Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

‘सरकार फेरिए पनि माग पूरा नभएसम्म अनशन’

विहीबार, ३० असार २०७३

काठमाडौं ३० असार / प्रा.डा. गोविन्द केसीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोगसँगै चिकित्सा शिक्षा र सेवामा सुधारसम्बन्धी आफ्ना चारै वटा माग अक्षरश: पूरा नभएसम्म अनशन जारी रहने बताएका छन् । त्रिवि शिक्षण अस्पतालमा चार दिनदेखि अनशनरत केसीले बुधबार कान्तिपुरसँगको कुराकानीमा फेरबदल हुन लागेको सरकारका कारण आफ्नो माग र आन्दोलन प्रभावित नहुने अडान व्यक्त गरेका हुन् ।

‘कोही कुर्सी छोड्नै नसक्ने, कसैलाई जसरी पनि सरकार ढालेर सत्तामा पुग्नै पर्ने होड छ,’ डा. केसीले भने, ‘म सरकार ढाल्न वा कुनै सरकार ल्याउन अनशन बसेको होइन । जल्दोबल्दो देशको समस्या र चुनौतीलाई केही नगर्ने, समाधानतिर नलाग्ने, तर सरकार ढाल्ने र सरकार बनाउनेतिर नेताहरू लागेका छन् ।’

‘यदि अलिकति पनि लोकतान्त्रिक, जनताप्रति समर्पित दायित्व बोध छ भने माग पूरा हुनुपर्छ,’ सत्ता समीकरणमा अल्झेका नेताहरूप्रति आफूलाई विश्वास नरहेको उल्लेख गर्दै उनले भने, ‘लोकमानसिंहले आफू संंंविधानभन्दा माथि रहेर काम गर्दैछन्, सन्त्रास फेलाउँदै छन्, अधिकार क्षेत्र बाहिर गएर अधिकार दुरुपयोग गरेका छन् । उनलाई महाअभियोग लगाएर हटाउनुपर्छ ।’ अख्तियारले मुलुकका सबै क्षेत्रमा ठूलो भ्रष्टाचारी व्यक्ति, नेता, पदाधिकारी, व्यापारीलाई कहिले पनि नसमातेको उल्लेख गर्दै डा. केसीले भने, ‘निर्दोष र साना कर्मचारीलाई समातेर मैले यो गरें, त्यो गरें भनेर अख्तियारले प्रचार गर्छ तर ठूला–ठूला भ्रष्टाचारीलाई समात्दैन, उनीहरूसँग लेनदेन गर्छ ।’

आठौं पटकको अनशनमा महाअभियोग लगाउने माग राखेपछि अख्तियार प्रमुखको निर्देशनमा शिक्षण अस्पतालका पदाधिकारी, विद्यार्थी, कर्मचारी, नर्स सबैलाई सहयोग गरे कारबाही गर्ने त्रास फैलाइएको आरोप लगाउँदै डा. केसीले भने, ‘अहिले केही पदाधिकारी आफ्नो ब्रहम नभएर सन्त्रास, कारबाहीमा फसाउने शंकाले अनशनलाई नसघाउने निर्देशन पालना गर्दैछन् । यस्तो प्राज्ञिक ठाउँमा लोकमानतन्त्र हावी छ भने अरू ठाउँमा के होला ?’

रेजिडेन्ट चिकित्सक पनि विरोधमा
त्रिवि शिक्षण अस्पतालका रेजिडेन्ट चिकित्सकले डा. केसीको आन्दोलनको समर्थनमा चरणबद्घ आन्दोलनअन्तर्गत बुधबार कालोपट्टी बाँधेर काम गरेका छन् । उनीहरूले बिहीबारदेखि पठनपाठनको काममा समेत सहभागी नहुने जनाएका छन् । हाल डा. केसीको स्वास्थ्य स्थिति बिग्रँदै जाँदासमेत सम्बन्धित निकायबाट उचित निकास नदिएपछि चरणबद्घ आन्दोलन गर्न बाध्य भएको उनीहरूले बताएका छन् । प्रा.डा. गोविन्द केसीको आमरण अनशनको चौथो दिन रेजिडेन्ट चिकित्सकहरू देखिने गरी नै विरोध प्रदर्शनमा आएका हुन् । उनीहरूले पठनपाठनबाहेक इमर्जेन्सी, वार्ड, शल्यक्रिया कक्ष, बहिरंग र अन्तरंग सेवामा भने सहभागी हुनेछन् ।

सुशासन महाअभियानको ऐक्यबद्घता
प्रा. केसीको अनशनमा सुशासन महाअभियानले ऐक्यबद्धता जनाएको छ । अभियानको केन्द्रीय समितिका पदाधिकारीहरूले अनशनस्थलमा केसीलाई भेटी उनको मागमा समर्थन जनाएका हुन् । ‘मुलुकमा सुशासनको माग राखी डाक्टर केसीले सुरु गरेको सत्याग्रहमा हाम्रो समर्थन छ, हामी पनि माग पूरा गराउन शान्तिपूर्ण अभियान सुरु गर्नेछौं,’ अभियानका संयोजक प्रकाश विकल्पले भने, ‘केसीले उठाएका कतिपय माग महाअभियानले उठाएका मागसँग मिल्दोजुल्दो भएकाले पनि हामीलाई उत्साहित बनाएको छ ।’ केसीको मागबारे विभिन्न प्रादेशिक समितिमार्फत सचेतना अभियान सञ्चालन गर्ने संयोजक विकल्पले बताए ।

कान्तिपुरमा अतुल मिश्रले लेखेका छन् ।

प्रतिक्रिया