Edukhabar
शनिबार, १२ असोज २०८१
खबर/फिचर

ग्रेडिङका कारण दुई लाख विद्यार्थीले पढ्न नपाएको भन्दै विरोध

सोमबार, २७ असार २०७३

काठमाडौ - आवश्यक पूर्वाधार र तयारी विना ग्रेडिङ् पद्धति लागु गर्दा झण्डै दुई लाख विद्यार्थीले कतै पनि उच्च शिक्षा अध्ययन गर्न नपाउने अवस्था आएको भन्दै विप्लव नेतृत्वको नेकपा माओवादी निकट अनेरास्ववीयु (क्रान्तिकारी) ले विरोध गरेको छ । 

सोमबार पत्रकार सम्मेलन गर्दै क्रान्तिकारीले ग्रेडिङ पद्धति कसैलाई अनुर्तिण गर्ने पद्धति नभए पनि झण्डै दुई लाख विद्यार्थी उच्च शिक्षा अध्ययन गर्न नपाउने अवस्थामा पुग्दा विद्यार्थी र अभिभावकलाई अन्यौल परेको जनाएको छ । हचुवाका भरमा लागू गरिएको यस्तो पद्धतिलाई तत्काल सच्याएर सबैले उच्चशिक्षा अध्ययन गर्न पाउनु पर्ने ब्यवस्था मिलाउन उसको माग छ ।

संगठनले पूर्व तयारी र यसको मुल्य मान्यता विपरित ग्रेडिङ पद्धति लागु गरिएकोले दुई लाख विद्यार्थी माथिल्लो शिक्षाबाट बञ्चित हुनु पर्ने अवस्था आएकोले यसलाई सच्याउनु पर्ने, अभिबृद्धि र झुकाव परीक्षाको ब्यवस्था गर्नु पर्ने, सहि सिकाई लागि पाठ्यपुस्तक, पाठ्यसामग्री शैक्षणिक विधी, शिक्षक तालिममा समेत सुधार गरी विद्यार्थी मुल्याङकन गर्नु पर्ने माग गरेको छ । अतिरिक्त शिर्षकमा लिईने शुल्क खारेजी हुनु पर्ने, सापेक्षताको आधारमा स्तरीयताको मापन ब्यवस्था गरिनु पर्ने, क्षमता अनुसार अघि बढ्ने मार्ग प्रसस्त गर्नु पर्ने उसको माग छ । यस्तै विद्यार्थीको मुल्याङकनको जिम्मा राज्यले लिनु पर्ने र दुर्गभ भुकम्प पीडितलाई निशुल्क उच्चशिक्षा लगायतका १५ बुँदे माग सहित क्रान्तिकारीले आन्दोलनको समेत घोषणा गरेको छ ।

घोषित आन्दोलनका कार्यक्रमहरुमा ज्ञापनपत्र बुझाउने देखि प्रचारप्रसार तथा विद्यार्थी र अभिभावक जागरण एवं अन्र्तक्रिया र प्रर्दशन गर्ने रहेको छ ।

पत्रकार सम्मेलनमा समितिका संयोजक लोकेश विश्वकर्माले  दश जोड दुईलाई विद्याय शिक्षाको रुपमा परिभाषित गर्ने र विद्यार्थी सिकाई मुल्यांकन विधीमा गरिएको फेरबदलमा आफूहरु सकारात्मक रहे पनि प्रर्याप्त पूर्व तयारी विना, छलफल नै नगरी ल्याएको कारण अन्यौल बढाएको बताए । यसलाई सच्याएर सबैले क्षमता अनुसारको उच्चशिक्षा अध्ययन गर्न पाउनु पर्ने ब्यवस्था गर्न उनको माग थियो । 

प्रकाशित मिति २०७३ असार २७ गते

प्रतिक्रिया