Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

साक्षरतामा नेपालको फड्को

मंगलबार, २२ भदौ २०७२

काठमाडौं २२ भदौ /

विद्यार्थीले बनाए सवा दुई लाखलाई साक्षर

नेपालले विश्व मञ्चमा गरेको ७५ प्रतिशतलाई साक्षर बनाउने प्रतिबद्धता पूरा गरेको छ । गत आर्थिक वर्षमा नेपाल आफैँले गरेको पूर्ण साक्षर बनाउने घोषणामा भने नेपाल लक्ष्य प्राप्तिको नजिक पुगेको छ।

०६७ सालको घरधुरी सर्वेक्षणको तथ्यांकमा कुल निरक्षरको संख्या ५१ लाख ७३ हजार नौ सय ७९ थियो । तीमध्ये झन्डै तीन लाख मात्रै साक्षर हुन बाँकी रहेको सरकारी अधिकारीहरूको दाबी छ ।

नेपालमा १५ देखि ६० उमेर समूहको साक्षरतादर ९५ दशमलव ५४ प्रतिशत पुगेको छ । साक्षरता अभियान तथा कार्यक्रम सञ्चालन गरेको अनौपचारिक शिक्षा केन्द्रले ६० वर्षसम्मका मानिसको साक्षरता ९५ दशमलव ५४ पुगेको जनाएको छ ।

केन्द्रका अनुसार ०६७ को घरधुरी सर्वेक्षणमा कुल निरक्षरको संख्या ५१ लाख ७३ हजार नौ सय ७९ रहेकामा त्यसपछि सञ्चालित कार्यक्रम र अभियानबाट ४७ लाख ८५ हजार तीन सय ५२ साक्षर भइसकेका छन् । केन्द्रले घरधुरी सर्वेक्षणमा निरक्षर पाइएकामध्ये अहिले दुई लाख ८३ हजार नौ सय १३ अर्थात् ७ दशमलव ५ प्रतिशत मात्र निरक्षर रहेको नयाँ तथ्यांक सार्वजनिक गरेको छ ।

साक्षरता अभियानमा माध्यमिक तहका विद्यार्थीको पनि ठूलो भूमिका छ । गत आर्थिक वर्षमा माध्यमिक तहका विद्यार्थी परिचालन गरेर झन्डै सवा दुई लाख निरक्षर साक्षर बनाइएको छ । आव ०७१/७२ मा ५८ जिल्लामा दुई लाख १३ हजार पाँच सय ४२ जनालाई कक्षा नौ र १० मा अध्ययन गर्ने विद्यार्थीले साक्षर बनाएका हुन् ।

अनौपचारिक शिक्षा केन्द्रले गत आवमा १७ वटा जिल्ला पूर्ण साक्षर हुने गरी लक्ष्य निर्धारण गरेको थियो । तीबाहेकका जिल्लामा केन्द्रले सहयोगी कार्यकर्ता नभई विद्यार्थी परिचालन गरेको थियो । प्रयोगात्मक नम्बरसँग जोडेर विद्यार्थीलाई साक्षर बनाउने अभियानमा खटाइएको थियो । साक्षर गराउने विद्यार्थीको प्रयोगात्मक परीक्षामा १० नम्बर निर्धारण गरिएको थियो ।

गत आवमा कुल १४ लाख नौ हजार सात सय ४५ निरक्षर साक्षर भएका थिए । तीमध्ये विद्यार्थी परिचालनमार्फत दुई लाख १३ हजार पाँच सय ४२ र अनौपचारिक शिक्षा केन्द्रमार्फत ११ लाख ९६ हजार दुई सय तीनजना साक्षर भएका हुन् ।

शिक्षा मन्त्रालयले साक्षरतामा विद्यार्थी परिचालन तथा मूल्यांकन निर्देशिका तयार गरी कक्षा नौ र १० का शिक्षा र स्वास्थ्य तथा जनसंख्या विषय अध्ययन गर्ने विद्यार्थीलाई साक्षरता अभियानमा परिचालन गरेको थियो । जिल्ला शिक्षा कार्यालयमार्फत विद्यालयको समन्वयमा विद्यार्थी परिचालन गरिएको थियो ।

