Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

कामै नगरी विद्यालयलाई साढे ७ करोड निकासा

शुक्रबार, ०७ साउन २०७३

काठमाडौ ७ साउन / जिल्ला शिक्षा कार्यालय जाजरकोटले भौतिक पूर्वाधारतर्फको करिब साढे ७ करोड रुपैंया काम सम्पन्न नगरेरै विद्यालयको खातामा निकासा गरेको खुलासा भएको छ ।
विद्यालयको खातामा निकासा गरे पनि रकम भुक्तानी नदिएर खाता रोक्का गरेको पाइएको छ ।

भौतिक पूर्वाधारको कार्यक्रम परेको ९० मध्ये ५५ वटा विद्यालयले असार मसान्तसम्म काम नसकेपछि बजेट फ्रिज नगराउन यस्तो कदम चालिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । विद्यालय भवनअन्तर्गत ८ कोठे भवन चारवटा विद्यालयले तथा ६ कोठे भवन चारवटा, ४ कोठे सातवटा, ३ कोठे १५ वटा र २ कोठे भवन नौवटा विद्यालयले आव २०७२÷७३ भित्रै काम सक्नुपर्ने सकेका छैनन् । तर, ती सबै विद्यालयको खातामा रकम निकासा गरिएको कार्यालय स्रोतले जनाएको छ ।

जिल्ला शिक्षा कार्यालयका अनुसार क्रममागत ४ कोठे भवनका लागि कुल ३२ लाखमध्ये पहिलो १८ लाखका दरले चारवटा विद्यालयलाई १ करोड २६ लाख रुपैंया खातामा भुक्तानी गरिएको छ । त्यस्तै, ६ कोठे विद्यालय भवनका लागि कूल ४८ लाख रुपैंयामध्ये पहिलो वर्ष १८ लाखका दरले ३ विद्यालयको खातामा ५४ लाख र ८ कोठे भवनका लागि कूल ६० लाख छुट्याइएकामा पहिलो वर्ष १८ लाखका दरले चारवटा विद्यालयमा ७२ लाख रकम निकासा भएको हो । क्रमागत सबै भवनका लागि सुरुमा ५० प्रतिशत पेश्की दिइएको र सो पेश्की फछ्र्योट नहुँदै ५० प्रतिशत भुक्तानी दिइएको हो ।

राजधानी दैनिकमा राजेन्द्र कार्कीले लेखेको खबर

प्रतिक्रिया