Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

फागुन १४ मा स्ववियु चुनाव

सोमबार, २७ असार २०७३

काठमाडौं २७ असार / त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव फागुन १४ गते हुने भएको छ ।

आइतबार बसेको त्रिविको ५७ औं वार्षिक सभाले चुनाव मिति तोकेको हो । सभामा प्रधानमन्त्री तथा उपकुलपति केपी शर्मा ओलीले उपयुक्त समय निकालेर निर्वाचन गर्न त्रिवि प्रशासनलाई निर्देशन दिएर निस्केपछि अन्य सभासद्‌बीच भएको छलफलबाट उक्त मिति तोकिएको हो ।

यसअघि निर्वाचनमा सहभागी हुने मतदाता तथा उम्मेदवारको उमेरको हदका विषयमा विवाद भएपछि निर्वाचन मिति पटकपटक तोकिएर पनि स्थगित भएको थियो । आइतबारको निर्णयअनुसार निर्वाचन प्रक्रिया, उमेरको हदबन्दी र तयारीबारे अध्ययन गर्र्न शिक्षाध्यक्ष सुधा त्रिपाठीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ ।

समिति सदस्यमा त्रिवि विद्यार्थी कल्याण तथा अतिरिक्त क्रियाकलाप शाखाका प्रमुख गंगाबहादुर थापा सदस्य छन् । थप एक सदस्य उपकुलपतिले तोक्नेछन् ।

प्रत्येक दुई वर्षको अवधिमा हुनुपर्ने चुनाव २०६५ सालदेखि हुन सकेको छैन । मुख्य विद्यार्थी संगठन विशेष गरी अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारीलगायतका विद्यार्थी संगठनले चुनावको मिति तोक्न विश्वविद्यालयलाई दबाब दिएपछि विश्वविद्यालयले चार महिनाअघि पनि शिक्षाध्यक्ष सुधा त्रिपाठीको संयोजकत्वमा समिति बनाएर विद्याथीसँग वार्ता गरेको थियो ।

समितिले निर्वाचन प्रणाली, निर्वाचनमा भाग लिने पदाधिकारीको उमेर हदबन्दी तथा सम्भावित मितिका विषयमा ठूलासाना विद्यार्थी संगठनसँग छुट्टाछुट्टै तथा सामूहिक रूपमा पटकपटक छलफलसमेत गरे पनि सहमति जुटेको थिएन । अहिले विशेष गरी स्ववियु पदाधिकारीमा चुनाव लड्ने उम्मेदवारको उमेर हदका विषयमा मुख्य विवाद छ ।

पदाधिकारीमा उम्मेदवार हुनेको उमेर २८ वर्षसम्म मात्र हुनुपर्ने एमाले निकट अनेरास्ववियु, एमाओवादी निकट अखिल क्रान्तिकारीलगायतका संगठनको अडान र एकपटकको चुनावमा २८ वर्षे हदबन्दी लागू गर्न नहुने भन्ने कांग्रेस निकट नेपाल विद्यार्थी संघको अडानका कारण चुनाव अनिश्चित बनेको थियो ।
सर्वोच्च अदालतले २०७१ चैतमा तीन महिनाभित्रमा स्ववियु चुनाव गर्न र एकपटकको चुनावमा उमेर हदबन्दी लागू नगर्न त्रिविलाई निर्देशन दिएको थियो । त्रिविले त्यतिखेर भूकम्पलगायतका समस्याका कारण सर्वोच्चको आदेशअनुसार तीन महिनाभित्र चुनाव गर्न सकेन ।

नेविसंघले अहिले सर्वोच्च अदालतको आदेशले एकपटकको चुनावमा उमेरे हदबन्दी लागू नगरे पनि हुने व्याख्या गरेकाले यसपटकको चुनावमा हदबन्दी नलाग्ने दाबी गरेको छ ।संघका प्रवक्ता यूपी लामिछानेले भने, ‘कि सर्वोच्चको आदेशअनुसार त्यतिखेर तीन महिनाभित्रमा चुनाव गर्नुपर्दथ्यो । त्यतिखेर चुनाव गर्न नसकेपछि अहिले एकपटकलाई उमेरको हद मान्न मिल्दैन ।'

अखिल क्रान्तिकारीका अध्यक्ष रमेश मल्लले सर्वोच्चको आदेशलाई आफूहरूले पनि सम्मान गरेको र त्यतिखेरको तीन महिना बितिसकेकाले अहिले उक्त आदेशअनुसार २८ वर्षे हद कायम हुनुपर्ने बताए ।
दुई वर्षअघि पनि त्रिविले स्ववियु चुनाव मिति घोषणा गरेको थियो । तर समानुपातिक र प्रत्यक्ष प्रणालीमा चुनाव हुनुपर्छ भन्ने छुट्टाछुट्टै अडान लिएका विद्यार्थी संगठनका कारण अन्तिम समयमा चुनाव स्थगित भएको थियो ।

अन्नपूर्ण पोष्टमा प्रकाशित खबर

प्रतिक्रिया