Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

विद्यालय पुनर्निमाण लागत दोब्बर

बुधबार, १२ साउन २०७३

काठमाडौं १२ साउन / भूकम्पले क्षति पु¥याएका विद्यालय पुनर्निमाणमा दोब्बर लागत लाग्ने भएको छ । निर्माणाधीन विद्यालयलार्ई उच्च भूकम्पिय सुरक्षा मापदण्डअनुसार डिजाइन गर्दा लागत बढेको हो । गत वर्षको जस्तो भूकम्प आउँदा पनि मानवीय क्षति नहुने र स्थानीयलाई तत्काल आश्रय दिन सक्नेगरी विद्यालय निर्माण गर्नुपर्ने भएकाले लागत दोब्बर अनुमान गरिएको हो ।

विद्यालय पुनर्निमाण गर्दा भविष्यमा आउन सक्ने भूकम्प, बाढी, पहिरोलगायतका प्राकृतिक प्रकोपबाट विस्थापित भएकालाई राख्न सक्ने गरी फराकिलो र मजबुत पूर्वाधार बनाइने भएको छ । सामान्य विद्यालय निर्माणका लागि प्रति वर्गफिट १५ सयदेखि २ हजार रुपैयाँ लाग्ने भए पनि हाल बन्दै गरेका भूकम्पप्रतिरोधी भवनको लागत ३ हजार रुपैयाँभन्दा बढी पुगेको छ । यसरी सरकारले हालसम्म भूकम्पबाट नष्ट भएका विद्यालय पुनर्निमाणका लागि ललितपुरमा रहेका ५ विद्यालयका लागि २६ करोड २८ लाखको टेन्डर स्विकृत गरिसकेको छ । वैशाखबाट पुनर्निमाण सुरु गरेको सरकारले ५ विद्यालय पुनर्निमाणका लागि सो रकमबराबरको टेन्डर स्विकृत गरेको हो । यी विद्यालयको निर्माण कार्यसमेत सुरु भइसकेको छ । सरकारले हालसम्म पुनर्निमाणको ठेक्का दिएका ६२ विद्यालयको निर्माण लागत फरक भए पनि औसत भने ५ करोड रुपैयाँबराबर छ ।

हाल पुनर्निर्माणका लागि पहिलो चरणको योजनामा परेका १४ जिल्लालगायत अन्य क्षेत्रमा सबै विद्यालय भवनको गुणस्तर कायम गर्नुपर्ने भएकाले लागत मूल्य बढेको शिक्षा मन्त्रालय केन्द्रीय परियोजना कार्यान्वयन एकाई (सीएलपीआईयू) का उपनिर्देशक एवं वरिष्ठ इन्जिनियर दीलिपशेखर श्रेष्ठले बताए । “भूकम्पपछि विद्यालयलाई आकस्मिक आश्रयस्थलको रूपमा समेत प्रयोग गर्न मिल्ने गरी ‘सेफ्टी लेबल फ्याक्टर’ बढिराखेको हो,” श्रेष्ठले भने, “भूकम्पिय जोखिमको दृष्टिकोणले अस्पतालपछि विद्यालयलाई राखिएको छ । त्यसैले अब बन्ने विद्यालयको लागत मूल्य बढी हुन्छ ।” भविष्यमा आउन सक्ने शक्तिशाली भूकम्पपछि हुन सक्ने ठूलो मानवीय क्षतिलाई न्यूनीकरण गर्न विद्यालयलाई सुरक्षित बनाइएको हो । भूकम्पपछि विद्यालयलगायत सबै सार्वजानिक भवन बनाउँदा सरकारले तोकेको मापदण्डअनुसार बनाउनु पर्ने नियम अनिवार्य गरिएको छ ।

सुरक्षित विद्यालय भवन निमार्णका लागि सीएलपीआईयू, जापानी अन्तरराष्ट्रिय सहयोग नियोग (जाईका) र एसियाली विकास वैंक (एडीबी) सहित ३ निकायले ८० भन्दा बढी भूकम्प प्रतिरोधी डिजाइन स्विकृत गरेको छ । यी सबै डिजाइनमा बन्ने भवन ४ र ३ कोठे तथा २ तल्लासम्मका रहेका छन् । सीएलपीआईयूका उपनिर्देशक श्रेष्ठले ८० प्रकारका डिजाइनअनुसार लागत मूल्यसमेत फरक–फरक रहेको जानकारी दिए । श्रेष्ठका अनुसार भूकम्पीय दृष्टिकोणमा सुरक्षित बनाइएका भवनमा आपतकालीन आवस्थामा विद्यार्थीहरू सुरक्षित तरिकाले आवतजावत गर्न मिल्ने गरी प्यासेज र ढोका राखिएको बताए । यसरी डिजाइनअनुसार बनाइएका सबै भवन अघिल्ला भूकम्पको शक्ति र जोखिमलाई ध्यान दिएर बनाइएको उनले बताए । यसरी बनाइने भवनमा विद्यालयले अनुमतिबिना २ तले भवनमा थप तल्ला नथपुन् भनेर माथिल्लो तलामा जस्ताको छाना लगाउने नियमसमेत बनाएको छ ।

कारोबारमा गोपाल संग्रौलाले लेखेका छन् ।

प्रतिक्रिया