Edukhabar
शनिबार, १२ असोज २०८१
खबर/फिचर

जि न्यगु कक्षाय् ब्वनेगु !

आइतबार, ०९ साउन २०७३

- हरिसुन्दर छुकां / मध्यपुर ठिमी - ‘छंगु नां छु ?’(तिम्रो नाम के हो ?)

–‘जिगु नां मिना कार्की ख ।’(मेरो नाम मिना कार्की हो ।)

‘छ गना ब्वनेगु ?’ (तिमी कहाँ पढ्छौ?)

–‘जि थिमि च्वंगु आदर्श लायकु उमावियागु न्यगु कक्षाय् ब्वनेगु ‘।’ (म थिमिको आदर्श लायकु उमाविको कक्षा २ मा पढ्छु ।)

आमा बावुसँगै आधा दशक देखि ठिमीमै बसीरहेकी मिना कार्कीलाई स्थानीय नेवार सम्प्रदायका बालबालिकालाई ‘जस्तै’ नेपालभाषामा बोल्न मन लाग्थ्यो । तर आउँथेन । जहाँ ईच्छा त्यहाँ उपाय ! हिजो आज उनी अरुले बोलेको बुझ्ने मात्रै हैन, जवाफ फर्काउन र सोध्न पनि सक्छिन् ।

कामको सिलसिलामा उनका बुवाआमा १५/१६ वर्ष देखि त्यहाँ बस्दै आए पनि उनका आमाबुवाले नेवारीमा कुरा गर्न त परको कुरा ठिमीका नेवारहरुले बोलेको समेत बुझ्दैनन् ।

त्यही भएर उनीहरु कहिलेकाहिँ कनीकुथी ‘छु धयागु छु, भाय् मस्यु’ (के भनेको के, भाषा बुझ्दैनौं) भनेर टारिदिने गरेको मिनाका आमाबुवा बताउँछन् । तर आफ्नी छोरीलाई भने बोल्न मात्र नभएर नेपाल भाषा लेख्न र खर्रर पढ्न पनि आउँछ । त्यही भएर मिनाका बुवाआमा छोरीले नेवारीमा कुरा गर्न जान्ने भएकोमा दंग छन् ।

छोरीमा यस्तो ‘क्षमता’ उनको पारिवारिक पृष्ठभूमिको कारण नभएर उनी पढ्ने स्कुलको वातावरणले दिएको हो ।

नेवारहरुको बाहुल्यता भएको बस्तीको बीचमा अर्थात् ठिमीको लायकु (दरबार) मा अवस्थित आदर्श लायकु उच्च माध्यमिक विद्यालयले कक्षा नर्सरीदेखि कक्षा चारसम्म नेपालभाषामा पनि पठनपाठन गराउन थाले पछि विगत ३ वर्षदेखि सोही स्कुलको कक्षा ३ मा पढिरहेकी कार्की गैर नेवार भएर पनि नेपालभाषा पढिरहेकी छिन् ।

त्यही पढाइले नै उनले नेवारी बोल्न, पढ्न र लेख्न जानेकी हुन् । ‘मैले यो भाषा बुझ्ने भएर आमाबुवा पनि छक्क हुनुहुन्छ ।’ आफूलाई नेवारी भाषामा कुरा गर्न आए पछि आफू बस्दै आएको टोलमा अझ सजिलो भएको उनले अनुभव सुनाइन् ।

उनको कक्षामा ४ जना मात्र स्थानीय नेवारहरु छन् । कक्षामा रहेका अन्य २९ जना गैर नेवारहरु नै हुन् । मिना जस्तै गरी उनको कक्षामा रहेका धेरै गैर नेवारहरुलाई पनि नेवारी भाषामा कुराकानी गर्न आउँछ । कक्षामा रहेका बस्नेत, खत्री, मगर, तामाङ, श्रेष्ठ थरका सहपाठीहरु नेवारीमै कुराकानी गर्न सक्ने भएका छन् । नेवार साथीहरुसँगै पढिरहेका कार्कीलाई पनि नेपाल भाषामा मज्जाले कुराकानी गर्न आउँछ ।
शिक्षक शिक्षिकाले नेपालभाषामा सोधेको प्रश्नको जवाफ पनि उनी सजिलै दिन सक्छिन् ।

नेपालभाषामा कक्षा सुरु गरेपछि नेवार समुदायका विद्यार्थीलाई मात्र नभएर सो क्षेत्रमा बसिरहेका अन्य समुदायकालाई पनि फाइदा पुगेको विद्यालयको भनाइ छ ।

‘हामीले यो कक्षा सुरु गर्दा अभिभावकहरुले असहमति जनाउलान् कि भन्ने चिन्ता थियो, तर त्यसो भएन’, विद्यालयका प्राचार्य विद्यादेवी चित्रकारले भनिन्, ‘धेरै गैर नेवार अभिभावकहरु आफ्ना बाबुनानीले नेवारी भाषा सिकेर खुसी भएका छन् ।’

विद्यालयका अनुसार सो कक्षा विगत ३ वर्षदेखि सञ्चालनमा ल्याइएको हो । पहिला कक्षा १ बाट सुरु भएको पढाइ अहिले कक्षा २ सम्म पुगेको छ भने यो शैक्षिक सत्रदेखि प्ले गु्रपदेखि नै नेपालभाषामा कक्षा हुने गरेको छ ।

विगत तीन वर्षदेखि नेपालभाषा पढाइरहेकी सोही विद्यालयका शिक्षिका गृहलक्ष्मी जोशीले प्लेगु्रप, एलकेजी, युकेजी र कक्षा १ मा नेपालभाषाको पाठ्यपुस्तक नहुँदा केही समस्या भए पनि अङ्ग्रेजी माध्यमबाट प्रकाशित पुस्तकहरुको सहयोगमा कक्षा चलाइरहेको बताइन् ।

‘प्ले गु्रपका बाबुनानीहरुले सजिलै शरिरका अंग, सामान्य बोलीचालीका भाषा बोल्छन्, पढाएमा नेवारहरु मात्र नभएर गैर नेवारहरुले पनि बोल्न र लेख्न सक्दा रै’छन् ।’ सोही विद्यालयकी शिक्षिका कृष्णकेशरी श्रेष्ठले थपिन् ।

यति मात्र नभएर सोही स्कुलको कक्षा कक्षा १० का विद्यार्थी पनि  नेपालभाषा पढिरहेका छन् । स्कुलले कक्षा १० मा ऐच्छिक विषयको रुपमा नेपालभाषा विषयलाई समावेश गरेपछि सोही क्षेत्रका नेवार विद्यार्थीले नेपालभाषामा पढ्न पाएका हुन ।

पछिल्लो समयमा नेवारहरुले नै आफ्नो भाषा बिर्सदैं गएपछि सो भाषालाई बचाउन र प्रवद्र्धन गर्नका लागि विद्यालयले नेपालभाषा विषय समावेश गरेर अध्ययन अध्यापन थालनी गरेकोे विद्यालयले जनाएको छ ।

प्रकाशित मिति २०७३ साउन ९ गते

प्रतिक्रिया