Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

ठूला विद्यार्थी संगठनमा भद्रगोल, कतै नेताहरूबीचको विवाद त कतै पदको लडाइँले संगठन लथालिंग

आइतबार, ०९ साउन २०७३

काठमाडौं ९ साउन / देश र जनतालाई अप्ठ्यारो परेका वेला दबाब दिने ठूलो शक्तिका रूपमा चिनिने विद्यार्थी संगठन यतिखेर अस्तव्यस्त छन् । तीन ठूला पार्टीनिकटका विद्यार्थी संगठनमा झन धेरै भद्रगोल छ । कांग्रेसनिकट नेविसंघ, एमालेनिकट अनेरास्ववियु र माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीमा कतै आपसी विवाद त कतै पदका कारण संगठन लथालिंग बनेको छ ।

संगठनभित्रै विवाद चुलिएकाले उनीहरूको आन्दोलनको शक्ति क्षीण हुँदै गएको छ । केन्द्रदेखि क्याम्पससम्म विवाद छ । सोही कारण विद्यार्थी संगठनका आन्दोलनमा विद्यार्थी सहभागिता पातलिँदो छ ।

अनेरास्ववियु
एउटै प्यानलबाट लडेका अध्यक्ष नवीना लामा र महासचिव ऐन महर विभाजित, केन्द्रीय कार्यालयमै रहेर पनि अखिल बैठकमा गएनन् महासचिव महरलगायतका पदाधिकारी
जिम्मेवारी बाँडफाँडमा महासचिवले ल्याएको प्रस्तावभन्दा फरक निर्णय भएपछि महर रुष्ट
उपाध्यक्ष महेश बर्तौला र सुनिता बराललगायत महासचिव महरको पक्षमा
एउटै प्यानलबाट लडेका विभाजित

पछिल्लो समयमा एमालेनिकट अनेरास्ववियुमा समेत विवाद बढ्दै गएको छ । केही समयअघि सम्पन्न राष्ट्रिय सम्मेलनमा एउटै प्यानलबाट चुनाव लडेर जितेका अनेरास्ववियु अध्यक्ष नवीना लामा र महासचिव ऐन महरबीचको सम्बन्धमै फाटो आएको छ । अनेरास्ववियुको जिम्मेवारी बाँडफाँडमा विभाजित भएका अध्यक्ष लामा र महासचिव महरको आपसी सम्बन्धमा दरार आउँदा संगठनका कार्यक्रमसमेत प्रभावित भएका छन् । उपाध्यक्ष महेश बर्तौला र सुनिता बराल, महासचिव महरलगायतको एउटा पक्ष र लामासहितको अर्को पक्ष रहेको छ ।

अध्यक्ष र महासचिवबीचको सम्बन्धमा दरार
अनेरास्ववियु सचिवालय सदस्यका अनुसार संगठनको विभिन्न विभागमा अध्यक्ष लामाले महासचिव महरले चाहेको भन्दा फरक व्यक्तिलाई बहुमतबाट निर्णय गराएर जिम्मेवारी दिएपछि विवाद बढेको हो । पदाधिकारीबीच आपसी सम्बन्ध राम्रो नभएकाले अनेरास्ववियुले आयोजना गरेको कार्यक्रम नै खल्लो हुने गरेका छन् । केही दिनअघि ‘नेपालमा जनवादी÷समाजवादी शिक्षाको अवधारणा’ विषयक अन्तत्र्रिmयामा विवाद सतहमा आएको थियो । ‘महासचिव महरलगायत खुलेर कार्यक्रमको विरोध गर्दैनन्, तर कार्यक्रममा खबर गर्ने र सफल बनाउने भूमिका पनि खेल्दैनन्,’ अखिलका एक केन्द्रीय सदस्यले भने ।

५ असारमा अखिल कार्यालयमा भएको स्थायी कमिटी बैठकमा महासचिव महरसहितको असन्तुष्ट टिम एउटा कोठामा बसेर बैठक भएको अर्को कोठामा गएनन् । यो विवाद पार्टीसम्म पुगेको छ । अनेरास्ववियुकी अध्यक्ष लामा संगठनमा प्रचार गरिएजसरी ठूलो विवाद नरहेको बताउँछिन् । ‘संगठनको अध्यक्ष म हुँ, कसैले आफ्ना मान्छेलाई राख्न खोज्नु स्वाभाविक हो, तर मैले सबैको चित्त बुझाएर निर्णय गर्नुपर्छ,’ उनले भनिन् ।

नेविसंघ
६ महिनाभित्र महाधिवेशन गर्न २१ माघ ०६८ मा रञ्जित कर्णलाई अध्यक्ष बनाएर जिम्मेवारी दिए पनि महाधिवेशन हुन सकेन
जिल्ला अधिवेशन सुरु भएको तीन वर्षसम्म पनि केन्द्रीय महाधिवेशन नहुँदा प्रतिनिधिहरू विदेसिँदै, ११ जिल्लामा अझै विवाद
केन्द्रमा गुट, आंगिक क्याम्पसहरूमा गुटअनुसारका कमिटी
अध्यक्षसँग असन्तुष्टि बढ्दो, सार्वजनिक कार्यक्रममै हानाहान
११ औँ महाधिवेशनका लागि आठौँ प्रयास भए पनि अझै अन्योल,  दशकभन्दा बढी क्याम्पसमा बिताएका विद्यार्थी नेता समस्यामा
वर्षौँदेखि महाधिवेशन हुन सकेन

