Edukhabar
शनिबार, १२ असोज २०८१
खबर/फिचर

शिक्षकलाई ६० दिने मौका, बिवरण बुझाउने की जरिवाना तिर्ने ?

सोमबार, ०३ साउन २०७३

काठमाडौं - हरेक आर्थिक बर्षमा बुझाउनु पर्ने आफ्नो सम्पत्ति बिवरण बुझाउन आलटाल गर्ने शिक्षकको संख्या बर्षेनी बढ्दो छ । आर्थिक बर्ष २०६८/६९ मा ८ हजार १ सय शिक्षकले बिबरण बुझाएका थिएनन् भने गत आर्थिक बर्षमा यो संख्या बढेर ९ हजार ४ सय ८७ पुगेको छ ।

शिक्षकको अटेरीपना तथा नबुझाए पनि के हुन्छ र भन्ने बुझाईले गर्दा संख्या बढ्दै गएको हो । उक्त क्रमलाई कम गर्न यस बर्ष आफूहरु अझ धेरै सकृय हुने किताबखानाका महानिर्देशक शेरबहादुर ढुङ्गाना बताउँछन् । 'हरेक बर्ष गर्नु पर्ने काम हुँदा हुँदै पनि शिक्षकका तर्फबाट केही कमजोरी देखिएका छन्' उनले भने, 'अझै धेरै प्रभाव होस् भनेर शिक्षक महासंघका अध्यक्ष केशव निरौलालाई कितावखानामै बोलाएर बिवरण बुझाउन आग्रह गर्यौं, नेताहरुबाटै काम शुरु भएपछि अरुलाई पनि प्रभाव पर्ला भन्ने हामीले सोचेका छौं ।'

आर्थिक बर्षको पहिलो दिनबाटै बिवरण संकलनको काम शुरु भएको र शिक्षकहरुको संख्या दिन दिनै बढ्दै गएको उनले बताए ।

बिवरण बुझाउँदा खामबन्दी गरेर बुझाउनु पर्ने हुन्छ । यसका लागि शिक्षक आफैं उपस्थित हुन आवश्यक पनि छैन । कितावखानाले तोकेको ढाँचामा खामको बाहिर पट्टी नाम, थर, पद र संकेत नम्बर लेखेर हुलाक मार्फत् वा अरु कोही सहयोगी मार्फत् पठाए पनि हुन्छ ।

समयमा बिवरण नबुझाउने शिक्षकलाई ५ हजार रुपैंया जरिवाना गर्ने प्रावधान छ । तोकिएको पहिलो ६० दिन भित्र बिवरण बुझाउन नसक्ने शिक्षकले त्यसको उचित कारण देखाएर बिवरण भर्न पाउँ भनि निवेदन दिएमा थप ३० दिन उपलब्ध गराउन सक्ने प्रावधान छ । तर यसका लागि सम्बन्धित निकाय वा अधिकारीबाट उपयुक्त कारण खुलाई निवेदन दिनु पर्ने हुन्छ । शिक्षकले भदौ २८ गते भित्र बिवरण बुझाउनु पर्ने हुन्छ ।

शिक्षक किताबखानामा स्थायी शिक्षकको विवरण संकलन हुन्छ । कितावखानासंग अहिले देशभर १ लाख ७ हजार ८ सय ६० शिक्षकको बिवरण छ । अस्थायी तथा करार र अन्य पदका शिक्षकको बिवरण भने सम्बन्धित जिल्ला शिक्षा कार्यालय मार्फत् मन्त्रालयमा पठाईने ब्यवस्था छ । किताव खाना र जिशिकामा जम्मा भएको खाम बन्दी बिवरण राष्ट्रिय सर्तकता केन्द्रमा पठाईन्छ । सार्वजनिक पदमा बहाल हुने ब्यक्तिले आफ्नो आर्थिक पारदर्शिता तथा पेशागत शुसासनका लागि आफूसंग भएको सम्पत्तिको विवरण बुझाउने ब्यवस्था गरिएको हो ।

भ्रष्टाचार निवार ऐन २०५९ को दफा ५० मा हरेक राष्ट्रसेवक कर्मचारीले आफ्नो सम्पत्ति बिवरण बुझाउनु पर्ने ब्यवस्था छ । पदमा बहाल भएको वा हरेक आर्थिक बर्षको ६० दिन भित्र तोकिएको निकायमा सम्पत्ति बिवरण बुझाउनु पर्ने उक्त प्रावधान अनुसार शिक्षकले शिक्षक किताबखानामा आफ्नो बिवरण बुझाउनु पर्ने हुन्छ ।

निजामती कर्मचारीले निजामती किताब खाना, प्रहरीले प्रहरी किताब खाना तथा राजनीतिक नियुक्ति लिने ब्यक्तिले सम्बन्धित मन्त्रालयमा बिवरण बुझाउनु पर्ने ब्यवस्था छ । राष्ट्रपति देखि सामान्य तहमा कार्यरत कर्मचारी सम्मले बुझाउने सम्पत्ति बिवरण अन्त्यमा राष्ट्रिय सर्तकता केन्द्रमा जम्मा गरिन्छ । र, आवश्यक पर्दा केन्द्र र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सम्बद्ध अधिकारीले तहकिकात गर्न सक्ने छन् । अन्यथा उक्त बिवरण गोप्य रहन्छ ।

संविधानले नै ब्यक्तिगत सम्पत्ति राख्ने अधिकार दिएको हुँदा यो विवरणलाई कानूनले अनअतिक्रम्य मान्छ । मन्त्री, प्रधानमन्त्रीहरुले राजनीतिक चर्चाका लागि मात्रै बिवरण सार्वजनिक गर्दै आएका हुन् ।

प्रकाशित मिति २०७३ साउन ३ गते

प्रतिक्रिया