Edukhabar
शनिबार, १२ असोज २०८१
गतिविधि

ग्रेडिङ्को अलमल : शिक्षकलाई जानकारी गराउन नसक्दा समस्या

शुक्रबार, ३१ असार २०७३

भक्तपुर - शिक्षकलाई समयमै जानकारी गराउन नसक्दा एसएलसी लेटर ग्रेडिङ्का बारेमा अलमल भएको सरोकारवालाले बताएका छन् । एसएलसी नतिजा सार्वजनिक भएको एक महिना वितिसक्दा पनि अभिभावक र विद्यार्थीमा अलमल कायमै रहनु दु:ख लाग्दो भएको भन्दै उनीहरुले शिक्षा मन्त्रालयको आलोचना समेत गरे ।

पाठ्यक्रम विकास केन्द्रले गरेको विद्यालय शिक्षामा अक्षराङ्कन पद्धती कार्यान्वयनको समिक्षा र आगामी दिशा विषयक कार्यशालामा सहभागिले शिक्षकलाई समयमै जानकारी गराउन सकेको भए धेरै अन्यौल उतिखेरै सकिने भन्दै अझै पनि त्यस तर्फ ध्यान दिनु पर्ने बताए । अधिकाँश शिक्षकले विद्यार्थीको समग्र सिकाइ भन्दा पनि उनीहरुले पाएकै अंकलाई ग्रेडमा रुपान्तरण गर्ने गरेको भन्दै खास अक्षरांकनको मर्म लागू हुन नसकेको कार्यक्रममा सहभागिहरुले बताए ।

प्रा. बालकृष्ण लुईटेलले शिक्षकको तहमा स्पष्ट पार्नासाथ सबै अलमल सहज हुने दावि गर्दै विद्यालयको कक्षा कोठाबाट अभिभावकको तह सम्म स्पष्ट पार्ने काम शिक्षकले नै गर्ने र यसका लागि मन्त्रालयले सहजीकरण गर्नु पर्ने बताए । शिक्षक महासंघका महासचिव तीलक कुँवरले अधिकाँश शिक्षकले अझै पनि बुझ्न नसक्नुमा शिक्षा मन्त्रालयको कार्यान्वयन पक्ष फितलो भएको भन्दै अझै पनि शिक्षकहरुलाई बुझाउने तिर कुनै योजना निर्माण नगर्नु लाजमर्दो भएको बताए । शिक्षक संगठनका महासचिव लक्ष्मण शर्माले नतिजा आउनु अघिल्लो दिन सम्म पनि नीतिगत निर्णय परिवर्तन गरिरहनुबाटै यस विषयमा शिक्षा मन्त्रालय आफैं गम्भि रनभएको भन्दै आलोचना गरे ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै प्रा.डा. लेखनाथ शर्माले काठमाडौंका शिक्षकले दिने ए ग्रेड र तराई तथा पहाडका शिक्षकले दिने ए ग्रेडका बारेमा गणना गर्ने विधि के हुने भन्ने  बारेको बुझाईमा एकरुपताको खाँचो औल्याए ।

कार्यपत्र प्रस्तुत गर्दै शिक्षाविद् डा. टंकनाथ शर्माले विद्यार्थीको सिकाइ कमजोर भयो भने उनीहरुलाई कसरी राम्रो पढाउने भन्ने कुरामा शिक्षकलाई ध्यान केन्द्रित गराउने हो भने धेरै समस्या कक्षा कोठाबाटै समाधान हुने बताए । शिक्षाविद् विष्णु कार्कीले ग्रेडिङ्का बारेमा अन्र्तराष्ट्रिय प्रचलन र अभ्यासका बारेमा जानकारी दिदैं विद्यार्थी अभिभावक शिक्षक सबैलाई यसबारेमा क्षमता विकास गर्न मन्त्रालयले ध्यान दिनु पर्ने बताए ।

शिक्षा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितले ग्रेडिङ् लहडमा नभई सोचे बुझेरै लागू गरिएकोले यसमा भएका कमी कमजोरीलाई सुधार गर्दै अघि बढाउने प्रतिवद्धता जनाए । लागू भएपछि नसोचेका विषयबस्तु आएका छन्, यस बारेमा केन्द्र मार्फत् मन्त्रालयले आत्मसात गर्दै अघि बढ्ने बताए ।

केन्द्रका कार्यकारी निर्देशक बाबुराम पौडेलले विज्ञहरुका विचार सुन्ने, सिक्ने र भएका कमी कमजोरी सुधार्ने हिसावमा कार्यशाला गरेको बताउँदै लागू भईसकेको प्रणाली प्रभावकारी बनाउन सम्बद्ध सबैबाट सहयोगको अपेक्षा गरे ।

कार्यक्रममा अभिभावक, विद्यार्थी संगठनका प्रतिनिधि, शिक्षा मन्त्रालयका कर्मचारी लगायतको उपस्थिती थियो ।

प्रकाशित मिति २०७३ असार ३१ गते 

प्रतिक्रिया