Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

डा. केसीको स्वास्थ्य खस्कँदो

शुक्रबार, ३१ असार २०७३

काठमाडौं ३१ असार  / गुणस्तरीय चिकित्सा शिक्षा र सेवा आम नेपालीको पहुँचमा हुनुपर्ने मुख्य मागसहित त्रिवि शिक्षण अस्पतालमा आमरण अनशन गरिरहेका प्रा.डा.गोविन्द केसीको स्वास्थ्यस्थिति खस्कँदै गएको छ । अनशनको पाँचौं दिन बिहीबार उनको रगतमा ४ देखि ७ सम्म हुनुपर्ने चिनीको स्तर २.२ मिलिमोल प्रतिलिटर मात्र छ । रगतमा क्रिएटिनिनको स्तर पनि ११० माइक्रोमोल प्रतिलिटर छ । यो स्तर बुधबार ९६ र गत मंगलबार ८१ थियो ।

डा.केसीको श्वासप्रश्वासको गति सामान्यतया प्रतिमिनेट १४–१८ हुनुपर्नेमा हाल ३०–३२ सम्म पुगेको छ । उनको श्वासप्रश्वासमा समस्या, तीव्र धड्कनसँगै छातीसमेत दुख्छ । यति मात्र नभएर उनको पिसाबमा एसिटोन गत बुधबार नै देखिएको थियो ।

केसीसँग रहेका रेजिडेन्ट चिकित्सकहरूले पाँच दिनदेखि केही नखाएपछि यस प्रकारको अस्वस्थता देखिन थाल्नु स्वाभाविक नै रहेको बताएका छन् । उनीहरूले डा.केसीको स्वास्थ्य स्थिति दिनानुदिन खस्कने आशंकासमेत गरे । केसीको खस्कँदो स्वास्थ्यप्रति अस्पताल प्रशासन भने निस्पृह छ ।

उनको स्वास्थ्य निगरानी गर्न चिकित्सकीय टोली समेत अस्पताल प्रशासनले गठन नगरेको दु:खेसो केसीको आन्दोलनमा सहयोग गरिरहेका विद्यार्थीहरूले गरेका छन् । मंगलबार डा.केसीको शरीरमा पानीको अत्यधिक कमी देखिएपछि स्लाइन चढाउने नसा खोल्नसमेत स्वास्थ्यकर्मीहरूले अस्पतालको निर्देशकले अनुमति नदिएको भन्दै सघाउन इन्कार गरेका थिए ।

नेपाल मेडिकल स्टुडेन्ट सोसाइटी, नेसनल रेजिडेन्ट डाक्टर एसोसिएसन र विद्यार्थी कल्याणकारी कमिटीले गत मंगलबार नै अस्पताल निर्देशक डा. दीपक महरालाई संयुक्तरूपमा लिखित पत्र दिएर डा. केसीको स्वास्थ्य लगायत विषयमा सघाउन आग्रह गरे पनि हालसम्म यसको जवाफ
आएको छैन ।

प्राध्यापकहरूले भरिएको शिक्षण अस्पतालमा आफ्नै सहकर्मीद्वारा स्वास्थ्य निगरानी नगरिएपछि त्यहाँका रेजिडेन्ट चिकित्सक, इन्टर्न र विद्यार्थीहरू डा. केसीको स्वास्थ्य उपचारमा सरिक भएको विद्यार्थी बद्री अर्यालले बताए ।

‘सानो कोठा भएकोले वायु सञ्चार (भेन्टिलेसन) को समस्या समेत छ, थुप्रै व्यक्ति समर्थन जनाउन आउँछन्, रोक्न पनि सकिन्न के गर्ने ?’ नेपाल मेडिकल स्टुडेन्ट सोसाइटीका अध्यक्ष डा.स्नेह बन्धु रेग्मी भन्छन्, ‘अस्पताल प्रशासनको सहयोग नभएपछि आज चोरबाटोबाट विद्यार्थीहरूले मनिटर ल्याएका छन्, सरको स्वास्थ्य निगरानीका लागि अन्य चिकित्सकीय सामग्री पनि यस्तै ल्याइएको हो ।’

यसैबीच राष्ट्रिय मानव अधिकार आयोगले आमरण अनशनरत प्रा.डा. गोविन्द केसीको स्वास्थ्य चिकित्सकीय रूपमा नाजुक रहेको उल्लेख गर्दै तुरुन्त चिकित्सकहरूको टोली गठन गरेर निगरानी गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले सरकारलाई यसअघि गरेका सबै सम्झौता कार्यान्वयन गर्न भनेको छ । आयोगले डा. केसीको स्वास्थ्य स्थितिलाई नजिकबाट नियालिरहेको उल्लेख गर्दै प्रवक्ता मोहना अन्सारीले बिहीबार कान्तिपुरसँगको कुराकानीमा भनिन्, ‘डा. केसीको स्वास्थ्यस्थिति चिकित्सकीय रूपमा नाजुक नै देखिएको छ ।’

त्रिवि शिक्षण अस्पताल प्रशासनले केसीको स्वास्थ्यको ख्याल गर्न कुनै व्यवस्था नै नगरेकामा पनि आयोगको ध्यानाकर्षण भएको उनले बताइन् ।

‘अस्पतालले यसअघि जस्तै तुरुन्त चिकित्सकीय टोली गठन गरेर डा. केसीको स्वास्थ्य निगरानी गरोस्,’ अन्सारीले भनिन्, ‘स्वास्थ्यसँग खेलाँची गर्न मिल्दैन, डा. केसीको जीवन रक्षा पहिलो सर्त हुनुपर्छ ।’ यसैगरी डा. गोविन्द केसीको आमरण अनशनको समर्थनमा त्रिवि शिक्षण अस्पतालमात्र नभएर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रेजिडेन्ट चिकित्सक विद्यार्थीहरूसमेत ओर्लिएका छन् । उनीहरू विज्ञप्ति जारी गर्दै डा. केसीको आन्दोलनको समर्थनमा आएका हुन् ।

यसैबीच काठमाडौं विश्वविद्यालय (केयू) प्राध्यापक संघले बिहीबार डा. केसीको जीवन रक्षाको माग गर्दै सम्बद्घ निकायलाई उनका चारवटै माग पूरा गर्न भनेको छ । संघले विज्ञप्तिमा डा. केसीको यस पटकको अनशनको प्रमुख कारक घटनामा केयूले लिएको चिकित्सा शिक्षा तहको स्नातकोत्तर तहको प्रवेश परीक्षामा अख्तियारबाट भएको हस्तक्षेप सर्वविदित रहेको जनाउँदै यसको भत्र्सनासमेत गरेको छ । यस्तै पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले बिहीबार साँझ डा. गोविन्द केसीसँग भेटेर उनका मागप्रति ऐक्यबद्घता जनाएका छन् ।

भट्टराईसँगै खिमलाल देवकोटा लगायतका अन्य पदाधिकारीहरू समेत थिए । कांग्रेस सांसद ध्यानगोविन्द रञ्जितले समेत डा. केसीसँग बिहीबार भेट गरेका छन् ।

कान्तिपुरमा अतुल मिश्रले लेखेका छन् ।

प्रतिक्रिया