Edukhabar
शनिबार, १२ असोज २०८१
गतिविधि

विद्यार्थीले सम्झे आदिकविलाई

बुधबार, २९ असार २०७३

भक्तपुर - ‘वि. सं. १९२५ मा भयो उनको निधन
उनलाई नेपालीले आदिकवि भनी चिन्छन् ।’

१४ वर्षीया सिम्रन केसीले ‘भानुभक्त’ शिर्षकको कवितामार्फत् आदिकविलाई त्यसरी सम्झिइन् । पढ्ने क्रममा नेपाली कितावमा ‘आदिकवि भानुभक्त आचार्य’ पाठ पढेकी र शिक्षिकाबाट थप जानकारी पाएकी उनले अनुप्रास मिलाएर कविता लेखिन् ।

आदिकवि भानुभक्त आचार्यको २ सय ३ औं जन्म जयन्तीको अवसरमा भक्तपुरको सल्लाघारीमा रहेको सूर्यदीप स्कुलले आयोजित कविता प्रतियोगितामा उनले आदिकविको परिचयदेखि मृत्युसम्मका घटनालाई कवितात्मक रुपमा प्रस्तुत गरिन् ।

यस्तै सोही विद्यालयको कक्षा ५ का छात्राले पनि कवितामार्फतै भानुभक्तलाई सम्झिइन् । उनले यसरी सम्झेकी थिइन्, भानुभक्तलाई–

‘रामायाण बधुशिक्षा, भक्तमाला प्रश्नोत्तर लेख्यौ
घाँसीबाट प्रेरणा पाएर अमर भएर म¥यौं ।’

उनीपछि कक्षा ८ का विद्यार्थी सौरभ ध्वँजूले आफू जन्मेको देशको सुन्दरताको बयान गरे । ‘देश प्रेम’ शिर्षकको कवितामा उनले देशको बयान यसरी गरे–

‘पूर्व पश्चित फैलिएको तराई, पहाड, हिमाल
बस्न अति सुन्दर छ मेरो देश नेपाल ।’
‘लालीगुराँस, लालुपाते बनैभरी फूल्दा
रमाइलो लाग्छ झनै मयुर, डाँफे डुल्दा ।’

नेपाली साहित्यमा ‘आदिकवि’को उपाधिले सम्मानित भानुभक्त आचार्यको बारेमा विद्यार्थीहरुलाई जानकारी दिन तथा विद्यार्थीहरुमा रहेको प्रतिभा प्रस्फुटन गारउने उद्देश्यले गरेको कविता प्रतियागितामा सोही विद्यालयमा अध्ययन गरिरहेका कक्षा ६, ७, ८ र ९ का १४ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा केही समयअघि मात्र कविता सञ्चयन प्रकाशन गरेकी कक्षा १० कि छात्रा मेरिट कोजूले पनि आफ्नो कविता वाचन गर्दै मिहिनेत र लगनशील भएर अध्ययन गरेको खण्डमा कविता लेख्न सकिने अनुभव बाँडिन् ।

विद्यालयका प्रिन्सिपल लक्ष्मीप्रसाद प्रजापति, रोम्बस नेशनल स्कुलका प्रिन्सिपल एवं कवि राजेन्द्र कोजू र स्रष्टा खोजक हरिले प्रतियोगितामा वाचित कविताहरुको मूल्यांकन गरेका थिए ।
मूल्यांकनबाट  कक्षा ७ का श्रेया अधिकारी प्रथम, कक्षा ८ का सौरभ ध्वँजू द्वितीय र कक्षा ५ का शिल्पा ढकाल तृतीय भएका थिए । उनीहरुलाई सोही अवसरमा पुरस्कृत पनि गरिएको थियो ।

प्रकाशित मिति २०७३ असार २९ गते

प्रतिक्रिया