Edukhabar
शनिबार, १२ असोज २०८१
खबर/फिचर

प्राविधिक शिक्षाबाट बञ्चित भए विद्यार्थी

शुक्रबार, ३१ असार २०७३

- हरिसुन्दर छुकां / काठमाडौं–हिमालपारीको जिल्ला मनाङका विद्यार्थी प्राविधिक शिक्षाबाट बञ्चित भएका छन् । शैक्षिक सत्र २०७३ बाट देशको चौहत्तर जिल्लाका विद्यार्थीले प्राविधिक शिक्षा पढ्न पाएको बेला मनाङका विद्यार्थी भने सो शिक्षाबाट बञ्चित भएका हुन् ।

शिक्षा विभागले पनि मनाङ बाहेकका जिल्लामा प्राविधिक शिक्षा अध्यापन हुने विद्यालय पुगेको जनाएको छ ।

विभागका निर्देशक एवं प्रवक्ता बैकुण्ठप्रसाद अर्यालले अहिलेसम्म कूल २ सय ४० विद्यालय पुगेको बताउँदै त्यस्ता विद्यालयबाट सीपयुक्त जनशक्ति तयार हुने बताए ।
उनले मनाङबाट कुनै पनि विद्यालयले प्राविधिक शिक्षा सञ्चालनका लागि आवेदन नदिएको कारण पचहत्तरै जिल्लामा पुग्न नसकेको बताए ।

‘प्राविधिक शिक्षा अध्ययन गराउन जारी गरिएको सूचनामा मनाङका कुनै पनि विद्यालयबाट आवेदन आएन ।’ उनले भने । सोही कारण मनाङका विद्यार्थीले आफ्नै जिल्लामा प्राविधिक शिक्षा पढ्न नपाएको उनको भनाइ छ ।

यता मनाङका जिल्ला शिक्षा अधिकारी देवकुमार बरालले निक्कै दुर्गम ठाउँको रुपमा रहेको मनाङका लागि प्राविधिक शिक्षा आवश्यक हुँदा पनि त्यस बारेमा सरकारको ध्यान नगएकोले विद्यार्थी प्राविधिक शिक्षाबाट बञ्चित भएको बताए ।

‘सुगम र दुर्गम ठाउँका लागि एउटै नीतिले काम गर्दा यहाँका विद्यालयहरुले प्राविधिक शिक्षा सञ्चालन गर्न आँट गरेका छैनन् ।’ उनले भने ।

जिशिअ बरालका अनुसार जिल्लामा प्राविधिक शिक्षाको आवश्यकता छ । उनले प्राविधिक  शिक्षाका लागि धेरै लागत पर्ने कारण विद्यालयहरु प्राविधिक शिक्षा सञ्चालन गर्न अघि नसरेको बताए । उनले भने, ‘प्राविधिक शिक्षा सञ्चालन गर्न ठूलो आर्थिक भार चाहिन्छ, यहाँका स्कुलहरुले त्यो भार व्यहोर्न सक्तैनन्, यही कारण हाम्रा स्कुलहरुले त्यो फर्म भर्नै चाहेनन् ।’

चारवटा उमावि मध्ये २ वटामा मात्र दश जोड दुई कक्षा चलिरहेको मनाङमा प्राविधिक शिक्षा सञ्चालन गर्न राज्यले छुट्टै नीति बनाउनुपर्ने माग विद्यालयका प्रिन्सिपल र विव्यस पदाधिकारीबाट आएको जिशिअ बरालले बताए । विद्यार्थी संख्या निक्कै कम भएकोले प्राविधिक शिक्षा सञ्चालन गर्न नसकिएको उनले स्वीकारे ।

‘राज्यको थप सहयोग हुने र मनाङको लागि राज्यले छुट्टै नीति बनाएको खण्डमा यहाँ पनि प्राविधिक शिक्षा सञ्चालन गर्न सकिन्छ ।’ उनले भने ।

विभागका अनुसार वि.स. २०७० देखि इञ्जिनियरङतर्फ सिभिल २१, कम्प्युटर २१, इलेक्ट्रिकल ५ र कृषितर्फ बाली विज्ञान ३९ एवम् पशुपालन १३ गरी जम्मा ९९ विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनमा रहेको छ । शैक्षिक सत्र २०७३ देखि कक्षा ९ बाट प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन गर्न इञ्जिनियरङ तर्फ सिभिल ४३, कम्प्युटर ३१, इलेक्ट्रिकल १४ र कृषितर्फ बाली विज्ञान ३९ एवम् पशुपालन १४ गरी जम्मा १ सय ४१ विद्यालयले अनुमति प्राप्त गरेका छन् ।

प्रकाशित मिति २०७३ असार ३१ गते

प्रतिक्रिया