Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

बन्दले शैक्षिक क्यालेन्डर प्रभावित

आइतबार, २० भदौ २०७२

काठमाडौं २० भदौ / भूकम्पका कारण लामो समयसम्म बन्द भएका बाग्लुङका विद्यालय फेरि प्रदेश सीमांकनको विरोधका कारण लगातार बन्द हुँदा शैक्षिक क्यालेन्डर प्रभावित हुने भएको छ ।

वर्षमा न्यूनतम दुई सय २० दिन विद्यालय खुल्नैपर्ने हुन्छ । जसमा एक सय ८० दिन नियमित कक्षा सञ्चालन हुनुपर्छ । एक वर्षबराबर तीन सय ६५ दिनमा शनिबारलगायत झन्डै एक सय ३५ दिन सार्वजनिक बिदा पर्छ । सार्वजनिक बिदा र भूकम्पका बेला बन्द भएको समयसमेत गर्दा यो वर्ष एक सय ९५ दिन मात्र विद्यालय खुल्ने देखिन्छ ।

सरकारले तोकेको न्यूनतम विद्यालय खुल्ने दिनभन्दा अहिले झन्डै २५ दिन कम विद्यालय खुल्ने देखिएको छ । भूकम्पका कारण करिब महिना दिन बन्द भएका विद्यालय संघीयताको सीमांकनका क्रममा जिल्लालाई दुई प्रदेशमा विभाजित गरेको भन्दै राजनीतिक दल र नागरिक आमहडतालमा उत्रिएपछि फेरि बन्दको चपेटामा परेका हुन् ।

वर्षे बिदापछि खुलाइएको विद्यालय १५ दिन पनि पढाइ हुन नपाउँदै आन्दोलनका कारण बन्द हुन पुगे । बन्द–हडताल भएपछि बालबालिका दिनभर खेलेरै दिन बिताउने गरेका छन् ।

यो वर्ष प्राकृतिक विपत्तिका साथै बन्द–हडतालका कार्यक्रम थपिएपछि विद्यार्थीको पठन–पाठनमा प्रतिकूल प्रभाव परेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

कार्यालयको तथ्यांकअनुसार गत ४ भदौदेखि लगातार भइरहेको बन्द–हडतालले जिल्लाका पाँच सय ३० सामुदायिक विद्यालयका ८८ हजार सात सय विद्यार्थी प्रभावित भएका छन् । त्यस्तै, ५८ निजी विद्यालयमा अध्ययनरत करिब १५ हजार विद्यार्थी पनि पढ्नबाट वञ्चित भएका छन् ।

आन्दोलनमा नेपाल शिक्षक महासंघमा आबद्ध शिक्षक संघ–संगठनले पनि ऐक्यबद्धता जनाएका छन् । आाफूहरू आन्दोलनमा उत्रिए पनि बन्दको अवधिमा विद्यार्थीमा पर्ने क्षति कम गर्न सार्वजनिक बिदाका दिनमा पठन–पाठन गर्ने व्यवस्था मिलाउने शिक्षक महासंघका केन्द्रीय सदस्य झपेन्द्र क्षत्रीले बताए ।

नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया