पानी छिट्याउन थाल्छ, विद्यार्थी आएर सोध्छन्, ‘सर, भोलि स्कुल आउने कि नआउने ?’ प्रअ कर्माचार्यले भने ।

उनले यो वर्ष मात्र नभएर हरेक वर्षको वर्षामा स्कुल डुबानमा पर्दा विद्यालय र विद्यार्थीले समस्या भोग्दै आइरहेको बताउँदै विद्यालयको समस्या समाधान गर्न कुनै निकायले पहल नगरेको बताए ।

तीन तल्लाको उक्त विद्यालयमा कक्षाकोठाहरु पुग्दो मात्रामा नभएका होइनन् तर १५ महिना अघिको भूकम्पले भवनको माथिल्लो भागमा क्षति पुगेपछि अहिले दुईवटा कक्षाका विद्यार्थीलाई एउटै कक्षामा राखेर भए पनि कक्षा सञ्चालन गर्न विवस भएको विद्यालयको भनाइ छ ।

पुरानो भवनको रुपमा रहेको उक्त विद्यालयलाई रेट्रो फिट गर्नुपर्ने जिल्ला शिक्षा कार्यालयको प्राविधिक टोलीले ४ वर्ष अघि नै निक्र्यौल गरे पनि अहिलेसम्म रेट्रोफिट नगर्दा विद्यालय अफ्ठ्यारोमा पर्दै आएको छ ।
साउन १० गते रातीबाट परेको अविरल बर्षासँगै आएको हनुमन्ते खोलामा आएको बाढीको कारण भक्तपुर नगर पालिका राम मन्दिरको सो स्कुल मात्र नभएर हनुमानघाटमा रहेको बाल सेवक निमावि, बाराही स्थानमा रहेको शारदा प्रावि, ज्ञानतारा मावि पनि प्रभावित बन्न पुगेको छ ।

प्रकाशित मिति २०७३ साउन १३ गते

प्रतिक्रिया