Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

मनमोहन विधेयकमा अड्कियो वार्ता

शनिबार, ०८ साउन २०७३

काठमाडौं ८ साउन / अनशनरत प्रा.डा. गोविन्द केसीका मागबारे टुंगो लगाउन बिहीबार र शुक्रबार गरी तीनपटक भएको वार्ता विफल भएको छ । स्रोतका अनुसार केसीले अघि सारेको प्रस्तावित मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता गर्नुपर्ने मागमा दुवै पक्षको आआफ्नै अडान रहेपछि वार्ता विफल भएको हो ।

सरकारी टोलीले समस्या समाधान गर्न राजनीतिक समिति बनाउने र डा. केसीले अनशन तोड्नुपर्ने भनी अघि सारेको प्रस्ताव डा. केसी पक्षले अस्वीकार गरेपछि वार्ता बिनानिष्कर्ष टुंगिएको छ । शुक्रबार दुईपटक गरी राति अबेरसम्म वार्ता भएको थियो ।

सरकारी वार्ताका संयोजक स्वास्थ्य सचिव डा.सेनेन्द्रराज उप्रेतीले मुख्य केही बुँदामा अझै सम्बन्धित विज्ञसँग छलफल गर्न आवश्यक देखिएकाले तत्काल वार्ता स्थगित गरिएको बताए । ‘डा.केसीका मागमा केही यस्ता मुख्य बुँदा छन् जसमा अझै सम्बन्धित विज्ञसँग छलफल गर्न आवश्यक देखियो । त्यसैले तत्कालका लागि हामीले वार्ता स्थगित गरेका छौं, फेरि पनि हामी बस्नेछौं', उनले भने ।
स्रोतका अनुसार केसी पक्षधरले संसद्मा दर्ता भएको मनमोहन विधेयक फिर्ता लिनुपर्ने अथवा प्रतिष्ठानलाई सरकारी बनाउनुपर्नेमा अडान लिएका छन् । तर सरकारी पक्षले संसद्मा दर्ता भइसकेको विधेयकबारे बोल्ने क्षेत्राधिकार आफूहरूमा नभएकाले सहमति गर्न नसकिने बताएका छन् ।

डा. केसीले अख्तियार प्रमुखमाथि महाभियोग लगाउनुपर्ने भन्दै अघि सारेको मागमा पनि सरकारले बोल्न नमिल्ने भन्दै छलफलको एजेन्डा बनाएको छैन ।

वार्तामा सरकारका तर्फबाट स्वास्थ्यसचिव डा.उप्रेती, शिक्षा सहसचिव डा.लवदेव अवस्थी, प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारी सहभागी छन् भने केसीका तर्फबाट नेपाल चिकित्सक संघका अध्यक्ष डा. अञ्जनीकुमार झा, डा. रञ्जन सापकोटा, डा. जीवन क्षेत्री, डा. लिजन महर्जन, डा. स्नेहबन्दु रेग्मी र चिकित्साशास्त्रका विद्यार्थी सुमन आचार्य छन् । वार्ता पुनः शनिबार बस्ने बताइएको छ ।

डा.केसीका मागमा चलचित्र कलाकारले ऐक्यबद्धता जनाएका छन् । अनशनस्थल पुगेर अभिनेता निश्चल बस्नेत, अभिनेत्री रेखा थापा, केकी अधिकारी र ऋचा शर्माले ऐक्यबद्धता जनाएका हुन् । डा. केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन कमजोर बन्दै गएको छ । उनका सहयोगी चिकित्सकका अनुसार कमजोर बन्दै गएका डा. केसी बोल्न नसक्ने अवस्थामा पुगेका छन् ।

मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक संसद्बाट फिर्ता गर्नुपर्ने, आगामी १२ वर्षसम्म काठमाडौं उपत्यकामा मेडिकल कलेजको नवीकरण नगर्नेलगायत चिकित्सा शिक्षा क्षेत्रका सुधार र अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि महाभियोग लगाउनुपर्ने माग राख्दै डा.केसी १३ दिनदेखि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा अनशनमा बसेका छन् ।

दीपा दाहालले अन्नपुर्ण पोष्टमा लेखेको खबर ।

प्रतिक्रिया