Edukhabar
शनिबार, १२ असोज २०८१
खबर/फिचर

शिक्षा सचिवको राजिनामा, पेन्सन धेरै पाउने प्रावधान छाडेनन्

विहीबार, ०६ साउन २०७३

काठमाडौं - पुरा अवधि अगावै राजिनामा गर्दा पाउने सेवा सुविधाको लोभ गर्दै शिक्षा सचिव विश्वप्रकाश पण्डितले राजिनामा गरेका छन् । आफ्नो सेवा अवधि भरी तुलनात्मक रुपमा स्वच्छ छवि बनाएका भनिएका सचिव पण्डितले जाँदा जाँदै पेन्सन धेरै पाउने निजामती ऐनमा भएको प्रावधान अनुसार नै राजिनामा गरेका हुन् ।

'सँधै भरी आदर्श र मूल्यको कुरा गरेर नथाक्ने सचिव ज्यूले अवकास हुने बेलामा लोभ गर्नु हुन्न की भन्ने लागेको थियो' शिक्षा मन्त्रालयका एक उच्च कर्मचारीले भने, 'जुन जोगि आए पनि कानै चिरेका भने जस्तो उहाँ पनि त्यस्तै हुनु भो ।'

ऐनमै भएको ब्यवस्थालाई टेकेर राजिनामा भएकोले यसलाई अन्यथा ब्याख्या गर्न नहुने भन्दै केही कर्मचारीले भने उनको राजिनामाको बचाउ पनि गरेका छन् । 'उमेर भर सरकारी सेवामा विताएको मान्छेले जाँदा जाँदै कानून सम्मत पाउने सुविधा लिने कुरालाई लोभ भन्नु हुँदैन' एक कर्मचारीले भने, 'यो राज्यले दिएको सुविधा हो, सुविधा लिनु नाजायज हैन ।'

साउन ११ गते सचिवको ५ बर्षे अवधि पुरा गरी अवकास पाउन लागेका पण्डितले निजामती ऐनमा भएको स्वेच्छिक अवकास योजना अन्र्तगतको ब्यवस्था अनुसार सेवा सुविधा पाउने गरी राजिनामा दिएका हुन् । पुरा अवधि अगावै राजिनामा गर्दा उनले  थप ३ बर्ष सेवा गरे बरावरको पेन्सन सुविधा पाउनेछन् ।  ऐनमा ३० बर्ष सेवा अवधि पुरा गरेको कर्मचारीले उमेर हद अगावै राजिनामा दिदाँ बढि सुविधा पाउने ब्यवस्था छ ।

ऐनमा रहेको स्वेच्छिक अवकास योजना अन्र्तगतको ब्यवस्था अन्र्तगत नै यही हप्ता उनका व्याजी दुई सचिव राष्ट्रिय योजना आयोगका सुरेशमान श्रेष्ठ र लोक सेवा आयोगका माधव रेग्मीले पनि राजिनामा गरिसकेका छन् ।

बिहीबार मन्त्रालयमा आयोजित उनको विदाई कार्यक्रममा शिक्षा मन्त्रालय मातहतका निकायका प्रमुख सहित मन्त्रालयका कर्मचारीको उपस्थिती थियो । विदाई कार्यक्रममा उनले आफूले गरेका काम सबैको सहयोग र साथमा हुन सकेको भन्दै कर्मचारीलाई धन्यवाद दिए । औपचारिक रुपमा माफि नै माग्नु पर्ने गरी केही गल्ति गरेको जस्तो लाग्दैन, सचिव पण्डितको विदाई भाषणलाई उदृत गर्दै एक कर्मचारीले भने, पहेँलो पात झर्ने र नयाँ पात पलाउने प्रकृतीको नियम जस्तै मेरो पनि विदाई भएको हो ।

सचिव पण्डितले आफनो कार्यकालमा के गरे त ? पढ्नुहोस् यो टिप्पणी : सवा दुई वर्षमा के गरे शिक्षा सचिव पण्डितले ?

पण्डितको विदाईसँगै सहसचिव डा. लवदेव अवस्थी मन्त्रालयका निमित्त सचिव भएका छन् । बरिष्ठताका आधारमा सचिवको जिम्मेवारी पाएका अवस्थी भने पण्डितको विदाईमा समेत उपस्थित हुन सकेनन् । चिकित्सा शिक्षाको बेथिती विरुद्ध अनसनरत डा. गोविन्द केसीका माग सम्बोधनका लागि सरकारले बुधबार गठन गरेको वार्ता समितिको बैठकमा उनी ब्यस्त रहे ।

उनी शिक्षा ऐन लागू भएसँगै बनेको परीक्षा बोर्डका सदस्य सचिव समेत हुन् । बोर्डमा अध्यक्ष नियुक्ति नभएकाले उपाध्यक्षको हैसियतमा यस अघि पण्डितले सम्होको कार्यबहाक अध्यक्षको काम पनि उनकै टाउकोमा आएको छ ।

प्रकाशित मिति २०७३ साउन ६ गते

प्रतिक्रिया