Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

राैतहटका सवा लाख विद्यार्थी विद्यालय जानबाट वञ्चित

आइतबार, २० भदौ २०७२

काठमाडौं २० भदौ / मधेसवादी दलहरुले आह्वान गरेको मधेस बन्दको २२ औं दिन बितिसक्दा पनि रौतहटका निजी तथा सामुदायिक विद्यालयहरु सञ्चालनमा आउन सकेको छैनन्।

लामो समयदेखि जारी आन्दोलनको कारण जिल्लाका सामुदायिक तथा निजी विद्यालय खुल्न नसकेको कारण रौतहटका झण्डै एक लाख विद्यार्थी स्कुल जानबाट बञ्चित भएका छन्।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालिन आम हड्तालका कारण गत साउन ३० गतेदेखि नै विद्यालयहरु बन्द छन्।

जिल्लाका ३ सय १३ प्राथमिक, ६८ निम्न माध्यमिक र ६९ वटा माध्यमिक गरी कुल ४ सय ५० वटा विद्यालय सामुदायिक विद्यालयहरु आन्दोलनकारीको डरले बन्द भएको कारण झण्डै १ लाखभन्दा बढी छात्रछात्रा पढाइबाट बञ्चित भएको जिल्ला शिक्षा अधिकारी भरतबाबु सुवेदीले बताएका छन्।

विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिएको भए पनि आन्दोलनकारीले लिखित रुपमा विज्ञप्ती नै जारी गरेर स्कुल बन्द गर्न चेतावनी दिएका छन्। शिक्षकहरु डरले स्कुल बन्द गरेर आउन छाडेपछि पढ्न पाउने मौलिक अधिकारबाट समेत विद्यार्थी बञ्चित भएका जिशिअ सुवेदी बताउँछन्।

लामो समयदेखि जिल्लाका विद्यालयहरु बन्द भएको विषयमा लिखित रुपमा शिक्षा मन्त्रालय तथा शिक्षा विभागमा जानकारी गराइसकेको र सहज वातावरणमा विद्यालय खुलाउनका लागि विभिन्न पेशागत शिक्षक संगठनहरुलाईसमेत पहल गरेर सुचारु गराउन पत्राचार गरिसकेको जिशिअ सुवेदीले बताए।

जिल्लामा कुल १ लाख २६ हजार विद्यार्थी निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत रहेको ग्रामीण विकास केन्द्रका (आरडिसी) अध्यक्ष पारस हुसैनले बताए। जिल्लाका सन्तपुरदेखि उतरी भेगमा मधेस बन्दको प्रभाव नपरे पनि थारु आन्दोलनकारीहरुले शुक्रबारदेखि उत्तरी भेगका विद्यालयहरु पनि बन्द गराएका छन्। पढाइको अभावमा यहाँका विद्यार्थीहरु गोठाला बन्ने अवस्था सिर्जना हुँदै गएकोले राज्यले तत्काल मधेशी र थारुको समस्या राजनीतिक रुपमै समाधान गर्न आग्रह गरेका छन्।

यता निजी तथा अवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का जिल्ला सचिव गौतम श्रेष्ठले गत वैशाख महिनामा विनाशकारी भूकम्पको कारण केही दिन विद्यालय प्रभावित भएको थियो। संचालनमा आएको केही समय बित्न नपाउँदै लगत्तै फेरी विद्यालयहरु अहिले तराईमा जारी रहेको आन्दोलनको कारण बन्द गर्नु निकै दुखदायी पक्ष भएको बताए। जिल्लाका करिब चार दर्जन निजी विद्यालयहरुमा झण्डै १५ हजारभन्दा बढी विद्यार्थीहरुको पठनपाठन अवरुद्ध भएको बताउँछन्।

विद्यालय शान्ति क्षेत्र हो यसमा राजनितिक हस्तक्षेप नगर्ने पटक–पटक प्रतिबद्धता राजनीतिक दलहरुले गरे पनि व्यवहारमा लागू नहुँदा सोको सिधा असर अध्ययनरत स्कूले विद्यार्थीमाथि परिरहेको छ। दोश्रो त्रैमासिक परीक्षा लिने बेलामा २२ सौं दिनसम्म लागातार रुपमा विद्यालय बन्द भएको कारण विषयगत कोर्सहरु कसरी पूरा गर्न सकिने दुःख व्यत्त गर्दै श्रेष्ठले आन्दोलनको मुख्य भूमिका निर्वाह गरिरहेका दलहरु पनि विद्यार्थीहरुको भविष्यप्रति सकारात्मक भावना देखाएर बिहानपख विद्यालय सञ्चालन गर्न वातावरण बनाइ दिनसमेत सविच श्रेष्ठले आग्रह गरेका छन्।

लामो समयदेखी विद्यालय बन्द भएपछि सबैभन्दा बढी असर कक्षा १० का विद्यार्थीहरुलाई परेको छ। गौर स्थित जुद्ध माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत पमुुकुमार झाले चैत महिनामा हुने प्रवेशिका परीक्षालाई मध्यनजर राख्दै तराइबाहेकका जिल्लाहरुमा पढाइ भइरहदाँ पनि यहाँ विद्यालय बन्द हुँ्दा धेरै प्रभाव परेको बताए। पहाडका बिद्यार्थीहरु निरन्तर रुपमा पढ्ने तर यताको विद्यार्थीहरु आन्दोलनको मारमा परेर परीक्षामा सहभागी हुँदा रिजेल्ट नराम्रो हुने चिन्ताले सताएको झाले बताए।

स्नातक तह प्रथम वर्षको परीक्षा असोज ३ गते सञ्चालन हुने भए पनि गत २२ दिनदेखि जारी रहेको मधेस आन्दोलनको कारण निर्धारित समयमा कोर्स सम्पन्न गराउन नसक्दा परीक्षा संचालन गर्न निकै गाह्रो भएको गौरीशंकर यादव क्याम्पस गौरका प्रशासन प्रमुख मोहनकुमार यदवले बताए।

आन्दोलनको विगुल फुक्ने राजनितिक दलहरुले विचार नपुर्याउँदा आफ्नै बालबालिकाहरु पनि विद्यालय जानबाट बंचित भइरहेका छन्। बालबालिकाहरुको भविष्यलाई सपार्नका लागि विद्यालयलाई संचालन गराउन अपरिहार्य रहेको स्थानीय अभिभावकहरुले जोडदार रुपमा माग गरेका छन्।

नागरिकमा मदन ठाकुरले लेखेका छन् ।

प्रतिक्रिया