Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

बन्दको तारो '१० लाख विद्यार्थी'

आइतबार, २० भदौ २०७२

काठमाडौं २० भदौ / छ प्रदेशसहितको सीमांकन सार्वजनिक भएपछि विरोधमा दाङलगायत पश्चिम तराईमा आन्दोलन चर्कियो। थरुहट प्रदेश माग गर्दै साउन २७ देखि चलेको आन्दोलन नथामिँदा दाङका झन्डै अढाई लाख विद्यार्थी मारमा परे।

'थरुहट' सँगै नेपाल आदिवासी जनजाति महासंघ पनि आन्दोलनमा होमियो। 'बन्दले शिक्षाक्षेत्र मारमा छ, हामीले विद्यालय खोल्न अनुरोध गरे पनि बन्द आह्वानकर्ता मानेनन्,' प्याब्सन दाङका अध्यक्ष यादव गिरीले भने।

भदौ ७ गतेसम्म थरुहटको चेतावनीका कारण खुल्न नसकेका विद्यालय ८ गतेदेखि भने प्रशासनको निर्देशनबमोजिम नै बन्द गरिए। भदौ ७ गते कैलालीमा भएको हिंसात्मक घटनाका कारण दंगाग्रस्त घोषणापछि प्रशासनले विद्यालय नखोल्न निर्देशन दिएको थियो।

प्रदेश सीमांकनपछि चर्केको आन्दोलनले दाङलगायत मध्य र सुदूर पश्चिमका मात्र १० लाख विद्यार्थीको पढाइ प्रभावित बनेको पाइएको छ। बन्दले मध्यपश्चिममा मात्रै ६ लाख विद्यार्थी प्रत्यक्ष मारमा परेको मध्यपश्चिम क्षेत्रीय शिक्षा निर्देशनालय, सुर्खेतले जनाएको छ। मध्यपश्चिममा १५ जिल्ला छन्।

'मध्यपश्चिमका सबै जिल्लामा आन्दोलनको असर परे पनि आधा विद्यार्थीको पढाइ प्रत्यक्ष प्रभावित भएको छ,' निर्देशनालय प्रमुख रामप्रसाद उपाध्यायले भने। मध्यपश्चिममा स्कुल तहको विद्यार्थी संख्या ११ लाख ५० हजार ८ सय ६८ छ।

उनले प्रदेश सीमांकनपछिको आन्दोलनले दाङ, सल्यान, रुकुम, बाँके, बर्दिया, सुर्खेत, जाजरकोट, कालिकोट, जुम्ला र मुगुमा पठनपाठन बढी प्रभावित भएको बताए।

सुर्खेतमा पठनपाठन बन्द भएपछि स्कुले बालबालिका आन्दोलनमा होमिएका थिए। 'आन्दोलनमै विद्यार्थी लागेको देखियो,' निर्देशनालय प्रमुख उपाध्यायले भने, 'उनीहरू पढाइ नभएपछि आन्दोलनमा रहर लागेर गएको देखिन्छ।'

आन्दोलनले सुदूरपश्चिमका ९ जिल्लामध्ये कैलाली र कञ्चनपुर बढी प्रभावित भए। 'बन्दले तराईका दुई जिल्लामा मात्रै प्रभाव पर्योि, पहाडी जिल्लामा पठनपाठन निर्बाध चलेको छ,' सुदूरपश्चिम क्षेत्रीय शिक्षा निर्देशनालय दिपायलका प्रमुख वैकुण्ठ सुवेदीले नागरिकसँग भने।

सात प्रदेशको खाका आएपछि पनि कैलाली र कञ्चनपुरमा आन्दोलन मत्थर भएको छैन। नयाँ खाकाले अखण्ड सुदूरपश्चिमको माग सम्बोधन गरे पनि कैलाली र कञ्चनपुरलाई सुदूरपश्चिमबाट अलग गर्नुपर्छ भन्दै आन्दोलन जारी छ।

बन्दले पाठ्यक्रम पूरा गर्नै समस्या निम्तिने शिक्षासँग सरोकार राख्नेहरू बताउँछन्। 'दसैं–तिहारबीचको बिदा कटौती र शनिबारसमेत विद्यालय सञ्चालन गर्नुपर्ने स्थिति आएको छ,' निर्देशनालयका प्रमुख उपाध्यायले भने।

प्रशासनले दाङमा गत मंगलबारदेखि नै विद्यालय खुल्ने जानकारी दिए पनि थरुहट संघर्ष समितिले सहमति नखोल्न चेतावनी दिएको थियो। बिहीबारदेखि मात्र जिल्लाका विद्यालय खुलेका छन्।

रुकुममा ९२ हजार १० जना विद्यार्थी सीमांकन विवादको तारो बने। आधा रुकुमलाई प्रदेश ६ मा गाभिएको विरोधमा साउन २५ देखि आन्दोलन चर्किएको हो। आन्दोलन मत्थर हुँदै जाँदा दुई सातापछि बल्ल विद्यार्थीले पठनपाठन गर्न पाएका छन्।

मध्यपश्चिम क्षेत्रीय शिक्षा निर्देशनालयका अनुसार अखण्ड मध्यपश्चिमसहित त्यसको राजधानी माग्दै गरिएको सुर्खेती आन्दोलनले जिल्लाका १ लाख ८ हजार ७ सय ५८ विद्यार्थीको पठनपाठन प्रभावित बन्यो। प्रादेशिक राजधानीको बलियो आधारसहित ७ प्रदेश सहितको सीमांकन बाहिर आएपछि सुर्खेती आन्दोलन रोकिएको छ। दुई हप्तासम्म रोकिएको पठनपाठन भर्खरै सुरु भएको छ।

बाँकेमा थरुहटसंगै मधेसी मोर्चाको अनिश्चितकालीन बन्द छ। असुरक्षाकै कारण विद्यार्थी ढुक्कले पढ्ने अवस्था छैन। आन्दोलनले यहाँका ९४ हजार १ सय १२ विद्यार्थी प्रत्यक्ष प्रभावित भए। त्यसै गरी बर्दियामा १ लाख ६ हजार ८ सय ९४ जना विद्यार्थी सीमांकन विरोधी आन्दोलनको मारमा परे।

बालबालिकामा मानसिक असर
मध्यपश्चिम क्षेत्रीय शिक्षा निर्देशनालयका प्रमुख उपाध्यायले पठनपाठन ठप्प पारेर चर्किएका अशान्तपूर्ण आन्दोलनले विद्यार्थीमा मनोसामाजिक असर परेको बताए। 'आन्दोलनमा लागेका एक जना विद्यार्थीले सुर्खेतको आन्दोलन देखेपछि आन्दोलन यस्तो पो हुँदोरहेछ है भन्दै मसँग जिज्ञासा राखेको उदाहरण छ,' उनले भने, 'यस्ता आन्दोलनले विद्यार्थीमा मानसिक असर पार्छ।'

जुम्ला, दैलेखलगायत केही जिल्लामा भने स्कुले बालबालिकालाई नै आन्दोलनमा प्रयोग गरिएको थियो। 'बालबालिकाले आन्दोलनको उद्देश्य बुझेका हुँदैनन्, आन्दोलनमा सहभागी गराइयो भने उनीहरूमा विकृत मानसिकता विकास हुने जोखिम रहन्छ,' दाङस्थित महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख तथा मनोविज्ञान विषयका प्राध्यापक लक्ष्मणकुमार बिसीले भने।

नागरिकमा देवेन्द्र बस्नेतले लेखेका छन् ।

प्रतिक्रिया