अनौपचारिक शिक्षा केन्द्रका उपनिर्देशक केशव दाहालले साक्षरता अभियानमा विद्यार्थी परिचालन निकै प्रभावकारी भएको बताए । ‘विद्यार्थीलाई व्यवस्थित रूपमा परिचालन गरेको भए कम खर्चमा धेरै साक्षर हुने रहेछन्,’ दाहालले भने, ‘बुझेर विद्यार्थी परिचालनलाई कार्यान्वयनमा ल्याएका जिल्लामा विद्यार्थीबाट धेरै राम्रो काम भएको छ । विद्यार्थी परिचालनबाट निरक्षर साक्षर भएपछि प्युठान पूर्ण साक्षर घोषणा भयो ।’ केन्द्रका अनुसार प्युठानमा आव ०७१/७२ मा तीन हजार नौ सय ६२ जनालाई साक्षर बनाएर पूर्ण साक्षर जिल्ला घोषणा गरिएको छ । उनीहरू सबलाई विद्यार्थीले साक्षर बनाएका हुन् ।

गत आवमा केन्द्रले झापा, मोरङ, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही, कपिलवस्तु, बाँके, कैलाली, नुवाकोट, नवलपरासी र दाङमा मात्र पूर्ण साक्षर हुने गरी लक्ष्य निर्धारण गरेर कार्यक्रम सञ्चालन गरेको थियो । अरू जिल्लामा विद्यार्थी मात्र परिचालन भएका थिए।

यस्तो छ प्रगति

२००४ : आधार शिक्षाको थालनी, साक्षरता शिक्षाको सुरुवात
२००७ : जनगणनाअनुसार साक्षरता करिब दुई प्रतिशत
२०११ : प्रौढ साक्षरता कार्यक्रममा जोड
२०१३ : योजनाबद्ध रूपमा प्रौढ शिक्षा कार्यक्रमको सुरुवात
२०३७ : शिक्षा मन्त्रालयमा प्रौढ शिक्षा शाखा स्थापना, साक्षरता शिक्षालाई संस्थागत संरचनामार्फत विस्तार
२०३८ : ग्रामीण विकासका लागि सेती शिक्षा परियोजनाको कार्यान्वयन चरणमा महिला तथा किशोरीलक्षित गरी चेलिबेटी कार्यक्रम सञ्चालन
२०४५ : पहिलोपटक जिल्लाव्यापी रूपमा अभियान सञ्चालन गर्ने र छोटो अवधिमा निरक्षरता उन्मूलन गर्ने अवधारणाको सुरुवात
२०६५ : छोटो अवधिमा निरक्षरता अभियान उन्मूलन गर्ने अवधारणाको निरन्तरता, सन् २०१५ भित्र सम्पूर्ण निरक्षर नागरिकलाई साक्षर बनाई देशबाट निरक्षरता उन्मूलन गर्ने प्रतिबद्धता जनाउँदै राष्ट्रिय कार्ययोजना निर्माण
आव ०६५/६६ : राष्ट्रिय साक्षरता अभियानका रूपमा साक्षरता कार्यक्रमलाई देशव्यापी बनाउँदै ७८ लाख निरक्षरलाई दुई वर्षभित्रमा साक्षर बनाउने लक्ष्य
आव ०६७/६८ : निरक्षरको तथ्यांक संकलन, जसअनुसार १५ वर्ष वा सोभन्दा माथिका ३४ लाख ३५ हजार ३३६ महिला र १७ लाख ३८ हजार ६४३ पुरुष गरी कुल ५१ लाख ७३ हजार ९७९ जना निरक्षर रहेको सार्वजनिक
२००७ देखि २०६८ सम्म : २००७ मा कुल दुई प्रतिशत मात्र साक्षर रहेकामा ०५८ मा ६५.५ प्रतिशत पुरुष साक्षर थिए भने ०६८ मा पुरुष साक्षरको संख्या ७५.१ प्रतिशत पुग्यो । पुरुष साक्षरताको वृद्धिदर ९.६ प्रतिशत रह्यो । त्यस्तै ०५८ मा महिला साक्षरता ४२.८ प्रतिशत रहेकामा ०६८ मा बढेर ५७.४ प्रतिशत पुग्यो । महिला साक्षरताको वृद्धिदर १४.६ प्रतिशत रह्यो । कुलमा ०५८ मा ५४.१ प्रतिशत साक्षर रहेकामा ०६८ मा ६५.९ प्रतिशत पुग्यो । वृद्धिदर ११.८ प्रतिशत रह्यो ।

नयाँ पत्रिकामा भवानीश्वर गौतमले लेखेका छन् ।

प्रतिक्रिया