Edukhabar
शनिबार, १२ असोज २०८१
खबर/फिचर

शिक्षा मन्त्रीमा खरेल, तर कति समयका लागि !

विहीबार, ३० असार २०७३

काठमाडौं - सत्ता साझेदार माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै खाली भएको शिक्षा मन्त्रालयको जिम्मेवारी कानून मन्त्री समेत रहेका एमालेका अग्नि खरेललाई दिईएको छ । माओवादी केन्द्रबाट शिक्षा मन्त्री भएका गिरिराजमणि पोखरेलको ठाउँमा खरेललाई पठाईएको हो । खरेलको पृष्ठभूमि कानून ब्यवसाय हो भने उनी प्रत्यक्ष निर्वाचनमा सहभागि नभई मन्त्री बनाएको भन्दै आलोचना समेत भएको थियो । प्रधानमन्त्री केपी ओली निकट भएकै कारण मन्त्री हुन सफल भएका भन्दै उनको निकै आलोचना समेत भएको थियो ।

सत्ता गठबन्धनमा देखिएको समिकरणको फेरबदल पछिको राजनीतिक अवस्थामा नयाँ शिक्षा मन्त्री कति समयका लागि हुन् ? भन्ने बारेमा स्वयं प्रधानमन्त्री निकट सल्लाहकार नै अस्पष्ट देखिन्छन् । प्रधानमन्त्रीले विपक्षीको अविश्वास प्रस्ताव फेस गर्ने की राजिनामा दिने भन्ने बारेमा छलफल भईरहेको कारण देखाएर सरकारले तत्काललाई माओवादीले सम्हालेका ८ मन्त्रालयमा एमाले, फोरम लोकतान्त्रिक, राप्रपा र राप्रपा नेपालका मन्त्रीलाई जिम्मेवारी थपेका हुन् । 'भएका मन्त्रीहरु फिर्ता भएको अवस्थामा मन्त्रालय  खाली राख्न त भएन' एमालेका एक नेताले भने, 'राजनीतिक संकट कसरी अघि बढ्छ भन्ने कुरा अहिल्यै भन्न नसकिएकोले तत्कालका लागि निर्णय गरिएको हो ।'

मन्त्रीहरुलाई नयाँ जिम्मेवारी दिएको उक्त निर्णय प्रधानमन्त्रीले राष्ट्रपतिलाई औपचारिक जानकारी गराई सकेका छन् । माओवादीले सम्हालेका गृह मन्त्रालयमा भिम रावल, वन तथा भू संरक्षण मन्त्रालयमा विजयकुमार गच्छदार, उर्जा मन्त्रालयमा विष्णु पौडेल, कृषि मन्त्रालयमा शान्ता मानवी, आपूर्तिमा दिपक बोहोरा सिंचाईमा रामकुमार सुब्बा, सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी भने स्वयं प्रधानमन्त्ती मातहत नै राखिएको छ ।

प्रकाशित मिति २०७३ असार ३० गते

प्रतिक्रिया