Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

भोटेकोसीले बिथोल्यो पढाइ

शुक्रबार, ०७ साउन २०७३

काठमाडौं ७ साउन / भोटेकोसीको बाढीले क्षतिग्रस्त चीन सीमाका पाँचभन्दा बढी विद्यालय सञ्चालनमा कठिनाइ भएको छ। बाढीले कतिपय विद्यालय बगाएको छ। नबगाएका विद्यालयलाई पनि पहिरोले क्षति पुर्‍याएकाले अध्यापन गराउन कठिन भएको अभिभावकले बताएका छन्।

भोटेकासीले कोदारी उच्च मावि र तातोपानी निमाविलाई तल्लो भागबाट लगातार कटान गरिरहेको छ।

‘करिब दुई सय बालबालिका अध्ययन गरिरहेको हाम्रो स्कुलको भवन रहेको स्थानमा अहिले भोटकोसी बगिरहेको छ,’ मानसरोवर बोर्डिङ स्कुलका संस्थापक कुमार श्रेष्ठले भने, ‘स्कुल सञ्चालन गर्न सक्ने अवस्था छैन। पठनपाठन सुचारु महिनौं लाग्ने देखिन्छ। बस्ती नै मानवविहीन अवस्थामा छ। सञ्चालक नै जीउ जोगाउन राजधानी जानुपर्ने अवस्था छ।’

‘पहिले पनि भूकम्पले भत्कायो,’ मानसरोवरकी छात्रा फुर्मा शेर्पाले भनिन्, ‘अहिले बाढीले बगायो। परीक्षा नसकिँदै बाढीले स्कुलै बगायो।’

उनी मात्र होइन, सबै बालकबालिका त्रासमा छन्। विद्यालय बगाएपछि उनीहरू अलमलमा छन्। आर्थिक हैसियत भएका अभिभावकले आफ्ना छोराछोरीलाई बाह्रबिसे र राजधानी लगेर भर्ना गरिदिएका छन्। अरूको के गर्ने भन्ने टुंगो छैन। कोदारी उच्च माविका चार सय विद्यार्थीको अवस्था पनि यस्तै छ। उक्त उमावि भवनलाई भोटेकोसीको बाढीले क्षति पुर्‍याएको छ। विद्यालय रहेको स्थान बग्न थालेको छ। ‘विद्यार्थी त्रासमा छन्,’ कोदारीका प्रधानाध्यापक नइन्द्र श्रेष्ठले भने।

यो उच्च माविका विस्थापित धेरै विद्यार्थी चौकीडाँडामा बसेका छन्। कक्षा १२ की सुमी गुरुङले भनिन्, ‘के गर्ने, अन्योलमा छौं।’

सीमावर्ती क्षेत्रका दस किलोस्थित मनोहर एकेडेमी, बाह्रबिसेस्थित केतु बोर्डिङ स्कुल, प्राइभेट प्याराडाइज लगायतका विद्यालय पनि कहिले सुचारु हुने हुन्, यकिन छैन। सबै विद्यालय नदी किनारमा रहेको र त्यहाँ पढ्ने छात्रछात्रा पनि बाढीपीडित भएकाले अप्ठेरो अवस्था देखिएको सञ्चालकहरूले बताएका छन्।

जिल्ला शिक्षा अधिकारी रुद्रहरि भण्डारीका अनुसार, भौतिक संरचना क्षति भएका विद्यालयको पुनर्निर्माणको काम वर्षात् कम भएपछि मात्र थाल्ने छौँ। ‘नदी किनारका विद्यालयका बालबालिकालाई सकभर सुरक्षित स्थानमा लगेर भए पनि पठनपाठन गराउने छौँ,’ उनले भने।

कान्तिपुरमा अनिश तिवारीले लेखेका छन् ।

प्रतिक्रिया