Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

जागिर त्रिविमा, काम आफ्नै कलेज र स्कुलमा

आइतबार, ०२ साउन २०७३

काठमाडौं २ साउन / आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष लक्ष्यबहादुर केसी दुवै त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक हुन् । त्रिविअन्तर्गत त्रिचन्द्र क्याम्पसमा अध्यापनरत सिलवाल २७ वर्षदेखि र केसी २४ वर्षदेखि त्रिवि सेवामा छन् । तर, सिलवालले त्रिविको जागिरका अलावा कलेज, हिसान र राजनीतिक नियुक्तिका पदहरू धानिरहेका छन् । त्यसैगरी केसी वर्षौंदेखि आफ्नै निजी विद्यालयमा व्यस्त छन् ।

सिलवाल र केसी उदाहरण मात्र हुन्, जो त्रिविमा हाजिर मात्र गरी अन्यत्र जागिर पकाइरहेका छन् । त्रिविमा अध्यापनरत उनीहरूजस्ता हजारभन्दा बढी उपप्राध्यापक र सहप्राध्यापक जागिर त्रिविमा खाएर कामचाहिँ निजी कलेज र स्कुलमा गरिरहेका छन् । कतिले त आफ्नै कलेज र स्कुल चलाइरहेका छन् । यो क्रम वर्षौंदेखि चलिरहेको छ । उनीहरू आफूअनुकूल समय गुजार्दै प्राध्यापकमा बढुवा हुने मौका कुरिरहेका छन् ।

‘प्राज्ञिक कार्य गर्न त्रिविबाट पूर्वस्वीकृति लिन जरुरी छैन, आफ्नो सिफ्टमा पढाए पुग्छ,’ सिलवालले भने । आफ्ना शिक्षकलाई अन्यत्र पढाउन नदिँदा त्रिविलाई नै घाटा लाग्ने तर्क गर्दै उनले थपे, ‘प्राध्यापक निजामतीको सचिवस्तर र सहप्राध्यापक सहसचिव स्तरको रहन्छ, तर त्रिविले बस्ने कुर्सी दिन सक्दैन । खोजी अनुसन्धान गराउन पनि सक्दैन ।×’ नियमन गरे प्राध्यापकको स्तरीकरण गर्ने निकाय त्रिवि नै भएकाले सम्बन्धन दिन बाधा पर्ने उनको भनाइ छ ।
सिलवालजस्तै केसी पनि सिर्जनात्मक क्षमता भएका शिक्षकले त्रिवि र अन्यत्र पनि काम गर्न सक्ने तर्क गर्छन् । ‘अन्त सेवा गर्दा त्रिविले आपत्ति मान्नु हुँदैन,’ क्षमतालाई रोक्नु व्यावहारिक नहुने उल्लेख गर्दै उनले भने, ‘होइन भने त्रिविले प्राध्यापकलाई अनुसन्धानका काम दिन सक्नुपर्छ ।’

विप्लव माओवादीका क्रान्तिकारी विद्यार्थीले त्रिविको जागिर खाएर आफ्नो निजी शिक्षण संस्था चलाउने ‘मालिकहरू’ लाई कारबाही गर्न दबाब दिएपछि त्रिविलाई कारबाही चलाउनुपर्ने बाध्यता आइलागेको छ । क्रान्तिकारी विद्यार्थीले यस विषयमा खोज गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको समेत ध्यानाकर्षण भएको छ । त्यसपछि त्रिवि अनुगमन समितिले केहीलाई स्पष्टीकरण सोधेको जनाएको छ । केहीले भने आफैंले राजीनामा दिन थालेका छन् ।
त्रिविमा ७ हजार ५ सय ९२ शिक्षण दरबन्दी छ । जसमा १ हजार ५० भन्दा बढी प्राध्यापक छन् । त्रिवि अनुगमन समितिले यसअघि १५ सय जतिले अन्यत्र काम गर्न पूर्वस्वीकृति लिएको जनाएको छ । त्रिविको नियमअनुसार एउटा विश्वविद्यालय वा क्याम्पसमा काम गरेकाले अन्य विश्वविद्यालय वा निकायमा पूर्णकालीन काम गर्न पाउँदैनन् । तर, क्रान्तिकारीको उजुरीपछि राजधानीभित्रै दोहोरो सुविधा लिने त्रिविका ६० भन्दा बढी प्राध्यापक फेला परेको स्रोतले जनाएको छ ।

‘त्रिवि नियमावली र कार्य व्यवस्थापन प्रणालीमा दोहोरो सुविधा लिन पाउने व्यवस्था छैन,’ अनुगमन समितिका सदस्यसचिव विष्णु खनालले भने, ‘नियमअनुसार जे छ, त्यसैअनुसार कार्यान्वयन गर्नेछौं ।’
त्रिवि उपकुलपति तीर्थराज खनियाँले विद्यार्थीले त्रिविकै नियमभित्रको व्यवस्थालाई नियमन गर्न सुझाएको बताए । ‘त्रिविमा तीनखाले शिक्षक फेला परेका छन् । पूर्वस्वीकृति नलिई लामो समय बिदा बसेका, पीएचडी शोध अध्ययन बिदा लिएका तर अध्ययन पूरा नगरेका र बिदा नलिई बेखबर बसेकाहरू । हामीले यस्ता प्राध्यापक, शिक्षकहरूलाई तपाईंलाई कारबाही किन नगर्ने भनेर सोधेका छौं,’ खनियाँले भने । ‘उपकुलपतिलाई त्रिविमा जागिर खाएर बाहिर काम गर्नेहरूको नामसहित ज्ञापनपत्र बुझाएका छौं,’ क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंहले भने, ‘कारबाही नभएसम्म हामी चुप लाग्दैनौं ।’ उनले दोहोरो सुविधा लिनेलाई प्रतिबन्ध लगाउनुपर्ने पनि बताए ।

कान्तिपुर दैनिकमा गणेश राईले लेखेको खबर

प्रतिक्रिया