Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

नेताहरुकाे यो कस्तो मौनता !

सोमबार, ०३ साउन २०७३

काठमाडौं ३ साउन / चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै डा. गोविन्द केसी अनशनमा बसेयता सामाजिक सञ्जाल मात्रै होइन, सिंगो समाजमै यसबारे बहस सुरु भएको छ। सार्वजनिक रूपमा केसीको मुद्दालाई समर्थन जनाउँदै स्वस्फुर्त रूपमा नागरिकहरू सडकमा उत्रिएका छन्। सामाजिक सञ्जालमा ‘आई एम विथ डा. केसी’ ह्यासट्यागको लहर चलेको छ।

यिनै केसीको सातौं चरणको अनशनले संसद्मा प्रवेश पाएको थियो। तर, अहिले अवस्था त्यस्तो छैन। औंलामा गन्न सकिने एकाध सांसदबाहेक अरू यस विषयमा मौन छन्। सामाजिक सञ्जालमा अनेकन विषयमा आफ्नो धारणा र विचार राख्ने युवा नेताहरूले यस विषयमा केही लेखिरहेका छैनन्। कतिसम्म भने उनीहरूलाई यसबारे सोधिएको प्रश्नको जवाफ दिने लेठोसमेत उनीहरूले गरेका छैनन्। चिकित्सा क्षेत्र सुधारसम्बन्धी प्रतिवेदन तयार पारेका पूर्वशिक्षाविद केदारभक्त माथेमा डा. केसीले उठाएको माग र मुद्दामाथि समाजले भरोसा गरेका युवा सांसदहरूले देखाएको अनौठो मौनताबाट चकित छन्। ‘यस्तो मौनता त पञ्चायतकालमा पनि देखिएको थिएन,’ उनले भने, ‘सबैजना त्रासमा जस्तो देखिन्छन्।’ पक्षमा पनि बोल्न नसक्ने र विपक्षमा पनि आफ्नो मत सार्वजनिक गर्न नसक्ने अनौठो वातावरण देखिएको माथेमा बताउँछन्।

उनी यस्तो मौनतालाई ‘कल्चर अफ साइलेन्स’का रूपमा व्याख्या गर्छन्। माथेमाले भने, ‘उमेर र अनुभवले साना भए पनि सांसदलाई हामी सम्मान गरेर ‘माननीय’ भन्छौं। किनभने उनीहरू सामाजिक सरोकारको विषयमा बोल्छन्। प्रस्ट विचार राख्छन् भनेर हो। तर यस्तो संकटमा खै त उनीहरू बोलेको?’

एमालेका युवा सांसद रवीन्द्र अधिकारी टिवटरका सक्रिय प्रयोगकर्ता हुन्। उनी थुप्रै सामाजिक विषयमा आफ्नो मत जाहेर गर्छन्। कैयन् छलफलमा सहभागी हुन्छन्। तर डाक्टर केसीले अनशनको विषयमा भने न उनले कुनै मत जाहेर गरेका छन्, न उनीलाई मेन्सन गरेर सोधिएको जिज्ञासाको जवाफ नै दिएका छन्? किन यस्तो मौनता? उनले भने, ‘मलाई गोविन्द केसीको निष्ठामा शंका छैन तर सस्तो लोकप्रियताका लागि म यस विषयमा बोल्दै हिँडदिनँ।’

अधिकारीले केसीले उठाएका मुद्दाहरू एकै दिनको गल्तीको परिणति नभएको बताउँदै भने, ‘यो लामो समयदेखि स्वास्थ्य क्षेत्रमा सरकारले गरेको स्वार्थपूर्ण नीतिको परिणति हो।’ अधिकारीले सबै सांसदले उनीकहाँ गएर नारा लगाउने र जुलुस निकाल्ने काम गर्नु जरुरी नभएको बताए। अधिकारीको तर्क थियो, ‘चलनचल्तीको समर्थन र विरोधको कुनै अर्थ छैन। म यस विषयमा गम्भीरताका साथ काम गरिरहेको छु।’ अधिकारीले केसीको अनशनलाई सत्ताको भर्‍याङ बनाउने प्रयास भइरहेको बताउँदै भने, ‘साँचो अर्थमा म यो विषयलाई पार्टीभित्र र संसदमा उठाउँछु।’

एमालेका अर्का युवा नेता योगेश भट्टराई पनि ट्विटरका सक्रिय प्रयोगकर्ता हुन्। तर, डा. केसीको अनशनको विषयमा न उनले सार्वजनिक वृत्तमा आफ्नो धारणा राखेका छन् न सामाजिक सञ्जालमा नै केही लेखेका छन्। तपाईं किन मौन? उनले भने, ‘यो विषय हेर्ने पार्टीको स्वास्थ्य विभाग छ। त्यसले हेरिरहेको होला। मैले किन बोलिरहनु त?’ भट्टराईले डा. केसीको अनशनबारे विभिन्न मान्छेले आफूलाई प्रश्न सोधिरहेको र ट्विटरमा मेन्सन गरिरहेको पनि बताए। उनले भने, ‘यो अनशन बस्नका निम्ति उपयुक्त समय पनि छैन।’ कुराकानीको अन्तिममा उनले यो विषय सरकारले सुन्नुपर्ने धारणा राख्न भने छुटाएनन्।

अनशन ८ दिनसम्म पुग्दा केही सांसदहरूले भने केसीलाई अनशनस्थलमा पुगेर भेटेका छन्। कांग्रेस सांसदहरू अर्जुननरसिंह केसी, गगन थापा, रामहरि खतिवडा, कमल पंगेनी र ध्यानगोविन्द रञ्जितले केसीलाई भेटेका छन्। कान्तिपुरसँग कुरा गर्दै गगनले भने, ‘तेलको भाउ बढ्दा संसदीय समितिको बैठक बस्यो। तर यति ठूलो सार्वजनिक महत्त्वको विषयमा किन संसद बोल्दैन?’ डा. केसीको अनशनबारे तपाईंकै दलका अन्य संसदले सार्वजनिक रूपमा किन नबोलेका होलान् भन्ने प्रश्नमा उनले भने, ‘यो विषयमा कोही पनि बोलेका छैनन् भन्ने थाहा पाउँदा अचम्ममा परें।’

‘अख्तियारले चिकित्सा क्षेत्रमा हस्तक्षेप गरेको विषय प्रमाणसहित बाहिर आउँदा पनि यो विषयले संसदमा प्रवेश नपाउनु अनौठो कुरा हो,’ उनले भने।

जनकराज सापकोटाले कान्तिपुर दैनिकमा लेखेको खबर



http://bit.ly/29NtBf2

प्रतिक्रिया