Edukhabar
शनिबार, १२ असोज २०८१
खबर/फिचर

चुरोट खाँदा सान बढ्ने, कलेज पढ्दा लभ पर्ने

सोमबार, २७ असार २०७३

हरिसुन्दर छुकां – ‘चुरोट खाँदा सान बढ्ने, कलेज पढ्दा लभ पर्ने’ धारणाले नयाँ पुस्तालाई गाँज्दै लगेको छ ।यसले किशोरावस्थामा प्रवेश गरेका विद्यार्थी र उमावि पढ्ने युवाहरु कुलतमा लागेका छन्, उनीहरु बिग्रेका छन् ।’ सिन्धुलीका उत्पल खड्का (४३)ले चिन्ता व्यक्त गरे ।

विगत ४ वर्षदेखि स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण जिल्ला सञ्जाल (एचआरटीसी) सिन्धुलीमा आवद्ध सदस्य हुन् खड्का ।
उनीमात्र नभएर धादिङका संगीता श्रेष्ठ पनि आफ्नो जिल्लाका विभिन्न विद्यालयहरुमा अध्ययन गरिरहेका विद्यार्थीहरुमा धूमपान गर्ने लत ‘फेसन’ को रुपमा विकास भएकोमा चिन्तित छिन् ।

सोही कारण सिन्धुली, चितवन, रौतहट, धादिङ, धनुषा, बारा, महोत्तरी, काभ्रे, सर्लाही, मकवानपुर र भक्तपुर सञ्जालका सदस्यहरुले विद्यार्थीहरुमा बढेको धूमपानको लतलाई न्यूनीकरण गर्ने योजना बनाएको छ । ‘कक्षा ११ पढ्ने धेरै विद्यार्थीहरु चुरोट तान्ने कुलतमा फसेका छन्, यसले नयाँ पुस्ताले बाटो बिराएको छ, यही कारण हामीले धूमपान विरुद्ध कार्यक्रम गर्ने योजना बनाएको छौं ।’ बाराका सियाराम यादवले भने ।

उनले कक्षा ११ मा पढ्ने विद्यार्थीहरु संगतले गर्दा र आमाबाबुको नजरबाट टाढा हुने हुँदा धूमपानको लतमा फसिरहेको बताउँदै त्यसका लागि जिल्लाका १० वटा उच्च माविका करिब १ हजार विद्यार्थीहरुलाई सोबारेमा अभिमुखीकरण कार्यक्रम गर्ने योजना सुनाए । धादिङका श्रेष्ठले विगतमा जस्तै गरी आर्थिक वर्ष २०७३ मा पनि उमाविस्तरीय अभिमुखीकरण कार्यक्रम गर्ने योजना रहेको सुनाइन् ।

‘हामीले धूमपानविरुद्ध विभिन्न गतिविधि गर्दा यसको प्रभाव उल्लेखनीय देखिएकोले यो कार्यक्रमलाई अझ प्रभावकारी बनाउने योजना बनाएको छौं ।’ उनले भनिन् । ‘धूमपान विरुद्ध दौंतरी कक्षा निक्कै प्रभावकारी भएकोले त्यसलाई अघि बढाउने कार्यक्रम, सडक नाटक गर्ने योजना बनाएका छौं ।’

विद्यार्थीहरुमा पछिल्लो समयमा बढेको धूमपानको लतले नयाँ पुस्तालाई नराम्ररी गाँज्दै गएपछि यसले धेरैलाई चिन्तित बनाएको छ । सोही विषयलाई ध्यान दिँदै स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण जिल्ला सञ्जाल(एचआरटीसी) र प्राथमिक स्वास्थ्य सेवा केन्द्र(रेस्फेक) लागिरहेको छ ।

एचआरटीसीको मध्यमाञ्चल भेलाले भेलामा सहभागी ११ जिल्लाका सदस्यहरुले आआफ्नो जिल्लामा धूमपान विरुद्ध स्कुल÷स्कुलमा अभियान सञ्चालन गर्ने प्रतिवद्धता जनाएको छ ।
जसअन्तर्गत भक्तपुरले जिल्लाका १० उमाविलाई धूमपानमुक्त विद्यालय बनाउने, चितवनमा स्कुलमा वाचडग कार्यक्रम गर्नेलगायतका योजनाहरु सार्वजनिक गरेका छन् ।

प्रकाशित मिति २०७३ असार २७ गते


 

 

प्रतिक्रिया