Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

चिकित्सक– विद्यार्थीको समर्थन

मंगलबार, २८ असार २०७३

काठमाडौं २८ असार / त्रिवि शिक्षण अस्पतालका रेजिडेन्ट चिकित्सक र एमबीबीएस गरिरहेका विद्यार्थीले डा.गोविन्द केसीको आमरण अनशनप्रति समर्थन जनाएका छन् । शिक्षण अस्पतालमा दुई सयभन्दा बढी रेजिडेन्ट चिकित्सक र साढे चार सयजति एमबीबीएस विद्यार्थी छन् । 

डा.केसी समग्र चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि अनशन बसेको जनाउँदै नेसनल रेजिडेन्ट डाक्टर्स एसोसिएसनले विज्ञप्तिमार्फत उनका चारै मागमा समर्थन जनाएको छ । एमबीबीएस अध्ययन गरिरहेका विद्यार्थीको संस्था नेपाल मेडिकल स्टुडेन्टस् सोसाइटीले पनि आधिकारिक रूपमै समर्थन जनाएको छ । 

चिकित्साशास्त्र अध्ययन संस्थानले यसअघि चिकित्सक, कर्मचारी र विद्यार्थीलाई डा.केसीको अनशनमा प्रत्यक्ष वा परोक्ष रूपमा संलग्न भए कारबाही गर्ने चेतावनी दिएको थियो । 
चिकित्सा शिक्षा ऐनको मस्यौदामा सुधारलगायत ४ बुँदे माग राखी डा.केसी आइबारदेखि गणेशमान सिंह नाक, कान, घाँटी भवनको एउटा सानो कोठामा आमरण अनशनमा छन् । 

यसअघि पनि संस्थानमा एमडी/एमएस गरिरहेका रेजिडेन्ट चिकित्सक र एमबीबीएस गरिरहेका विद्यार्थीले डा.केसीको हरेक अनशनमा समर्थन जनाउनुका साथै प्रत्यक्ष रूपमा सहभागी हुँदै आएका थिए । कर्मचारी, फ्याकल्टी, चिकित्सक, विद्यार्थी लगायतले डा. केसीलाई भेटेर समर्थन जनाएका छन् । उनलाई भेट्न चिकित्सक संघका पूर्वअध्यक्ष डा.केदारनरसिंह केसी र मानव अधिकारकर्मी कृष्ण पहाडीसमेत पुगेका थिए । 

कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया