Edukhabar
शनिबार, १२ असोज २०८१
खबर/फिचर

बढ्दो आत्महत्या : विद्यार्थीलाई शिक्षा भन्दा शिक्षक र अभिभावकलाई दीक्षाको खाँचो

विहीबार, ३० असार २०७३

- हरिसुन्दर छुकां / भक्तपुर - गत असार २१ गते बिहान ६ बजे सानोठिमी मगरगाउँ बस्ने १७ वर्षिय हरि खड्का (नाम परिवर्तन) ले आफ्नै घरको दोस्रो तल्लाको कोठाको पंखा झुन्ड्याउने हुकमा सर्टको पासो लगाएर ज्यान फाले ।

भर्खर एसएलसी सकेर खाऊँ–खाऊँ, लाऊँ–लाऊँको उमेरमा आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेको घटनाले धेरैलाई स्तब्ध बनाएको छ । परिवारका अनुसार भर्खर एसएलसीमा ए प्लसको नतिजा सहित उत्तीर्ण भएका उनले कलेज भर्ना हुनु अघि परिवारसँग मोटरसाइकल किनिदिन आग्रह गरेका थिए । ‘हामीले अहिल्यै किन चाहियो, पछि किनिदिउँला भनेका मात्र थियौं ।’ परिवारका एक सदस्यले भने ।
‘अनुसन्धान जारी छ, किन भर्खरका विद्यार्थीले आत्महत्याको बाटो रोज्छन् ? खोजको विषय बनेको छ ।’ भक्तपुरका प्रहरी नायव उपरीक्षक शेखर खनालले भने ।

भर्खर एसएलसी उत्तीर्ण विद्यार्थी खड्का मात्र होइन, स्नातक उत्तीर्ण रमेश थापाले पनि आत्महत्याको बाटो रोजेका छन् ।

‘भक्तपुरको सूर्यविनायक नगरपालिका सिपाडोलका २८ वर्षीय सञ्जय थापा (नाम परिवर्तन) अङ्ग्रेजीमा स्नातक सकाएर स्नातकोत्तरमा भर्ना हुने तयारीमा रहेका थिए’, उनका सहपाठी संकेत श्रेष्ठले भने, रोजगारीको लागि विभिन्न ठाउँमा भौंतारिदा पनि कुनै जागिर नपाएको गुनासो गथ्र्यो ।’ उनैका सहपाठीहरुको भनाइको आधारमा प्रहरीले पनि थापाको आत्महत्याको कारण शैक्षिक बेरोजगार हुनुपर्दाको अवस्था हुन सक्ने निष्कर्ष निकालेको छ ।

उनीहरुमात्र नभएर पछिल्लो गएको एक वर्ष (साउन–असारसम्म) भक्तपुरमा उनीजस्ता एसएलसी उत्तीर्ण ७ ले आत्महत्या गरेको प्रहरीको भनाइ छ । ‘एसएलसी मात्र नभएर कक्षा १२ उत्तीर्ण र स्नातक उत्तीर्णले पनि यो वर्ष आत्महत्या गरेका छन् ।’ प्रहरी उपरीक्षक खनालले भने ।

उनले कक्षा १२ उत्तीर्ण ३ र स्नातक उत्र्तीण १ जनाले यसै आवमा आत्महत्या गरेको बताए । यसबाट भक्तपुरमा आर्थिक वर्ष २०७२ मा साधारण लेखपढ गरेकादेखि स्नातक उत्तीर्ण गरेका सम्मले आत्महत्या गरेको खुलेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार चालू आवमा कूल ५२ जनाले आत्महत्या गरेकोमा साधारण लेखपढ गरेका ४१ जना रहेका छन् । प्रहरीले गत वर्षभन्दा यो वर्ष आत्महत्या गर्नेको संख्या घटेको तथ्यांक पनि सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको तथ्यांकले गत वर्ष ६८ जनाले आत्महत्या गरेकोमा साधारणतर्फ ३६ जना, एसएलसी उत्तीर्ण २१ जना, कक्षा १२ उत्तीर्ण ९ जना र स्नातक उत्तीर्ण २ जना रहेका थिए ।

प्रहरीका अनुसार आत्महत्या गर्ने उमेर समूहमा सबैभन्दा बढी १६ देखि २५ वर्ष उमेर समूहका रहेका छन् । कूल ५२ जनामध्येमा १६ जना उक्त उमेर समूहका रहको र २६ वर्षदेखि ३५ वर्षसम्मका ११ जना रहेको छ । 

शिक्षित विद्यार्थीले समेत आत्महत्याको बाटो रोज्नुमा शिक्षा र पाठ्यक्रमको कुनै दोष नभएर दिमागी रोग भएको टिप्पणी छ, शिक्षाविद् डा. विष्णु कार्कीको । शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला आत्महत्याको मुख्य कारण निराशा भएको मान्छन् ।

‘आत्महत्या शिक्षितले गर्दैनन् भन्ने होइन्, यो एक प्रकारको दिमागी बिमारी हो ।’ कार्कीले भने ।

‘यो नै मेरो सर्वस्व हो भन्नेहरुले रोज्ने बाटो हो आत्महत्या, यो नभए त्यो, त्यो नभए यो सोच भएकाहरुले आत्महत्याको बाटो रोज्दैनन्,’ कोइरालाले जोडे, ‘एकोहोरो तरिकाले लाग्ने र एउटा कुरा नभए आफ्नो सर्वस्व गुम्ने सोचकाहरुले आत्महत्या गर्ने गरेका छन् ।’

शिक्षाविद्द्वय कार्की र कोइरालाका अनुसार विद्यार्थीले आत्महत्या गर्नुको पछाडि उनीहरुमा रहेको तनाव, पछिल्लो समयमा विकसित भएको प्रविधिले विकास गरेको मानसिक दवाबको शिकारमा अवोध विद्यार्थीदेखि स्नातकसम्मका विद्यार्थी पर्ने गरेको विश्लेषण छ ।

विद्यार्थीमा बढेको आत्महत्यालाई न्यूनीकरण गर्नका लागि शिक्षक, विद्यालय र अभिभावकले भूमिका खेल्नुपर्नेमा उनीहरुको जोड छ । शिक्षाको विषयमा समाजले बढाएको प्रतिस्पर्धा, बढ्दो शहरीकरणले कमजोर विद्यार्थी पढाइदेखि हतोत्साही हुँदा समस्या निम्तिने गरेको उनीहरुको भनाइ छ । ‘प्रतिस्पर्धाले विद्यार्थीमा अदृष्य अन्तरद्वन्द्व चलिरहन्छ, कमजोर विद्यार्थीले अन्तरद्वन्द्वलाई जित्न सकेन भने आत्महत्याको बाटो रोज्छ ।’ डा. कार्कीले भने ।

आत्महत्या न्यूनीकरणका लागि विद्यार्थीलाई त्यस सम्बन्धी शिक्षाभन्दा बढी शिक्षक र अभिभावकको दीक्षा आवश्यक भएको कोइरालाको भनाइ छ । ‘पाठ्यक्रममा राख्नुभन्दा शिक्षणको तरिकामा फेरबदल गर्नुपर्छ । कोही निराश र उदास छन् भने, के भो ? भन्ने प्रश्न गर्न सकिन्छ, शिक्षामा होइन, शिक्षणमा फेरबदल गर्नुपर्छ ।’ उनले भने ।
किन रोज्दछ त मानिसले आत्महत्याको बाटो ?

मनोविद्हरुका अनुसार नेपालमा विभिन्न कारणबाट आत्महत्या गर्नेहरुको संख्या दिन प्रतिदिन बढ्दै गैरहेको छ । मनोविद्हरुका अनुसार नेपालमा सामान्यतया वयस्कहरुमा घरेलू हिंसा, प्रेम सम्बन्ध, बलात्कार अनिच्छित गर्भधारण, पारिवारिक बेमेल, पती या पत्नीको दोश्रो विवाह, पर्याप्त दाईजो नल्याएको या नदिएको निहुँमा पाउने मानसिक यातना, प्रताडना देखिए पनि विद्यार्थीमा भने पढाइमा असफलता, किशोरहरुले खोजेको कुरा नपाएको झोंक नै आत्महत्याको प्रमुख कारण बनेका छन् ।

मनोविश्लेषक रमा कार्कीका अनुसार आत्महत्याको प्रमुख कारण भनेको मानसिक समस्या नै हो । ‘आत्महत्या तत्कालीन कारणको उपज मात्र हुन सक्दैन जव मानिसले आफ्ना समस्याहरु गुम्स्याएर राख्न थाल्छ या त्यो समस्याबाट आफू कमजोर भएको महसुस गर्न थाल्दछ र तत्कालिन रुपमा समस्याको निकास भेट्दैन उसले रोज्ने भनेको आत्महत्या नै हो’ कार्कीको तर्क छ ।

उनका अनुसार आत्महत्या कुनै खास उमेर समूहका मानिसले मात्र गर्दछन् भन्ने नभएर अहिले आएर बालबालिकाहरुमा समेत यो समस्या भयावह रुपमा देखा परिरहेको छ ।

मनोविश्लेषक तथा शिक्षाविद्हरुले आत्महत्याको प्रमुख कारण व्यक्तिको मनोविज्ञान भएको औँल्याएका छन् । अनावश्यक तनावमा बस्ने, आफ्नो कुरा खुलस्त नबताउने, कमजोर आत्मबल भएका व्यक्ति प्रायः आत्महत्याको बाटो रोज्ने गरेका उनीहरु बताउँछन् ।

मनोविश्लेषक कार्कीले आत्महत्यालाई निदान गर्न नसकिने तर न्यूनीकरण गर्न सकिने बताउँदै त्यसका लागि मनोपरामर्शको आवश्यकतामाथि जोड दिइन् ।

प्रकाशित मिति २०७३ असार ३० गते

प्रतिक्रिया