Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

डा. केसीको कठिन बाटो

शनिबार, ०१ साउन २०७३

काठमाडौं १ श्रावण / डा. गोविन्द केसीको नाम फेरि चर्चाको शिखरमा छ । मेडिकल शिक्षाका बेथितिविरुद्ध सत्याग्रहमा उत्रिएका उनी आठौंपटक अनशन बसिरहेका छन् । उनको यो बारबारको अनशनलाई लिएर समर्थन गर्ने मानिसको संख्या ठूलो छ भने कोही यी बूढालाई के भएको हो, कुनै काम छैन ? जहिले पनि अनशन बस्ने ?भन्ने पनि छन् ।

उनलाई इमानदार, निष्कलंक, जनसेवक सत्याग्रही भन्नेको संख्या अत्यधिक छ । स्वास्थ्य क्षेत्रमा अख्तियार प्रमुख लोकमानसिंह कार्कीले बढी रुचि देखाउँदै बढाएको हस्तक्षेपविरुद्ध महाअभियोगको माग उनको छ । सँगै अख्तियारले उनको मानसिक उपचार गर्न सरकारलाई आग्रह गरेपछि फरकखाले टीकाटिप्पणीले पनि समाज तताएको छ । सानो वृत्त झिनो स्वरमा कसैको स्वार्थका निम्ति अनशन बसेको टिप्पणी पनि गर्दैछ ।
तर, समाजमा आफ्नाबारे हुने यस्ता कुरा र होहल्लाबारे यी अनशनकारीलाई केही मतलब छैन । पछिल्लो पाँच वर्षदेखि गुणस्तरीय स्वास्थ्य शिक्षा र सेवाको सहज पहुँचको माग गर्दै अनशन बसेका उनी न त यस्ता टिप्पणीबाट विचलित छन् न त आत्तिएका नै । मधेस आन्दोलन चर्किएका कारण आफैंले स्थगित गरेको सातौं अनशनबाहेक अरू सबै उनका अनशन सरकारसँग सम्झौतामा टुंगिएका हुन् । तर, ती सम्झौता लागू भने भएका छैनन् ।
उनका अनशन ४ देखि १४ दिनसम्म चलेका छन् । विगतका ७ अनशनमा गरी उनले ६२ दिन उपवासमा बिताएका छन् । उनका सबै अनशनका बेला जुनसुकै पार्टी सरकारमा भए पनि उनीसँग सम्झौता गर्न बाध्य भएका छन् । यसबाट राजनीतिक चलखेलमा अल्झिएको मुलुकमा सत्याग्रहको गान्धीवादी अहिंसात्मक दर्शनले परिवर्तन सम्भव रहेको देखिन्छ । उनका एजेन्डा र नैतिक बलका अगाडि आफ्नो इज्जत जोगाउन नसक्ने भएपछि सत्ताधारीहरू उनको सिरानमा वार्तानिम्ति पुग्ने गरेका छन् ।

तर, उनीसँग सम्झौता गरिसकेपछि भने उनका मागहरू कार्यान्वयन भने या त नेताहरू हच्किने या त बिर्सिने गरेका छन् । आफैंलाई मत दिने मतदातालाई बिर्सिने नेताहरूले डा. केसीसँग गरिएका सम्झौता बिर्सिनु नौलो कुरा होइन । तर, यी जिद्दी डाक्टरले बिसिर्ंदैनन् । उनी ती माग लिएर फेरि मैदानमा उत्रिन्छन् ।
राजनीतिक दल जनताप्रति जिम्मेवार र जवाफदेही भएको भए र भ्रष्ट व्यक्ति, निकाय, मनोवृत्तिको पक्षपोषण नगरेको भए मजस्तो डाक्टरले किन आन्दोलन गर्नुपथ्र्यो ? उनी भन्छन् । सरकारले सातपटक सकारेको कुरा पूरा गरेको भए आठौंपटक किन अनशन बस्नुपथ्र्यो र ? उनी प्रश्न गर्छन् ।

हरेक पटक अनशन बस्दा उनले भन्ने गरेका छन्,सत्यको अवश्य जित हुन्छ । शक्ति भनेको जनता हो । जनताभन्दा ठूलो कोही पनि छैन, केही पनि छैन । मेरो आन्दोलन जनताका लागि हो । अप्रत्याशित, अकल्पनीय र जनपक्षीय सकारात्मक परिवर्तनकारी निर्णय गर्न सक्ने नेपाली जनतामा मलाई विश्वास छ ।

डा. केसीको बुझाइ छ, बेथिति देखेर पनि मौन रहनु भनेको त्यसलाई समर्थन गर्नु हो । अहिलेको बेथितिलाई रोकिएन भने सभ्य समाज निर्माण हुन सक्दैन । नयाँ पुस्ताले लोकतान्त्रिक संस्कार पाउन सक्दैन । हामी सबै मौन रहँदा नयाँ पुस्ताले बेथितिलाई स्वाभाविक ठानेर हिँड्ने खतरा हुन्छ । सत्ता जनताका लागि हो, सत्तामा पुग्नेहरू जनताका सेवक हुन् भन्ने मान्यता स्थापित हुँदैन । यसका लागि हामीले प्रयास गर्नुपर्छ ।
डा. केसी आफ्ना यी मान्यताबाट प्रेरित भएर आठौंपटक आफ्नो स्वास्थ्यलाई दाउमा राख्न तयार भएका हुन् । उनी आफू कसैको सरकार ढाल्न वा कसैलाई सत्तामा पुर्‍याउन आन्दोलनमा नगएको बताउँदै भन्छन्, तर, यहाँ त कोही कुर्सी छोड्नै नसक्ने, कोही सत्तामा नपुगी नछोड्ने भन्ने होड छ  उनी सत्ताको चक्करले गर्दा देशका समस्याहरू समाधान गर्ने कुरा ओझेल परेको बताउँछन् ।

एक्लै भए पनि जनहितका लागि बेथिति र भ्रष्टाचारविरुद्ध सदैव लडिरहन्छु, उनी भन्छन्,यो लडाइँ व्यक्तिभन्दा पनि बेथितिविरुद्घ हो ।

कान्तिपुरमा अतुल मिश्रले लेखेको खबर

प्रतिक्रिया