Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

शिक्षकहरुको आन्दोलन संकटमा

बुधबार, १६ भदौ २०७२

समानान्तर रुपमा शिक्षा दिवस मनाउने  

काठमाडौं १६ भदौ / देशको राजनीतिक परिस्थितीका कारण शिक्षकहरुको आन्दोलन संकटमा परेको छ । प्रदेश सीमांकनको विरोध सहित जारी बन्द, हड्ताल र प्रदर्शनका कारण शिक्षक महासंघको नेतृत्वमा भईरहेको आन्दोलन संकटमा परेको हो ।

देशको राजनीतिक परिस्थिती बदलिएसंगै आन्दोलन गर्ने की नगर्ने भन्ने बारेमा महासंघ भित्र ब्यापक वहस भएको श्रोतले जनाएको छ । 'देश छुट्टै संकटमा छ हामी आन्दोलन गर्नुका औचित्य छैन' भन्ने आवाज बलियो भएपछि महासंघ भित्र आन्दोलन गर्ने र नगर्ने बारेमा विवाद समेत भएको थियो । उक्त विवाद आन्दोलनका कार्यक्रममा परिमार्जन गरेर समाधान गरिएको श्रोतले जनायो ।

जस अनुसार २० गते गर्ने भनिएको जिल्ला कामरोक धर्ना स्थगित र २६ गते गर्ने भनिएको काठमाडौं जाऔं आन्दोलनको मिति परिवर्तन गरिएको छ । भदौ २० को सट्टा भदौ २१ गते उपत्यकाका ३ वटै जिल्लामा विविध कार्यक्रम गर्ने भनिएको छ । भदौ २० गते गर्ने भनिएको कामरोक धर्नाको विरुद्धमा अदालतमा मुद्धा समेत परेको छ । जसको सुनुवाई १७ गतेका लागि तोकिएको छ । २६ गतेको काठमाडौं जाऔं आन्दोलन भोलि पल्टलाई सारिएको छ ।

आन्दोलनमा संकट आएको तथा आन्दोलनका बारेमा महासंघमा विवाद भएको भन्ने कुरामा सत्यता नभएको महासंघका अध्यक्ष केशव निरौलाले दावि गरे ।   'आन्दोलनलाई केन्द्रिकृत गरेर थप प्रभावकारी बनाउन जिल्लाका कार्यक्रमलाई राजधानी केन्द्रित बनाएका हौं' उनले भने, 'जिल्ला जिल्लामा आन्दोलन गर्नुको साटो केन्द्रमै गर्दा प्रभावकारी हुने ठहर गरेर हामीले परिमार्जन गरेका हौं, यसको औपचारिक निर्णय हामी केही समयमै सार्वननिक गछौं ।'

महासंघले ३६ औं राष्ट्रिय शिक्षा दिवस तथा अन्र्तराष्ट्रिय साक्षरता दिवस  समानान्तर रुपमा मनाउने भएको छ । शिक्षा मन्त्री सहभागि कार्यक्रम बहिष्कार गर्ने निर्णय अनुसार उक्त कार्यक्रममा सहभागि नभई आफ्नै तरिकाले मनाउने निर्णय भएको आन्दोलन परिचालन उपसमितिका सदस्य लक्ष्मण शर्माले बताए । सुदुर पश्चिम क्षेत्रमा चार्ड पर्ने भएकोले परिवर्तन गरिएको उनको भनाई छ ।

संविधानको मस्यौदामा शिक्षालाई उच्च प्राथमिकतामा नराखिएको र आफूहरुसंग यस अघि भएका सहमतीको कार्यान्वयनमा शिक्षा मन्त्रीले आलटाल गरेको लगायतका माग गर्दै शिक्षकहरु लामो समय देखि आन्दोलनमा छन् ।

प्रतिक्रिया