Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

नेविसंघ महाधिवेशन गर्न समिति

मंगलबार, ११ साउन २०७३

काठमाडौं ११ साउन / नेपाली कांग्रेसले प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन सम्पन्न गर्न केन्द्रीय सदस्य प्रकाशशरण महतको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। सभापति शेरबहादुर देउवाले सोमबार पार्टी नेतासँग परामर्ष गरी केन्द्रीय सदस्यहरू किशोरसिंह राठौर, गोविन्द भट्टराई, गुरुराज घिमिरे र प्रदीप पौडेल सदस्य रहेको समिति गठन गरेका हुन्।

संघको महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्न/गराउनका लागि विद्यमान तदर्थ समितिलाई यथासक्य सहयोग पुर्‍याई आवश्यक निर्देशनसमेत गरेको कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। पार्टी विधान, २०१७ (संशोधन र परिमार्जित) को धारा २४ (६) अनुसार समिति गठन गरेको जनाइएको छ।

२०६४ पछि महाधिवेशन नभएको नेविसंघले आगामी साउन २३ देखि २५ सम्म काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन गर्ने निर्णय गरेको छ। दैनिक २ लाख १० हजार भाडा तिर्नेगरी संघले तीन दिनका लागि उक्त स्थान बुकिङ गरेको जानकारी दिँदै संघका प्रवक्ता युपी लामिछानेले २ लाख ३० हजार रुपैयाँ दिइसकेको बताए।

संघले महाधिवेशन प्रतिनिधि विवाद समाधान गर्न लीलाबल्लभ दाहालको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ। समितिले विवादित ११ जिल्लाको टुंगो लगाउने छ। ६४ जिल्लामा भने पार्टी पदाधिकारीसहितका नेताको उपस्थितिमा एक वर्षअघि नै टुंगो लगाइसकेको संघले दाबी गरेको छ।

नागरिकबाट

प्रतिक्रिया