Edukhabar
शनिबार, १२ असोज २०८१
विचार / विमर्श

देव शमसेरलाई सम्झदैं डा.केसीका तर्फबाट ओलीलाई चिठी

आइतबार, ०२ साउन २०७३

- एडुखबर डेक्स /
सम्माननीय प्रधानमन्त्री, केपी ओली ज्यु, 
राणा भैकन पनि देव शमसेर सुधारक भनेर चिनिएका प्रधानमन्त्री हुन् । समाजको भलो चिताएर आफ्ना भाई भारदारलाई विश्वास गर्दा ३ महिना भन्दा धेरै टिक्न नसेकेको हाम्रो दुःखद् इतिहास छ ।
देव शमसेरले सुधारको थालनी सुसारे राख्ने प्रथाको अन्त्यबाट गरे । गौरी नामक सुसारेलाई सेवाबाट मुक्ती दिए । तर गौरीले आफ्नो सेवामा चित्त नवुझेर निकालियो भन्ने बुझेर आत्महत्या नै गरेको खबर सुनेपछि देव शमसेर निकै दुःखी भए ।

उनले भने – 'कहिले काँही स्वतन्त्रता पनि यति दुःखदायी बन्न पुग्दो रहेछ । असमानता, अशिक्षा र गरिबीले ग्रस्त समाजमा स्वतन्त्रता पनि मुल्यहीन हुँदो रहेछ । अरुको सेवक भैरहने र दास भएर वाँच्नु मै गर्व गर्नेहरुलाई दासत्व मोचन पनि यातना बन्दो रहेछ ।'

उल्लेखित भनाई र सन्र्दभले वर्तमान नेपाली समाजलाई पनि चित्रण गरेको छ । चेतना र जागरणका लागि शैक्षिक उन्नति नभए सम्म जतिसुकै क्रान्तिकारी बनेर समाज परिवर्तन गर्न खोजे पनि बेकार नै हुँदोरहेछ । यो अनुभव, एक शताब्दी अघिका सुधारक प्रम देश शमसेरको थियो । दुर्भाग्य, यो समाजमा जतिसुकै मानव कल्याणकारी काम गरे पनि आखिर मुक्तकण्डले स्याव्वासी दिने, कस्ले ? बरु उल्टै कालो दाग नै लाग्दो रहेछ ।

सकारात्मक सोच राख्नेहरु नेपालको सत्तामा टिकेर कतिले नै लामो समय काम गर्न पाएको ईतिहास छ र !

प्रधानमन्त्री ज्यु,

दासत्वमा रमाएको समाजमा स्वतन्त्रता असैह्य हुँदोरहेछ, भन्दै देव शमसेरले त्यसपछि थप सुधारका कार्यक्रम गर्दा होशियार बन्न खोजे । तर पनि उनी आफ्नै भाई चन्द्र शमसेरबाट ३ महिना मै सत्ताबाट खेदिनु प¥यो । र्ईतिहास शिक्षा मात्र पनि हैन रहेछ , दर्पण पनि...। नेपाली समाज अहिले पनि दासत्वको चिन्तन र कडीबाट मुक्त छैन ।

देव शमसेरको प्रसंग यति वेला सान्र्दभिक हुन सक्छ । सत्ताबाट बर्हिगमन हुँदै गरेका तपाई प्रधानमन्त्री केपी ओली त्यसरी नैं धुत्र्याई, कपट र छद्मभेषीहरुको शिकार हुन पुग्नु भएको छ । साथै स्वास्थ्य शिक्षाको वेथती विरुद्ध आठौ पटक अनसन बसेका डा. गोविन्द केसीको चिन्तन पनि उनै श्री ३ देव शमसेर कै पथ सुधारक हो ।

तर, यहाँ तपाई शिकार हुँदा केसीका सर्मथक रमाउने । डा. केसीले कष्ट वरण गर्दा तपाईका सर्मथक रमाउने देखियो । तपाईहरुको पथ उनै सुधारक श्री ३ देव शमसेरको जस्तै भए पनि एक अर्काेमा सहानभुती समेत नेदेख्दा, स्वास्थ्य शिक्षामा सुधार देख्न चाहने धेरै नेपालीको मन विक्षिप्त छ । दुबै सुधारकको मत र चिन्तनलाई आत्मसात् गरेर न्याय–निसाफ गरिदिने आँट यतिवेला कित्ता–कित्तामा बिभाजित नेपालीमा देखिएन ।

प्रधानमन्त्री ज्यु,

राणाकालिन चिन्तन र गलफत्तिमा आधारित रहेर निरन्तर चल्दै आएको नेपाली समाजमा राम्रा काम गर्दा सहर्ष र सर्वस्वीकार्य हुने थिती अझै बस्न सकेको छैन । मुलुक लोकमतमा आधारित शासन व्यवस्थाको जगमा उभिए पनि रवैया भने ‘फुटाउ अनि राज गर’ विट्रिश शासक कै सिद्धान्तमा चलेको राणा शासक कै शैली देखियो ।

तपाईले पनि यतिवेला उनै देव शमसेरको गति व्यहोर्नु परेको छ । प्रम देवले भाई भारदारहरुलाई विश्वास गरे जस्तै तपाईले पनि स–गोत्री माओवादीलाई सखा मानेर विश्वास गर्दा घात व्यहोर्नु परेको छ । वाम एकताको प्रसंग फुराएर ९ महिना अघि कुम जोड्न पुगेका देव चरित्रका तपाईको हृदयमा भावना उत्पन्न गर्ने संवेदनाको तन्तु पक्कै पनि मरेको हुनपर्छ । किनकी तपाईको सपना, भावना कल्पनामा सावित हुँदै थियो ।

तत्कालिन नेपालमा जसरी देवसमशेर आफ्नै भाई चन्द्र शमसेरद्धारा अस्वभाविक रुपमा अपदस्थ भएका थिए । त्यसरी नै तपाई पनि विश्वास गरेका भाईबन्धु माओवादीबाट अपदस्थको दोवाटोमा पुग्नु भएको छ । विश्वास गरेको स–गोत्री भनिएका भाइबाट यसरी विश्वास घात भैरहँदा पक्कै पनि तपाईले आत्मबोध गरेको सत्यको महिमा र मुल्य यतिवेला अरु कसले नै गरे होला ? तत्कालिन जहाँनिया शासकका सन्तान देव शमसेरले त गरेका थिए, तपाई त अझै जनताका लागि जेलनेल खाएको नेता हो नी ।

‘परन्तु , प्रत्येक प्रगतीशील सिद्धान्तमा क्रान्ति छ, त्याग, तपस्या र बलिदान छ । कठै यो एक्लो बृहस्पति (देव) विग्¥यो भने नेपाल सप्रिदैन् । त्यसको महान उद्देश्य डुब्छ...।’ भन्ने मोतिराम भट्टको यो भनाईले देव शमसेरलाई ढाडस दिएको थियो । त्यस बखत देव शमसेरले ‘जनतालाई जिवनको महत्व देखाउने बिषयमा म एक्लै छैन । मसित कर्तब्यनिष्ठ मोतिराम पनि छन् । जहाँ एउटा मोतिराम छ, त्यहाँ लाखौ मोतिराम बन्न सक्छन्....।’ भनेका छन् ।

तर तपाईले देवकालिन मोतिराम जस्तै कर्तव्यनिष्ठ डा. केसीलाई चिन्न नसक्नु दुःखद प्रसंग भएको छ । उनको निष्ठा र कर्तव्यपथलाई चिन्न नसकेर बालुवाटारले श्राप गरिहेको आभाष भएको छ । 
सत्य पथमा अविचलित भैरहँदा षड्यन्त्रको शिकार भएर मुलुकको कार्यकारीको कुर्सीमा आसिन प्रमले समाजको भलो चिताएर स्वास्थ्य शिक्षाको सुधारका लागि आठौं पटकको अनशनमा रहेका डा. केसीको निष्ठा र त्यागका बारेमा किन विपरित बुझाई बन्यो होला ?

देवले जसरी मोतिरामको साहरा लिए त्यसरी तपाईले डा. केसीको निष्ठाको साथ लिएर असत् मार्गीहरुलाई सत्यको धावा बोल्नु पर्ने बेला हो । 

प्रधानमन्त्री ज्यु,

यदि तपाईमा अहिंसा, सत्य र निष्ठाको मर्म बुझ्न सक्ने तन्नु कामयाव छ, भने डा. केसीका माग सम्बोधन गर्न नचुक्नुहोस् । जसरी सत्ताबाट बाहिरिदा देव शमसेरले मोतिरामको कर्तब्य निष्ठताको साहारा लिएका थिए । दुर्भाग्य तर तपाईका वरिपरि लाग्ने शाही पार्शवर्ती जस्ता कार्यकर्तालाई यस्ता ज्ञान र ईतिहासका प्रसंगको मतलव नै छैन । उनीहरुलाई कस्ले, सुनाईदिने ? बुझाईदिने ?

देव शमसेरलाई सुधारका काम गर्दा आफ्ना भाई भारभारदारले खिसीट्युरी गरे जस्तै अहिले यही समाजको एउटा बौद्धिक भनिने वर्गले तपाईलाई त्यसरी नै नखिस्याएको हैन । सत्ताको वेदीमा रहनु भएका तपाईका सर्मथकहरुले पनि त्यसरी नै जिवनको आहुतीका तयार निष्ठावान डा.केसीलाई गिज्याई रहेका छन् । ‘खुनका वदला खुन’ भने झैं डा. केसीको अनशनका बदला अनशन भनेर बालुवाटारबाट कुर्लिएको सुनिन थालेको छ । लाग्छ यति वेला तपाईको वरिपरि मोतिरामको अभाव छ । 

प्रधानमन्त्री ज्यु,

डा. केसीका मागमा कहिल्यै सकारात्मक हुन नसक्नु भएका तपाईले उनको चरित्रलाई यतिवेला सत्ताबाट बर्हिगमन भैरहदा कसरी बुझीरहनु भएको छ कुन्नी ? यतिवेला समय फेरिएको माहौलमा केही मिनेट मात्र स्तव्ध भएर सोच्न सके पक्कै पनि डा. केसीको चरित्रलाई अन्तरदृटिले देख्न सक्नु हुन्थ्यो होला । जसरी देव शमसेरले आफ्ना सण्ड–मुण्ड अनुयायीलाई पन्छाएर मोतिरामको चिन्तन दुरदृष्टीको सोच र भावनालाई अंगालेका थिए ।

जसरी तपाई अहिले प्रधानमन्त्रीको पदबाट अपदस्त हुदै हुनुहुन्छ, त्यसरी नै डा. केसीका मागलाई राज्यले पटक–पटक सहमति गरेपनि कार्यन्वयन नगरेर निष्ठालाई अपदस्थ गर्दै आएको छ । यतिवेला तपाई र डा. केसी दुबै सत्य द्रष्टा भएर पनि निरीह सावित हुनुहुन्छ । तत्कालका लागि तपाईले सत्ता हारेको परिणाम आउला । त्यसरी नै तपाईको सत्तासँग डा. केसीको पनि हारे कै परिणाम आउला ।
तर ईतिहासमा दुबै आफ्नो कर्मका अर्जुन सावित हुनसक्ने योद्धा हुन् । यो तथ्य तपाईलाई कसले बुझाईदिने ?

प्रधानमन्त्री ज्यु,

यहाँको विगतले बहादुरीको तक्मा लायक हुदाहुदै भीम मल्ल सेरिनु परेको ईतिहास बोकेको छ । भीमसेन थापा राजभक्त र राष्ट्रभक्त हुदाहुदै हलाल हुनु परेको देश हो । देव शमसेर देश जनताका पक्षमा काम गर्दागर्दै, विश्वासघातबाट सत्ता च्युत हुन परेको देश हो ।

आर्दशवान र निष्ठावान नेता मनमोहन अधिकारीलाई मुलुकको कार्यकारी प्रमुख रहँदा रहँदै अस्पतालको शैयामा आसुले सिरानी भिजाउँदा पनि नछाडिएको देश हो । सन्त नेता कृष्ण प्रसाद भट्टराइ ऐतिहासिक विदेश (फ्रान्स) भ्रमणको मिति तय भैसक्दा विश्वासित मित्रको घातबाट प्रधानमन्त्रीको पदबाट गलहत्तीनु परेको देश यही हो ।

यो अवस्थामा तपाई राष्ट्र र जनताका पक्षमा झर्राे भैरहँदा टिक्न सक्ने संभावना कति नै रहन्थ्यो र ? त्यसैले मुलुकको हित चिताउने तपाईको आँटमा हो, जनताको सर्मथन छ । त्यसरी नै वेथिती बिरुद्ध अनसनमा रहेका डा. केसीलाई पनि जनताको समर्थन छ । त्यसैले तपाई दुबैमा देव शमसेरको चिन्तन र विचार समान छ । तर पनि तपाईहरुलाई कस्ले नदीका दुई किनारा बनाइरहेको छ ? मै खाउँ, मै लाउँ भन्ने सोच भएका द्रब्य पिशाचहरुले । 

प्रधानमन्त्री ज्यु,

सत्ताबाट बर्हिगमन हुदाहुदैं वेथिती विरुद्ध अनशनमा रहेका डा. केसीको मागमा सम्बोधन गर्ने कार्यकारी अधिकार आजका मितिसम्म तपाईमा निहीत छ । त्यो आँट देखाउनु होस् । डा. केसीको अनशन वेथिती बिरुद्ध हो । तपाईको पार्टी र सत्ता विरुद्ध हैन ।

उनको मागको सम्बोधन गर्न तपाईले देखाउनु भयो भने मुलुकको एउटा तप्काले हैन, पुस्ताले तपाईको जय जयकार गर्न बाध्य हुनेछ । शुक्रबार माईतीघर मण्डलाबाट निस्किएको युवा जमातको जुलुस र शनिवार डा. केसीको पक्षमा निस्किएको जुलुसको आवाज एउटै बन्न पुग्ने छ ।

पक्कै पनि,  आउ –ओली–आउ, सत्य निष्ठाका मनन् गर्दैं देश बचाउ, भन्नेछ ।

सत्य तत्कालका लागि तितो हुन सक्छ । सत्ताका छद्मभेषीहरु आफ्नै स–गोत्रीहरुको विश्वासघातको जुन सामना तपाईले गरिरहनु भएको छ । तपाईले नेतृत्व गरिहनुको पार्टीमा पनि त्यस्ता जमात छन् । तिनै जमातको द्रव्यमोही सोचका कारण देश र जनताका नाममा डा. केसीले जीवन मरणको सामना गरिरहेका छन् ।

प्रधानमन्त्री ज्युु,

निष्ठावान डा. केसीको मागलाई सम्बोधन गर्दा गुट्को संख्या घट्ला तर कद् घट्दैन । बरु अझै बढ्ने छ । सत्ताबाट अपदस्थ भएका जहानिया राणा शासकहरुको सुची मध्येका एक प्रधानमन्त्री देव आज पनि सुधारकका नाममा स्मरण योग्य छन् । मनमोहन र किसुनजी आज पनि निष्ठाका सम्मानित नाम भएका छन् । त्यसरी नै तपाई पनि ईतिहासमा सत्यवान र निष्ठापे्रमी प्रमका रुपमा बाँचिरहनु हुनेछ ।

यस अवधीको ९ महिने कार्यकालले जसरी तपाईको शिर उच्च भएको छ । त्यसरी नै ईतिहासमा स्वास्थ शिक्षाको सहज उपलब्धताबाट दीर्घजीवी हुने नेपालीले डा. केसीलाई नभएर तपाईलाई नै स्मरण गर्नेछन् । डा. केसीको माग सम्बोधन गर्दा ईतिहासले तपाईलाई धिक्कार्ने छैन । जय,जय नै गर्ने छ ।

सत्ताको लडाईमा तपाईलाई हराउनेहरु पनि जाँदा जाँदै बाटो ‘क्रस’ हुदा तपाईसँग नजर नै जुध्यो भने पक्कै नतमस्तक हुनेछन् ।

डा. केसीको मागलाई सम्बोधन गरेर सत्यलाई आत्मसात् गर्ने साहस तपाईले देखाउनु भयो भने ईतिहासमा तपाई सत्यबादी प्रमका रुपमा दर्ज हुनु हुनेछ । त्यसैले अनुरोध छ, डा. केसीको निष्ठा र अवस्थालाई मनन् गरेर मागलाई सम्बोधन गर्न समय मै ध्यान दिनुहोस् । सत्य र न्यायको कसीमा प्रम केपी ओली र डा.केसी दुबै अब्वल सावित हुनु हुनेछ ।

प्रकाशित मिति २०७३ साउन २ गते

प्रतिक्रिया