Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

११ वटा सामुदायिक विद्यालयको स्तरोन्नति गरिने

शनिबार, ०८ साउन २०७३

काठमाडौं ८ साउन / सामुदायिक विद्यालयप्रति अभिभावक र विद्यार्थीको आकर्षण बढाउन ११ वटा नमुना सामुदायिक विद्यालय निर्माण गरिने भएको छ । 

गत सालको भँकम्पबाट प्रभावितमध्येका ११ जिल्लामा नमुना विद्यालय निर्माण गर्ने योजना अगाडि सारिएको छ ।  यसका लागि छनोटमा परेका हरेक विद्यालयलाई छ करोड रुपियाँ उपलब्ध गराइने भएको छ ।
शिक्षा विभागका महानिर्देशक खगराज बरालले नमुना विद्यालय छनोट गर्ने कार्य सम्पन्न भएको जानकारी दिँदै भन्नुभयो, “सामुदायिक विद्यालय अव्यवस्थित बन्दै गएका छन् ।  तिनमा विद्यार्थी सङ्ख्याका साथै गुणस्तर पनि खस्किँदै गएको छ ।  त्यसैले नमुना विद्यालय निर्माण गर्न लागिएको हो । ”

उहाँका अनुसार छनोटमा परेका ती विद्यालयले नयाँ भवन प्राप्त गर्नुका साथै छात्रावास, अत्याधुनिक पुस्तकालय र कम्प्युटर ल्याब, खेलमैदानलगायत सुविधा प्राप्त गर्नेछन् ।
नमुना विद्यालय निर्माण गर्न दोलखाको हनुमन्तेश्वर उमावि, नुवाकोटको त्रिभुवन त्रिशँली उमावि, काभ्रेको प्रभा उमावि, सिन्धुपाल्चोकको बाघभैरव उमावि, मकवानपुरको जनप्रिय उमावि, रसुवाको कालिका हिमालय उमावि, धादिङको नीलकण्ठ उमावि, ओखलढुङ्गाको रुम्जाटार उमावि, गोर्खाको महेन्द्र उमावि, काठमाडौँको जनसेवा उमावि र भक्तपुरको पद्म उमावि छनोटमा परेका छन् ।

कम्तीमा १० रोपनी जग्गा भएको, स्थानीय निकायले सहयोग गर्ने प्रतिबद्धता जनाएको, इन्टरनेट र विद्युत्को पहुँच भएको आधारमा विद्यालय छनोट गरिएको हो । 

शिक्षा मन्त्रालयका उपसचिव दीपक शर्माले आगामी तीन वर्षभित्र नमुना विद्यालय निर्माण भइसक्ने जानकारी दिनुभयो ।  “निर्माण गरिने नमुना विद्यालय सबैका लागि अनुकरणीय हुनेछन्”, उहाँले भन्नुभयो, “छात्रावासको समेत व्यवस्था हुने भएकाले देशका अन्य जिल्लाबाट पनि विद्यार्थी भर्ना भई आवासीय रूपमा अध्ययन गर्न पाउनेछन् । ”

विभागका महानिर्देशक बरालले बँढानीलकण्ठ स्कुलको मोडेलमा पनि नमुना विद्यालय सञ्चालन हुनसक्ने बताउँदै निःशुल्क हुने वा सःशुल्क हुने भन्नेबारेमा निर्णय हुन बाँकी रहेको जानकारी दिनुभयो ।

गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया