Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

डा.केसीको समर्थनमा हजारौं सडकमा

आइतबार, ०२ साउन २०७३

काठमाडौं २ साउन / अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाभियोग लगाउनुपर्नेलगायत चिकित्सा शिक्षा सुधारसम्बन्धी विभिन्न माग राखेर सात दिनदेखि आमरण अनशनरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको सैमर्थनमा सर्वसाधारण तथा विद्यार्थी सडकमा ओर्लिएका छन्।

डा. केसीको अनशनमा ऐक्यबद्धता अभियानको आह्वानमा शनिबार हजारौं सर्वसाधारण सडकमा ओर्लिए। अनशनको सातौं दिनसम्म महाभियोगका लागि संसद् र सरकारले कुनै पहल नगरेपछि दबाबका लागि अभियानले शनिबार बिहान र्‍याली निकालेको हो। बिहान ११ बजे माइतीघरमण्डलामा विभिन्न प्लेकार्ड, ब्यानर बोकेर उपस्थित डाक्टर, नर्स र चिकित्साशास्त्रका विद्यार्थीलाई ठूलो संख्याका सर्वसाधारणले साथ दिए।
माइतीघरमण्डलाबाट सुरु भएको र्‍याली बानेश्वर पुगेर टुंगिएको थियो। माइतीघर र बानेश्वर दुवै क्षेत्रमा प्रहरीले तार लगाएर रोकेको थियो। चिकित्सा शिक्षामा भएका विकृतिविरुद्ध लामो समयदेखि लड्दै आएका केसीले उठाएका विषयलाई युवा सहभागीले आकर्षक नारा र प्लेकार्ड बनाएर प्रदर्शन गरेका थिए।

डा. केसीले यसपटक पत्रकार सम्मेलनमार्फत अनशन घोषणा गरेलगत्तै अख्तियारले विज्ञप्ति जारी गरेर उनलाई पागल संज्ञा दिँदै उपचारका लागि सरकारसँग माग राखेको थियो। अख्तियारको यो कदमपछि डा. केसीका समर्थकले सामाजिक सञ्जालमा डा. केसी पागल भए म पनि पागल भन्ने अभियानै थालेका थिए। शनिबारको प्रदर्शनमा सहभागी युवा पनि अख्तियारविरुद्ध बढी आक्रामक देखिन्थे। डा. केसी पागल भए, हामी सबै पागल भन्ने नारासहित अधिकांश सहभागीले अख्तियारको घडीमा लोकमानको ब्याट्री लेखिएको प्ले कार्ड बोकेका थिए।

र्‍यालीमा सहभागी हुन आएका विवेकशील नेपाली अभियानका सदस्यले भ्रष्टाचार अन्त्य गर्ने कि भ्रष्टाचारविरुद्ध बोल्नेलाई अन्त्य गर्ने ?, भ्रष्ट्र माफियाहरु होसियार लगायत लेखिएका ब्यानर बोकेका थिए। अनेरास्वावियु क्रान्तिकारी, अन्तरतम परिषद्जस्ता संस्थाले संस्थागत व्यानरसहित र्‍यालीमा सहभागिता जनाएका थिए।

आइओएममा विभिन्न तहमा अध्ययनरत चिकित्सक एवं चिकित्सा शिक्षाका विद्यार्थीले भने केसीको अनशन, माफियालाई टेन्सन, माफियाको मिसन, सिटामोलमा कमिसन, चिकित्सा शिक्षामा सुधार सम्पूर्ण नेपालीको स्वास्थ्य आधार जस्ता नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए। उनीहरुले स्वास्थ्य सेवा र चिकित्सा शिक्षासम्म रहेको पहुँचको खाडल झल्किने विभिन्न तथ्यसहितका प्लेकार्ड बोकेका थिए।

प्रदर्शनमा सहभागीले डा. केसीको स्केचसहितको मास्कलगायतका साथै अनुहारमा आई एम विथ डा. केसी समेत लेखेका थिए। उनीहरुले सडकमै बिरामी जाँचेर सांकेतिक रुपमा केसीका पक्षमा आवाज उचाले।
प्रदर्शनकारीलाई रोक्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। र्‍याली तयारीमा सहभागीका अनुसार कार्यक्रममा सहभागी नहुन वरिष्ठ चिकित्सकहरुलाई चेतावनी दिइएको थियो। अनशनमा नसघाउन सुरुमै जिल्ला प्रशासन कार्यालयबाट पत्राचार गरिएकामा आइओएम प्रशासनले समेत सोही चेतावनीसहित सूचना जारी गरेको थियो। त्यसयता टिचिङका चिकित्सक डा. केसीलाई उपचार गर्नसमेत डराइरहेका छन्। डा. केसीलाई सघाउनेलाई छानीछानी धम्की दिने काम भइरहेको चिकित्सक बताउँछन्।

थुप्रै वरिष्ठ चिकित्सकले आफूहरुलाई र्‍यालीमा आउन मन भए पनि कारबाहीको धम्की आएकाले आउन नसक्ने बताएका थिए। र्‍यालीलाई सम्बोधनकर्ताले समेत त्यसको संकेत गरेका थिए।
उपस्थित समुदायलाई सम्बोधन गर्दै वरिष्ठ चिकित्सक डा. सरोज धितालले डा. केसीलाई सम्यक् महाअभियन्ताको संज्ञा दिँदै सो बाटोमा ऐक्यबद्धताका लागि अझै बलियोसँग एकअर्कालाई अँगालो मारे अगाडि बढ्न आह्वान गरे। धितालले डा. केसीले अस्पतालमा ओछ्यानसमेत नपाउँदा पनि प्रिया युवा मित्रहरुको सहयोगमा थोत्रो ओछ्यानमा सुतेर अभियान जारी राखेको बताए। उनले भने, मेरा मित्र गोविन्द केसी आज अनशन गरिरहनुभएको छ, हामीले आवाज उठाउँदा आतंककारी भनिरहेका छन्, जेलमा पुर्‍याउँछौं भनिरहेका छन् । डा. धितालले थपे, त्यति बुद्धि पुर्‍याए भने,यो देशको भलो हुन्छ, हेरिराख कति हजारलाई पुर्‍याउँछौ ? उनले डा. केसीको अभियानलाई सानो झिल्कोको संज्ञा दिँदै सानो झिल्को ठूलो जंगल डढाउनेजस्तै गरी यो अभियान फैलिने चेतावनीसमेत दिए। कुनै दिन यो क्रिटिकल मास विस्फोट हुनेछ, त्यो विस्फोटले कसकसलाई कहाँ पुर्‍याउनेछ, उनले भने, सानो जमात भए पनि रेडियो एक्टिभ विकीरणजस्तै फैलिनेछ।

उनले अभियानले क्रिटिकल मासलाई छोएपछि जन्मिने फोर्सले नयाँ नेपाल जन्माउने पनि बताए। यो विस्फोटका लागि कुनै बन्दुक बोक्न पर्दैन, मेरा प्रिय मित्रले सम्यक् महाअभियानको बाटो देखाइरहेका छन्।
डा. केसीका सहयोगी डा. जीवन क्षत्रीले देशको शिक्षा र स्वास्थ्यमा विशुद्ध व्यापारीकरण मौलाइरहेको बताए। उनले अहिले चिकित्सा शिक्षामा विकृतिविरुद्ध गुणस्तर कायम गर्ने बाटोमा रहेको समेत बताए। हामीले यो विकृति–विसंगतिविरुद्ध र चिकित्सा शिक्षामा गुणस्तर कायम गर्न यो बाटो  लिएका हौं, क्षत्रीले  भने,यो अभियान गुणस्तरीय शिक्षा पैसा भएकाले मात्रै लिन पाउने भन्ने प्रश्नमा आधारित हो।
क्षत्रीले राज्यको संवैधानिक निकायमा बसेर अख्तियार प्रमुख आयुक्त लोकमानसिंह कार्की र आयुक्त राजनारायण पाठकले संस्थागत सुधारलाई रोकिरहेको भन्दै अहिले अचाक्ली भएपछि प्रमाण जुटाएर आन्दोलन छेडिएको बताए।

दीपक दाहालले नागरिक दैनिकमा लेखेको खबर

प्रतिक्रिया