Edukhabar
शनिबार, १२ असोज २०८१
गतिविधि

लेटर ग्रेडिङ्को आलोचना

विहीबार, ३० असार २०७३

काठमाडौं - शिक्षा क्षेत्रका सरोकारवालाले ग्रेडिङ् प्रणाली आफैमा गलत नभए पनि राज्यको पुर्ण तयारीको अभावका कारण सहि ढंगले लागु हुन नसकेको भन्दै आलोचना गरेका छन् । आवश्यक पूर्वाधार र तयारी विना ग्रेडिङ् पद्धति लागु गरेको भन्दै विरोधमा उत्रिएको विप्लव नेतृत्वको नेकपा माओवादी निकट अनेरास्ववीयु (क्रान्तिकारी) ले आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् । 

‘शिक्षामा लेटर ग्रेडिङ प्रणाली कार्यन्वयन समस्या र समाधान’ विषयक अन्तक्र्रिया कार्यक्रममा शिक्षाविद् तिर्थ पराजुलीले राज्य बढी उदार भएर सबैलाई ग्रेडिङ प्रणाली भित्र राख्नु नै कमजोरी भएको बताए । शिक्षाविद तथा प्रा.डा. विद्यानाथ कोइरालाले विद्यार्थी संगनठहरु प्रति इंगित गर्दै शिक्षकलाई राजनीतिक नबनाई पेशागत बनाउने तिर जोड गरिएमा शिक्षा क्षेत्रका धेरै समस्याहरु हल हुने सुझाव दिए ।

राज्यले आम जनतालाई हेर्ने दृृष्टिकोणमा नै समस्या रहेको भन्दै नेकपा माओवादीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले शिक्षा लगायतका क्षेत्रमा राज्यले विभेदकारी बाटो अपनाइ रहेको बताए । राज्य दलालहरुले चलाइ रहेको भन्दै उनले प्रश्न गरे ‘एउटा निजि कम्पनिले राम्रो विद्यालय सञ्चालन गर्न सक्ने तर राज्यले नसक्ने कसरी भयो ?’ नेकपा माओवादीका केन्द्रिय सदस्य गुणराज लोहनीले आधारभुत हिसाबले ग्रेडिङ प्रणाली ठिक भए पनि अझैँ सुधार गरि विद्यार्थीलाई पास गराउने नभई पास हुने वातावरणको सिर्जना गराउनु पर्ने बताए ।

शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालले नेपालीहरुको मानसिक्ता माथि नै प्रश्न उठाउँदै विज्ञान विषय पढनका लागि भनेर गाउँ गाउँ सम्म आफुले सामुदायिक उमाविहरुको व्यवस्था गरे पनि विद्यार्थी नभेटिएकोले समस्या आएको बताए । लेटर ग्रेडिङ प्रणालीमा अफुले धेरै पटक सोचेर कार्यन्वयन गरेको उनको भनाई थियो ।

कार्यक्रममा अखिल (क्रान्तिकारी)का अध्यक्ष पुर्ण सिंहले केहि कोठे पण्डितहरुले आफ्नो सनकको भरमा निर्णय गरेर लागु गरिनुले झन् समस्या ल्याएको भन्दै यसका विरुद्ध आफ्नो संगठनले गम्भिर कदम चाल्ने बताए ।

कार्यक्रममा अखिल (क्रान्तिकारी)का महासचिव दिपेन्द्र चलाउनेले उच्चशिक्षा अध्ययनमा निजि कलेजहरु र शिक्षण संस्थाहरुले प्राइभेट र सरकारी विद्यालयबाट आएका विद्यार्थीको मुल्यांकनको आधार एउटै भएकोले ग्रामिण भेगका विद्यार्थी माथि अन्याय भएको बताए ।

कार्यक्रममा अखिल (क्रान्तिकारी)का अध्यक्ष रमेश मल्ल, अनेरास्ववियूका उपाध्यक्ष शैलेस लामा लगायतका विद्यार्थी नेताहरुले ग्रेडिङ प्रणालीमा देखिरहेका समस्याहरुका बारेमा आलोचना गरेका थिए ।

प्रकाशित मिति २०७३ असार ३० गते

प्रतिक्रिया