Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

आयुक्तकै छोरी संलग्न प्रवेश परीक्षामा अख्तियारको हस्तक्षेप

बुधबार, १२ साउन २०७३

काठमाडौं १२ साउन / अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तकी छोरी परीक्षार्थी रहेको काठमाडौं विश्वविद्यालयको पोस्ट ग्राजुएसन ९पीजी० को प्रवेश परीक्षामा अख्तियारले हस्तक्षेप गरेको खुलेको छ । अख्तियारका सचिव शान्तराज सुवेदीले संसदको सुशासन समितिमा मंगलबार जवाफ दिने क्रममा उक्त खुलासा गरेका हुन् ।

(अख्तियारका) पदाधिकारीको छोराछोरी उत्तीर्ण भएको कुरा आयो,’ सचिव सुवेदीले भने, ‘मैले बुझेअनुसार एक जना आयुक्तकी छोरीले जाँच दिनुभएको हो, फेल हुनुभएछ ।’
त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थान ९आईओएम० र नेपाल मेडिकल काउन्सिल स्रोतका अनुसार अख्तियारका आयुक्त राजनारायण पाठकले आईओएमका प्राध्यापकहरू विमलकुमार सिन्हा र शरद वन्तलाई घरमा बोलाएर छोरी प्रिया पाठकलाई पोस्ट ग्राजुएसन ९पीजी० मा जसरी पनि भर्ना गर्नु भनी दबाब दिएका थिए ।

आयुक्त पाठकको दबाब अस्वीकार गरेपछि आईओएमका ७ प्राध्यापकमाथि कारबाहीको पत्र काटिएको थियो । ५२ प्रतिशत मात्रै अंक ल्याएका कारण भर्ना नपाएकी आयुक्तकी छोरी संलग्न प्रवेश परीक्षामै अख्तियारले हस्तक्षेप गरेको खुलासा भएको हो । आफ्नै परिवारका सदस्य र नातेदारको स्वार्थ जोडिएको विषयमा अनुसन्धान गर्नु नैतिकताको प्रश्न उठ्ने कामसमेत हो । तर अख्तियारले भने आयुक्तकै छोरी संलग्न परीक्षामा अनधिकृत हस्तक्षेप गरेको देखिन्छ । प्रश्नपत्र निर्माणमा समेत अख्तियारले नै पठाएका विज्ञ सहभागी छन् ।

तर अख्तियारले भने सुशासन समितिमा पठाएको पत्रमा प्रवेश परीक्षामा हस्तक्षेप नगरिएको दाबी गरेको छ । सचिव शान्तराज सुवेदीले एक वर्षअघिदेखिकै उजुरी र नेपाल मेडिकल काउन्सिलको छानबिन प्रतिवेदनका कारण काठमाडौं विश्वविद्यालयमा ‘अनुगमन गर्न’ बाध्य भएको बताए । ‘विश्वविद्यालयले आफ्नै पहलमा विशेषज्ञ टोली गठन गरी परीक्षा लिएको देखिन्छ,’ सुवेदीले भने, ‘काठमाडौं विश्वविद्यालयको माइन्युटको बेहोरा र सूचनाले नै यो प्रस्ट हुन्छ ।’

सुवेदीले सुशासन समितिमा पेस गरेको पत्रमा लेखिएको बेहोरा भने गत साता काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार भोला थापाले समितिमा दिएको अभिव्यक्तिको ठीक विपरीत छ । परीक्षामा अख्तियारले हस्तक्षेप गरेपछि बाध्य भएर आफूहरूले अख्तियारको विशेषज्ञ टोली प्रयोग गर्नुपरेको रजिस्ट्रार थापाले बताएका थिए ।

प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन र नतिजा प्रकाशनलगायतमा अख्तियारको विज्ञता र संयन्त्र नभएको भन्दै सुवेदीले संलग्नता पनि नरहेको दाबी गरे । तर विशेषज्ञको टोली लिएर जाने नीलमणि उपाध्याय स्वयं अख्तियारका स्वास्थ्य विज्ञ हुन् । ‘प्रवेश परीक्षामा अनियमितता घटनाको छानबिनकै क्रममा फाइल विस्तृत अनुसन्धानमा छ,’ सुवेदीले भने, ‘वास्तविकता आउँछ र त्यसका लागि केही समय लाग्छ ।’

कृष्ण ज्ञवालीले कान्तिपुरका लेखेको खबर


प्रतिक्रिया