Edukhabar
शनिबार, १२ असोज २०८१
विचार / विमर्श

कक्षा कोठामा भित्र्याउँ हाम्रै ज्ञानको सार

मंगलबार, ११ साउन २०७३

- शिवशरण ज्ञवाली / ब्यूँझौला कहाँ पूर्वको पैलो उज्यालै नरहे ...

राष्ट्रकवि माधव घिमिरेको ‘नेपालै नरहे’ गीति कविताको पंक्ति हो, यो । कक्षा ११ मा पढाई हुने यो कवितामा श्लेष अलङ्कारको प्रयोग गरिएको छ । पूर्वको पहिलो भनेको पूर्वबाट घाम उदाउँछ, पूर्वबाट उज्यालो आउँछ भन्ने अर्थ पनि हो । साथै अर्को अर्थ पूर्वीय आध्यामिक चेतना भएन भने हामी कहाँ ब्यूँझौंला र ? भनिएको पनि हो ।

संसारलाई समुन्नत तुल्याउन तथा सभ्यताको विकास गराउनमा प्राचिन ग्रिसको करिब करिब एकल नेतृत्व नै रहेको देखिन्छ । तिनै ग्रिसेलीहरुले एसिया र अफ्रिकालाई पूर्व र युरोप अमेरिका पश्चिम भनेर विभाजन गरे । त्यसै आधारमा पूर्व र पश्चिमको विभाजन रेखा कोरिएको मानिन्छ । सभ्यतामा पनि पूर्वीय र पाश्चात्य सभ्यताको चर्चा गरिन्छ । पूर्वीय पाश्चात्य जगतले विपरीत धारमा आआफ्ना सभ्यता, चाल चलन, संस्कृतिको विकास निरन्तर अगाडि बढाईरहे ।

यस क्रममा पश्चिमाहरु आफूप्रति बढी इमान्दार देखिए र ‘रिक्स’को यात्रामा वेगवान् भए । फलतः बैज्ञानिक खोज र अनुसन्धानमा पूर्वीयहरुलाई सयौं वर्ष पछाडि छाडेर अगाडि बढे । यसक्रममा उनीहरुले लिएको ज्ञान चाँही पूर्वीय जगतकै हो । तर उनीहरुले पूर्वीय ज्ञानलाई आफ्नो सभ्यताको विकासका लागि प्रयोग गरे । यहीकारण आज पाश्चात्य जगत भौतिक रुपमा समुन्नत बन्दै गइरहेको छ भने पूर्वीय जगत् कछुवा गतिमा अगाडि बढिरहेको छ । हामी व्यक्ति स्वयं प्रति इमान्दार हुँदाका दिन हामी पनि समुन्नतिको गतिमा पुग्ने कुरामा शंका छैन, किन भने त्यो विकासको आधार पूर्वीय दर्शन नै हो ।

चालचलनमा समानता भए पनि पूर्वीय सभ्यतामा तिनलाई उपयोग गर्ने पद्धतिमा भिन्नता छ । उदाहरणको लागि ‘जन्मोत्सव’लाई लिन सक्छौं । आजभोलि ‘वर्थ डे’ नामको जन्मोत्सव हाम्रो संस्कृतिमा पनि निकै भव्यता पूर्वक मनाइन्छ । तर फरक के छ भने पश्चिमाहरु ‘वर्ड डे’ मनाउँदा बत्ती निभाएर सुरु गर्छन् तर हामीहरु बत्ती बालेर सुरु गर्छौ । आखिर मनाउने ‘जन्मोत्सव’ नै हो ।

आज पश्चिमाहरुले प्रविधिका कारण हामीलाई पनि उनीहरुको अस्तित्व स्वीकार्न बाध्य पारिरहेका छन् । दिन प्रतिदिन प्रविधिका कारणले गर्दा संसार साघुँरो बन्दै गइरहेको छ । यो साघुँरो संसारमा ज्ञानको आदान प्रदानको कार्य पनि सहजै बन्दै गएको छ । प्रविधिकै माध्यमबाट उनीहरु सम्पन्न पनि भए । हामीलाई पनि लगेर कजाउन थाले । हाम्रै ज्ञानबाट पनि ‘सार’ निकालेर उनीहरुले चिन्तनलाई प्रविधिमा रुपान्तरण गरेर आफूलाई समुन्नत तुल्याए । हामी हाम्रै ज्ञान सिप प्रयोग गर्न नसक्दा पछि प¥यौं । तर हामीसँग ज्ञान सिप नभएको होइन ।

घिमिरेको सोही कविताबाट :

पौरखी हाम्रा पुर्खाको पाइला मेटेर मेटिन्न ...

