Edukhabar
शनिबार, १२ असोज २०८१
खबर/फिचर

कक्षा कोठामै पहिरो : २ बालिका विते, दोषिलाई जरिवाना ५ सय रुपैंया !

सोमबार, १० साउन २०७३

ललितपुर - कक्षा कोठामै पहिरो आएर दुई छात्राको निधन भएको एक महिना वित्न लाग्दा समेत दोषि माथि कारवाही नभएको भन्दै अभिभावक आक्रोशित भएका छन् । गत असार १७ गते विद्यालयको आडमा रहेको प्लटिङ्को कमजोर संरचना भत्कदाँ टौखेलको पुष्पाञ्जलि सेकेण्डरी स्कुलको कक्षा ३ मा अध्ययनरत दुई छात्रा कृपा राई र अञ्जना पुन मगरको निधन भएको थियो ।

घटना भएको १८ दिन पछि अघिल्लो सोमबार बल्ल प्रक्राउ परेका प्लटिङ्का मालिक एवं उक्त घटनाका मुख्य दोषि कर्मा लामा यतिखेर बी एण्ड बी अस्पतालको क्याविन नम्बर ४१३ मा बसिरहेका छन् । लामालाई प्रहरीले ज्यादै कमजोर मुद्धा दायर गरेको भन्दै उनीहरु आक्रोशित छन् ।

लामालाई प्रहरीले मूलूकी ऐनको ज्यान सम्बन्धि महलको दफा ६ मा उल्लेख भएको भवितव्य ज्यान अन्र्तगत मुद्धा दायर गरेको छ । होस् नपुर्याई भएको कामबाट कसैको ज्यान गएमा अधिकतम ५ सय रुपैंया वा २ बर्ष कैद हुने उक्त महलमा ब्यवस्था छ ।

भवितव्यका बारेमा कानूनमा भएको त्यही ब्यवस्था अनुसार कारवाही गर्दा न्यून सजायँ हुने भएकोले जनमानसमा कारवाही गरेको पनि देखिने र धेरै कारवाही पनि नहुने भन्दै प्रहरीले बिचको बाटो अपनाएको श्रोतको दावी छ ।

लामालाई पक्राउ गर्न ढिलाई गर्नुका पछिल्तिर पहुँचले काम गरेको भन्दै अभिभावकले उतिखेरै प्रहरीको आलोचना गरेका थिए ।

पढ्नुहोस् कक्षा कोठामै पहिरो : पहुँचले दोषी पक्राउ नपरेको अभिभावकको शंका

अहिले अदालतमा दायर कमजोर मुद्धाको कारण उनको पहुँच नै भएको पुष्टि भएको छ । तर, घटना भवितव्य हो, आफैं झुण्डिएर हुने मृत्यु, गाडि दुर्घटना हुँदा जस्तै यो घटना भएको प्रहरीको निष्कर्ष छ । 'पब्लिकको चित्त बुझाउन त पर्यो' प्रहरी श्रोत भन्छ, 'यहि आधारमा मुद्धा अघि बढाईएको हो ।'

'हाम्रा कलिला २ जना नानीको ज्यान जाने गरी भएको घटनाका दोषिलाई  जम्मा ५ सय रुपैंया जरिवाना र २ बर्ष मात्रै कैद !' एक अभिभावक झोकिन्छन्, 'माथिको दवाव आयो भन्दैमा प्रहरीले उचित कारवाही गर्न आलटाल गरेको हो भने हामी प्रहरी विरुद्ध नै उभिन बाध्य हुन्छौं ।'

लामालाई सातदोबाटो प्रहरी कार्यालयका प्रहरीले अस्पतालमै पहरा दिईरहेका छन् ।

प्रहरीको काम कानून पालना गर्ने भएकोले कानूनमा भएको ब्यवस्था अनुसार कारवाही प्रकृया अघि बढाईएको प्रहरी नायव उपरीक्षक तारादेवी थापाले बताईन् । 'चिकित्सकहरुले स्वास्थ्यमा गढबढी छ भने पछि अस्पतालमै भर्ना गरेर कारवाही प्रकृया अघि बढाईएको हो' उनले भनिन्, 'सबैले देख्ने गरी भएको घटना हो, हामीले अनुसन्धानमा कुनै कमी गरेका छैनौं, अदालतमा मुद्धा दायर भएको छ, फैसला जे हुन्छ त्यो लागू गर्ने हाम्रो कर्तव्य हो ।'

तर, उच्च राजनीतिक संरक्षण भएकोले प्रकृयाका नाममा प्रहरीलाई कारवाही ढिलो गराउन लगाएको अभिभावकको आरोप छ । 'अरु बेला ठमठम हिड्ने मान्छे अहिले हस्पिटलमै बस्नु पर्ने गरी के विरामी भयो ?' एक जना अभिभावक प्रश्न गर्दै भन्छन्, 'प्रहरीकै मिलेमतोमा यो सब भईरहेको छ, सबैको सर सल्लाहमा उसलाई कमजोर मुद्धा दायर गरेर समय गुजार्ने काम मात्रै भएको हो ।'

ईमाडोल बस्दै आएका लामालाई ईन्सुलिन लिन आउँदा प्रहरीले बी एण्ड बी अस्पतालबाटै पक्राउ गरेको थियो ।

दोषिलाई अभिभावकको चित्त बुझ्ने गरी कानून अनुसार अधिकतम कारवाही हुनेमा आफू आशावादी रहेको प्रिन्सिपल पुहामीक्रान्ति लेप्चा बज्राचार्यले बताईन् ।

विद्यालयका अन्य बालबालिका सामान्य अवस्थामा फर्कन थालेको महसुन गर्दै गएको सोमबार देखि विद्यालयले पठन पाठन शुरु गरेको छ । शुरुमा विद्यार्थीलाई मनोसामाजिक परामर्श दिईएको र सामान्य अवस्थामा ल्याउने प्रयास गरिएको बज्राचार्यले बताईन् । 'घटना ज्यादै दर्दनाक हो, हामी ज्यादै मर्माहत पनि भयौं, अव विस्तारै सामान्य अवस्थामा आउने प्रयास गरिरहेका छौं' उनले भनिन्, 'विभिन्न विशेषज्ञहरुबाट विद्यार्थीलाइ परामर्श दिईरहेका छौं ।'

दुर्घटनामा ज्यान गुमाएका बालिकाका परिवारलाई लामाले प्रति परिवार १० लाख रुपैयाँ दिने, तथा घाईतेहरुको उपचारमा लागेको खर्च र विद्यालयमा भएको क्षतीको पचास प्रतिशत बेहोर्ने सहमती भएको उनले बताईन् ।

सम्बन्धित अन्य खबर पनि पढ्नुहोस् :

दुर्दान्त घटनाको पाठ

आइसियुबाटै विद्यार्थीले भने ‘गुड आफ्टरनून म्याम’

कक्षा कोठामै पहिरो : विद्यालयद्धारा प्लटरमाथि कारवाहीको माग

कक्षामै पहिरो : छानिवन शुरु, तुरुन्तै कारवाही हुने शिक्षा मन्त्रीको भनाई
 
पढाई भईरहेकै बेला कक्षामा पहिरो, २ छात्राको निधन

प्रकाशित मिति २०७३ साउन १० गते

प्रतिक्रिया