Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

रकम झिकेर फरार प्रअ पक्राउ

मंगलबार, ०४ साउन २०७३

काठमाडौं ४ साउन / चेक चोरी गरी बैंकबाट रकम निकालेर भागेका प्रधानाध्यापकलाई प्रहरीले रकमसहित नियन्त्रणमा लिएको छ।

रोल्पाको पाखापानीस्थित जनता प्राविका प्रअ लालबहादुर खड्कालाई प्रहरीले तीन दिनअघि नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार उनले आफूसँगै लिबाङस्थित सिद्धार्थ होटलमा बसेका घर्तीगाउँको सिद्धनाथ प्राविका प्रअ कृष्णबहादुर घर्तीको गोजीबाट दुई वटा खाली चेक, नगद रकम १६ हजार ५ सय र नागरिकताको प्रतिलिपि चोरी गरेका थिए। विद्यालयको खाताबाट प्रअ खड्काले त्यही दिन २ लाख ६० हजार रकम भुक्तानी गरी लगेका थिए।

प्रहरीका अनुसार चोरी गरेको चेकमा प्रअ कृष्णबहादुर घर्ती र व्यवस्थापन समिति अध्यक्ष हरिप्रसाद घर्तीमगरको कीर्ते हस्ताक्षर गरेर उनले बैंकबाट रकम निकालेका थिए। शिक्षकको चौमासिक तलब लिन सदरमुकाम आएका दुवै शिक्षक स्थानीय होटलमा एकैसाथ बसेका बेला प्रअ खड्काले चेक चोरी गरेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको हो। प्रहरीले चोरी गरिएको चेकबाट भुक्तानी गरेको र चोरी गरेको दुवै रकम २ लाख ७६ हजार ५ सयसमेत जफत गरेको थियो।

चोरी गरी प्रयोगमा नल्याएको अर्को एउटा चेक भने खड्काले मुखले चपाएर नष्ट गरेको प्रहरीलाई बताएका छन्। डीएसपी रामप्रसाद घर्तीमगरले उनीविरुद्ध चोरी, कीर्तेलगायत मुद्दा दर्ता गरिएको बताए।

कान्तिपुरमा खबर छ

प्रतिक्रिया