हुन पनि हाम्रा पुर्खाले हामीलाई निकै राम्रा ज्ञान, सिप प्रदान गरेर गएका छन् । हामी विकासमा पछि परेको पुर्खाले छाडेर गएको ज्ञान सिप प्रयोग गर्न नजानेर नै हो । हिजो हाम्रा पुर्खाले जन्मेको एघार दिनमा हाम्रो ‘न्वारन’ गरिदिन्थे । न्वारनकै दिन नाम र कर्मको बीचको सामजस्य आंकलन गरेर नाम जुराउँथे । ‘महावीर’ नामलाई उदाहरणै रुपमा लिए पुग्छ । तर आजका हामी कथित शिक्षितहरु महिनौं तथा वर्षौसम्म नाम राख्न नसकेर अल्मलिएका छौं । यो एउटा सानो उदाहरण मात्र हो ।

पश्चिमाको भद्दा नक्कल गर्ने कोशिस गर्दा आज हामी अलमलिएका छौं । नेपाली समाज शहर र गाउँ बीचको संक्रमणमा छ । संक्रमणको कारण नयाँ पुस्ता परम्परागत ज्ञान तथा संयुक्त परिवारबाट विमुख हुन बाध्य हुँदै गएको छ । बालबालिकाको घर भनेकै एउटा कोठामा सीमित छ । त्यसकारण बालबच्चाहरु बढी कुण्ठित बन्दै गएका छन् । शारीरिक श्रम करिब करिब बन्द अवस्थामा छ । शारीरिक श्रमप्रति सकारात्मक भाव पनि छैन । अभिभावक आफ्ना बालबच्चालाई शारीरिक श्रम गराउनु हुन्न भन्ने मानसिकताबाट ग्रसित देखिन्छन् । तर बालबालिकालाई उचित शारीरिक अभ्यास चाहिन्छ भन्ने कुरा सबै खाले दर्शनले स्वीकारेको देखिन्छ । शारीरिक श्रम बिनाको बौद्धिकता प्राप्ति एकांकी हुने निश्चित छ । यस्तो अवस्थालाई कसरी सहज गराउने भन्ने बारेमा अझै पनि धेरै चर्चा परिचर्चा भएको पाइदैन ।

पूर्वीयहरुसँग योगदर्शन छ । योगदर्शनको प्रयोगले पछिल्लो चरणमा व्यापकता पाउँदै गएको छ । मानवीय शरीरमा लाग्ने सबै खाले रोगहरुको निवारण आजको आधुनिक चिकित्सा विज्ञानबाट मात्र संभव देखिदैन । त्यही कारण आज धेरै मानिसहरु योगलाई अँगाल्न थालेका छन् । हुन पनि यसको प्रयोग गर्न सक्ने हो भने हामीले पनि आफ्नो ज्ञान सिपलाई संसारभर प्रस्तुत गर्ने मात्र होइन, स्वस्थ जीवन प्राप्त गर्न सक्छौं । तर हाम्रो माध्यमिक तहको पाठ्यक्रममा यो केवल धार्मिक शिक्षामा त्यो पनि ऐच्छिक रुपमा मात्र दिने व्यवस्था गरिएको छ । अन्य तहको पाठ्यक्रममा यसको समावेश गर्ने तर्फ रुचि देखाइएको छैन । विशद् ज्ञान दर्शन उपेक्षित छ । योगदर्शनलाई केवल धार्मिक शिक्षाका रुपमा मात्र होइन, आज यसलाई कम्तीमा माध्यमिक तहमा नै अनिवार्य गर्नुपर्ने नै आवश्यकता देखिन्छ ।

गाउँले नेपाली समाजमा अझै पनि शारीरिक श्रमसँगै बौद्धिक क्रियाकलाप गरिन्छ तर शहरिया समाज निष्क्रियतामा फसेको छ । यस्तो अवस्थामा योग शिक्षाको जरुरत छ । त्यसो भयो भने संसारलाई हामी हाम्रो दर्शन मार्फत् व्यवाहरलाई संसारमा चिनाउन सक्छौं । तसर्थ अबको शिक्षा योगदर्शनमा आधारित हुनु आवश्यक छ ।  

प्रकाशित मिति २०७३ साउन ११ गते

प्रतिक्रिया