Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

विद्यार्थीविहीन बन्दै डिग्री क्याम्पस

शुक्रबार, ०७ साउन २०७३

काठमाडौं ७ साउन /पूर्वाञ्चलको चर्चितमध्येको एक हो - विराटनगरको डिग्री क्याम्पस। यो स्नातकोत्तर क्याम्पसमा दशकयता करिब ४ सय विद्यार्थी पढाउन सरकारले मासिक झन्डै ३७ लाख रुपैयाँ खर्च गर्दै आएको छ। दशक पहिला करिब ३ हजार विद्यार्थी पढाउन पनि सरकारले त्यत्ति नै रकम खर्च गर्दै आएको थियो।

उक्त क्याम्पसमा पढाइ हुने विभिन्न १४ विषयमध्ये अधिकांश विषयमा दशकदेखि एकजना पनि विद्यार्थी भर्ना भएका छैनन्। ती विषय पढाउने प्राध्यापकहरू उसै बेलादेखि हाजिर मात्र गरेर तलब थाप्दै आएका छन्।
क्याम्पसमा विद्यार्थी नै भर्ना नभएपछि प्राध्यापकहरूले कसलाई पढाउने? क्याम्पस प्रमुख मनोज राउतका अनुसार मानविकी तथा सामाजिक शास्त्र संकायका अधिकांश विषयमा एकजना पनि विद्यार्थी भर्ना हुँदैनन्। ‘ती विषयका प्राध्यापक हाजिर मात्र गराएर तलब खुवाउन बाध्य छौं,’ क्याम्पस प्रमुख राउतले भने। क्याम्पसमा ५७ जना प्राध्यापक र त्यत्ति नै मात्रामा कर्मचारी छन्। उनीहरूको तलब र भत्ताको लागि त्रिभुव विश्वविद्यालयले मासिक ३७ लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ।

इतिहास र राजनीतिक शास्त्र विषयमा एकजना पनि विद्यार्थी छैनन्। ती विषय पढाउने ९ जना प्राध्यापक छन्, जो दशकदेखि हाजिर गरेर तलब बुझ्दै आएका छन्। स्रोतका अनुसार नेपाली विषयमा १४ जनामात्र विद्यार्थी पढ्दै छन् भने पढाउने प्राध्यापक ६ जना छन्। गणितमा ११ विद्यार्थी छन् भने प्राध्यापक ६ जना छन्। जतिसुकै लोकप्रिय भने पनि अंग्रेजी विषय पढ्ने विद्यार्थी ६ जनामात्र छन्, जसलाई पढाउन ४ जना प्राध्यापक खटिँदै आएका छन्। त्रिवि नियमावलीअनुसार एकजना प्राध्यापकले मासिक न्यूनतम तलब ३५ हजार रुपैयाँ बुझ्छन्।

क्याम्पसको व्यवस्थापन संकायको पहिलो र दोस्रो वर्षमा करिब ६० जना विद्यार्थी छन्। उनीहरूलाई पढाउन त्रिविले ९ जना प्राध्यापकको व्यवस्था गरेको छ। विज्ञान संकायको बोटनी र भूगर्भशास्त्रमा १८(१८ जना विद्यार्थी छन्। उनीहरूका लागि १० जना प्राध्यापकको व्यवस्था छ। त्यसैगरी समाजशास्त्र पहिलो र दोस्रो वर्षका गरी ३५ र ग्रामीण विकासमा ४० विद्यार्थी छन्।

यो क्याम्पसमा दशक पहिला झन्डै ३ हजार विद्यार्थी भर्ना हुन्थे। त्रिविका अधिकांश विषय विद्यार्थीविहीन भएपछि प्राध्यापकहरू कामविहीन बनेका हुन्। क्याम्पस प्रमुख राउतले भने त्रिविले उनीहरूका लागि अर्को व्यवस्था नगरेकै कारण हाजिर गराउने र तलब खुवाउनको विकल्प नरहेको सुनाए। 

विद्यार्थी थोरै र शिक्षक जनशक्ति धेरै हुन थालेपछि त्रिविले यस डिग्री क्याम्पस महेन्द्र मोरङ क्याम्पसमा गाभ्ने तयारी गरेको जनाइएको छ। स्नातकोत्तर तह मात्र पढाइने यस क्याम्पसलाई स्नातक तह मात्र पढाइने महेन्द्र मोरङमा गाभिँदा सञ्चालन गर्न सहज हुने ठानिएको छ। 

कान्तिपुरमा विनोद भण्डारीले लेखेका छन् ।

प्रतिक्रिया