कांग्रेसनिकट नेविसंघ वर्षौँदेखि भद्रगोल अवस्थामा छ । सबैभन्दा बढी सांगठनिक अनुशासन कमजोर देखिएको नेविसंघमा लामो समयदेखि महाधिवेशन हुन सकेको छ । ६ महिनाभित्र महाधिवेशन गर्न भन्दै २१ माघ ०६८ मा तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाले निर्वाचित नेतृत्व विघटन गरी रञ्जित कर्णलाई अध्यक्ष बनाएका थिए । तर, कर्णले अहिलेसम्म महाधिवेशन गर्न सकेका छैनन्, जसका कारण नेतृत्व हस्तान्तरण हुन सकेको छैन । साउन तेस्रो साता महाधिवेशनका लागि आठौँ प्रयास भए पनि अझै अन्योल छ । जिल्ला अधिवेशन सुरु भएको तीन वर्षसम्म पनि महाधिवेशन नहुँदा प्रतिनिधि बिदेसिँदै छन् ।

पार्टीको गुटअनुसार नेता
नेविसंघमा पार्टीको गुटअनुसार नेता छन् । विश्वविद्यालय क्याम्पस कीर्तिपुरलगायतका आंगिक क्याम्पसमा गुटअनुसारका कमिटी बनेकाले नेविसंघमा अध्यक्षसँग असन्तुष्टि बढ्दो छ । केही समयअघि अध्यक्ष कर्णलाई नेविसंघकै कार्यकर्ताले मोसो दलेर, जुत्ताको माला लगाइदिएर दुव्र्यवहार गरेका थिए । नेविसंघ अध्यक्ष कर्णले यसपटक महाधिवेशन सम्पन्न हुने दाबी गरे । विवादित जिल्लामा विवाद समाधान गर्न कमिटी बनेको र तयारी पनि भएकाले २३ देखि २५ साउनमा महाधिवेशन सम्पन्न भएरै छाड्ने उनको भनाइ छ ।

जिल्ला कमिटीमा समेत विवाद
नेविसंघका ११ वटा जिल्ला कमिटीमा विवाद यथावत् छ । संगठन र स्ववियु दुवैको चुनाव नहुँदा दशकभन्दा बढी समय क्याम्पसमा बिताएका विद्यार्थीलाई समस्या भएको छ । पहिले संस्थापन र देउवा पक्षमा देखिएका नेविसंघका नेताहरू अहिले मिले पनि अहिले अर्को असन्तुष्ट पक्ष जन्मिएको छ । असन्तुष्टमध्येका नेविसंघका पूर्व प्रेस विभाग प्रमुख रामप्रसाद अधिकारीले अध्यक्ष र एक–दुईजना बसेर कोठामा गरेको निर्णय मान्य नहुने बताएका छन् । केही समयअघि नेविसंघले बागबजारको एक होटेलमा आयोजना गरेको कार्यक्रममा केन्द्रीय सदस्य इन्दु शर्माले विरोध जनाउँदै मञ्चमा पुगेपछि हात हालाहाल भएको थियो ।

अखिल क्रान्तिकारी
१० माओवादी पार्टी मिलेर माओवादी केन्द्र बने पनि तिनका विद्यार्थी संगठनको एकीकरण हुन सकेन, एकीकरण पछिको नेतृत्व विवादले समस्या
एउटै संगठनमा तीन अध्यक्ष सक्रिय
माउ पार्टी विभाजित हुँदै गएपछि कुनै १९औँबाट कुनै २० औँ र कुनै २१औँ सम्मेलनको अवस्थामा, एकीकरण भएमा २१औँ सम्मेलन हुने
चेन अफ कमान्ड’ कमजोर बन्दै
नेतृत्व विवादले एकतामा ढिलाइ

१० वटा माओवादी पार्टी मिलेर माओवादी केन्द्र भए पनि विद्यार्थी संगठनमा भने भद्रगोल छ । विद्यार्थी संगठनबीच अझै एकीकरण भएको छैन । पहिलेका संगठनहरू आफ्नै ढंगले काम गरिरहेका छन् । संगठनको विज्ञप्तिमा रमेश मल्ल, रत्न ढकाल र मातृका सन्तोष विष्टको नाम अध्यक्ष रहेको उल्लेख छ । विद्यार्थी संगठन एकता गराउने जिम्मा केन्द्रीय कार्यालय सदस्य हितमान शाक्यलाई दिइएको छ । शाक्य कमिटीले १० साउनमा एकता अधिवेशन गर्न दुईवटा समिति बनाएको छ, तर कस्तो मोडालिटीमा एकता गर्ने र कसले नेतृत्व गर्ने भन्नेमा विवाद छ ।

अखिल क्रान्तिकारीका अध्यक्ष मल्लले एकता हुँदा ठूलो संख्या हुने र त्यसैलाई सम्मेलन आयोजक कमिटी बनाएर अघि बढ्ने तयारी भइरहेको जानकारी दिए । एकतापछि संगठनको नेतृत्व सिनियरले गर्ने भन्ने निर्णय भएकाले मल्लले नै नेतृत्व गर्न पाउने भएका छन् । तीन संगठन मिलाएर जानुपर्ने भएकाले अन्तरिम विधान बनाएर सम्मेलनमा जाने मल्ल बताउँछन् ।

नयाँ पत्रिकामा भवानीश्वर गौतमले लेखेको खबर ।

प्रतिक्रिया