Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

बिहान पढाइ, दिउँसो कर्फ्यु

मंगलबार, २२ भदौ २०७२

बिहान पढाइ, दिउँसो कर्फ्युकाठमाडौं २२ भदौ / महिनादिन (साउन २०) देखि कैलाली, टीकापुरका विद्यालय सुनसान थिए। भदौ ७ को विस्मयकारी घटनापछि दंगाग्रस्त घोषणासँगै दिनहुँ कर्फ्युको त्रास बेहोर्दै आएको यस क्षेत्रको सोमबारको वातावरण भने अलि बेग्लै थियो।

बिहानै सडकमा स्कुले ब्याग बोकेका, किताब काखी च्यापेका विद्यार्थी विद्यालयतर्फ लम्किरहेका देखिन्थे। बिहान कर्फ्यु खुलेको समयमा कक्षा सञ्चालन गर्ने स्थानीय प्रशासनसँग सहमतिपछि विद्यालय खुल्न थालेका हुन्।

लामो समय घरमा कोच्चिएर बसेका विद्यार्थी स्कुल जान पाउँदा निकै खुसी देखिन्थे। उनीहरुमा त्रास भने हटिसकेको थिएन।

यहाँका मावि, उच्च मावि र क्याम्पस तहका शैक्षिक संस्थामा सोमबारबाट पठनपाठन सञ्चालन भए, कर्फ्यु समय छलेर।

इलाका प्रशासन कार्यालय, टीकापुरमा आइतबार सरोकारवालाबीच भएको छलफलले माध्यमिक तहभन्दा माथिको पठनपाठन सुरु गर्ने सहमति भएको थियो। थरुहट, अखण्ड सुदूरपश्चिमलगायत विभिन्न समूहको आन्दोलनका कारण यस क्षेत्रका सबै शैक्षिक संस्था साउन २० देखि बन्द थिए।

'लामो बन्दपछि विद्यालय खुलेकाले हुन सक्छ, विद्यार्थी भने कमै आए,' वीरेन्द्र विद्यामन्दिर उच्च माविका प्राचार्य यज्ञराज ज्ञवालीले नागरिकसँग भने, 'बिहानको समयमा कर्फ्यु भएन भने नियमित पढाइ हुन्छ।'

केही दिनयता टीकापुरमा बिहानको समय कर्फ्यु खुल्दै आएको छ। अन्य बेला पनि केही खुकुलो पारिएको छ। सहमतिअनुसार बिहान ६ बजेदेखि ११ बजेसम्म पठनपाठन हुने भनिए पनि १० बजेदेखि कर्फ्यु लगाइएकाले सोमबार एक घन्टाअगावै शैक्षिक संस्था बन्द भएका थिए।

कर्फ्यु समयमा मावि तहभन्दा मुनिका विद्यार्थीलाई विद्यालय जान–आउन समस्या हुने भएकाले त्यसभन्दा माथिल्लो तहको मात्रै पठनपाठन सुरु गरिएको विद्यालय सञ्चालक बताउँछन्।

बिहान र दिउँसो गरी दुई चरणमा उच्च माविदेखि स्नातकोत्तरसम्म अध्यापन गराउँदै आएको टीकापुर बहुमुखी क्याम्पसमा पनि पहिलो दिन विद्यार्थीको चहलपहल थिएन।

धेरै कम मात्रै विद्यार्थी उपस्थित भएकाले क्याम्पसले पहिलो दिन पठनपाठन नगराएको क्याम्पसप्रमुख केशरबहादुर कुँवरले जानकारी दिए। 'हामीले तीन तहको अध्यापन गराउँदै आएका हौं,' उनले सुनाए, 'अहिले उच्च माविको मात्रै सुरु गर्ने योजना बनाएका छौं।'

जनशक्ति र भौतिक अभावले सबै तहको पढाइ एकैपटक सञ्चालन गर्न सक्ने अवस्था नरहेको उनले जानकारी दिए।

टीकापुरस्थित आरएमई बोर्डिङ स्कुलले भने कक्षा ८, ९ र १० को पठनपाठन थालेको छ। लामो समय विद्यालय बन्द रहँदा कोर्स पूरा गर्न समस्या पर्ने देखेर कक्षा ८ को समेत पढाइ सुरु गरेको प्रिन्सिपल तेजराज तिमिल्सिनाले बताए।

'लामो समयदेखि विद्यालय बन्द छ। कोर्स पूरा नहोलाजस्तो भयो,' उनले भने, 'केही दिनभित्रै तल्लो कक्षाको पनि पढाइ सुरु गर्ने सोच छ।'

लामो समयको बन्दले कतिपय विद्यालयको परीक्षासमेत प्रभावित भएको छ। त्रैमासिक परीक्षाको मुखैमा विद्यालय बन्द रहँदा परीक्षासमेत धकेलिएको छ। 'धेरै विद्यालयको परीक्षा रोकिएको छ,' प्याब्सन, कैलाली क्षेत्र नम्बर १ का अध्यक्ष चक्रपाणि सापकोटाले भने, 'अब चाँडै पठनपाठन सञ्चालन गर्नुको विकल्प छैन।'

इलाका प्रशासन कार्यालय, टीकापुरका प्रमुख सुमन धितालले राजनीतिक माहोलले विद्यालय प्रभावित भएको जनाए। उनले अझै पनि विद्यालय नियमित रुपमा सञ्चालन हुने सम्भावना नरहेको पनि जानकारी दिए।

'अब ढुक्कले विद्यालय सञ्चालन हुन्छ भन्ने अवस्था अझै भइसकेको छैन,' उनले भने, 'बिहानको समयमा कर्फ्यु खुकुलो भएन भने विद्यालय पनि बन्द हुन्छन्।'

विद्यालय खोल्ने सहमतिपछि पनि बिहानको समयमा कर्फ्यु खुकुलो नभए झन् समस्या निम्तने चिन्ता अभिभावकमा देखिन्छ।

नागरिकमा योगेश रावलले लेखेका छन् ।

प्रतिक्रिया