Edukhabar
शनिबार, १२ असोज २०८१
खबर/फिचर

नयाँ ऐन आएपछि ६० उमाविलाई अनुमति

सोमबार, २७ असार २०७३

भक्तपुर– शिक्षा विभागले यो वर्ष थप ६० उच्च माध्यमिक विद्यालयलाई अनुमति प्रदान गर्ने निर्णय गरेको छ । यस अघि उच्च माध्यमिक शिक्षा परिषद्ले दिदैं आएको सम्बन्धनको काम शिक्षा ऐन २०२८ को आठौँ संशोधन पश्चात विभाग मार्फत गर्ने निर्णय भए बमोजिम अनुमति प्रदान गरिएको हो ।

कक्षा ११ सञ्चालनका लागि १ सय १४ विद्यालयले अनुमति माग गरेकोमा सबै प्रक्रिया र मापदण्ड पुगेका ६० वटालाई अनुमति दिएको शिक्षा विभागका महानिर्देशक खगराज बरालले जानकारी दिए ।
निवेदन दिएका थप १३ वटालाई पनि अनुमति दिने प्रक्रिया सुरु गरिसेकेको उनले जानकारी दिए । ‘१३ ओटा विद्यालयका आवश्यक कागजातहरू संलग्न नभएकोले अनुमति नदिएता पनि अपुग कागजात समावेश गरे पश्चात् अनुमति दिन सकिने निर्णय गरिएको छ, उनले भने ।

ऐन लागू भएसंगै बसेको परीक्षा बोर्डको बैठकले कक्षा ११ र १२ को अनुमति र सम्वन्धी कार्य गर्नका लागि प्राप्त भएका निवेदन छानविन गरी आवश्यक निणर्यका लागि पेश गर्न शिक्षा विभागका महानिर्देशक खगराज बरालको अध्यक्षतामा शिक्षा विभागको शैक्षिक व्यस्थापन महाशाखाका निर्देशक र साविकको उच्च माध्यमिक शिक्षा परिषद् सम्वन्धन शाखा हेर्ने महाशाखा प्रमुख सदस्य रहेन गरी समिति गठन गरेको थियो ।

साविकको परिषद्ले गर्दै आएका काम परीक्षा बोर्ड मातहत आएसंगै आई पर्ने नीतिगत बाधा अड्चनलाई नियमावली बनाएर कार्य सुचारु गर्न मन्त्रालयले यस अघिनै सहसचिव हरी लम्साललाई जिम्मा दिईसकको छ ।

शिक्षा विभागले सोमबार गरेको पत्रकार सम्मेलनमा महानिर्देशक बरालले साविकको उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ का लागि तोकिएको छात्रवृत्तिको कार्य शिक्षा विभाग मार्फत गर्ने र सो अनुसार साउन १ गते परीक्षा सञ्चालन हुने पनि बताए । उनले त्यसका लािग जिल्ला शिक्षा अधिकारीको संयोजकत्वमा ७ सदस्यीय जिल्ला समिति गठन गरिएको र केन्द्रीय तहमा राष्ट्रिय परीक्षा बोर्डको शाखा कार्यालय समेत गठन गरिएको बताए ।

प्रकाशित मिति २०७३ असार २७

प्रतिक्रिया